होबार्ट। अष्ट्रेलियाको तास्मानियामा नेपाली समुदायको टी-ट्वान्टी क्रिकेट लिग आयोजना हुनेभएको छ। तास्मानिया नेपलिज क्रिकेट एशोसियसनले आयोजना गरेको उक्त टी-ट्वान्टी लिगका खेल शनिबार अर्थात २३ अप्रिलदेखि सुरु हुनेछन्। तास्मानिया नेपलिज क्रिकेट एशोसियसन (टिएनसीए)ले आयोजना गर्ने यो पहिलो लिग हो।
टीएनसीए टी-ट्वान्टी लिग २०२२ मा ६ टिम सहभागी हुँदैछन्। ती मध्ये समूह एमा लन्चेष्टन नेपाली क्रिकेट क्लब, नयाँ क्रिकेट क्लब, काठमाडौं वारियर्स छन् भने समूह बीमा गोर्खाली लेजेन्ड्स, एक्सपर्ट क्रिकेट क्लब, यति क्रिकेट क्लब रहेका छन् । लिगको पहिलो खेल लन्चेष्टनमा २३ अप्रिलमा लन्चेष्टन नेप्लीज क्रिकेट क्लब र नयाँ क्रिकेट क्लबबीच हुनेछ । सोही दिन अन्य तीनवटा खेलहरु आयोजना गरिनेछ। त्यसैगरी, छनोट चरणका अन्य खेल ३० अप्रिलमा होबार्टमा हुनेछन् । सोही दिन नै समूह सेमि फाईनलका खेलहरु आयोजना गरिनेछ । लिगको फाइनल खेल मे १ तारिखमा होबार्टमा हुनेछ । लिगको विजेता टिमले २ हजार र उपविजेताले एक हजार डलर नगद पुरस्कार प्राप्त गर्नेछन्।
लिग आयोजनाको उद्देश्यबारे प्रष्ट पार्दै टिएनसीएकी अध्यक्ष पुनम पन्त भन्नुहुन्छ, "तास्मानियामा पछिल्लो समय नेपालीहरुको संख्या बढिरहेको छ र त्यसमा पनि अधिकांश विद्यार्थी तथा युवाहरु हुनुहुन्छ। उहाँहरुमा खेलप्रति आगाध लगाव छ। एकदम राम्रो खेल्ने युवाहरु हुनुहुन्छ। उहाँहरुको खेल देखेर यहाँका अन्य समुदायका तथा स्थानीय टिमले समेत आफ्नो टिममा खेल्न बोलाउने गरेका छन्। राम्रा खेलाडीहरुलाई अगाडी बढ्न हौसला मिलोस् र संगै समुदायमा शारीरिक तथा मानसिक स्वास्थ्यका निम्ति खेलप्रति आकर्षण बढोस् भन्ने उद्देश्यले लिगको आयोजना गरिएको हो। र, अर्को महत्त्वपूर्ण कुरा भनेको खेल भनेको समुदायलाई एकताबद्ध गर्नका निम्ति सबैभन्दा प्रभावकारी माध्यम हो " ।
उहाँले तास्मानियामा नेपाली समुदायको खेल इतिहासको छोटो समयमा नै लिगमा ६ वटा टिम सहभागी हुनुभनेको सुनौलो सम्भावनाको संकेत रहेको उल्लेख गर्नुभयो। अध्यक्ष पन्तका अनुसार, यसपटक लिगमा तास्मानियाका नेपाली क्लब सहभागी हुँदैछन् र निकट भविष्यमा टिएनसीएले अन्य राज्यका नेपाली क्लब तथा खेलाडीहरुलाई पनि प्रतियोगिताका लागि निमन्त्रणा गर्ने लक्ष्य राखेको छ।
लिगबारे जानकारी सार्वजनिक गर्नका लागि आयोजक संस्था टिएनसीएले पत्रकार सम्मेलनको समेत आयोजना गरेको थियो। उक्त पत्रकार सम्मेलनमा उपस्थित एनआरएन तास्मानियाका सहसचिव चन्द्र ह्येजु, नेप्लीज तास्मानिया स्पोर्टस एशोसिएसनका अध्यक्ष विष्णु सापकोटा, मुख्य प्रायोजक संस्था ग्रेस ईन्टरनेशनल एजुकेशन एण्ड माईग्रेसन तास्मानियाका निर्देशक विकेन्द्र सापकोटाले सहभागी टिम तथा खेलाडीहरुलाई शुभकामना व्यक्त गर्नुभएको थियो। उहाँहरुले टिएनसीएको प्रयासको सह्राना गर्दै आगामी कार्यक्रमहरुमा पनि हातेमालो गर्न आफूहरु तयार रहेको बताउनुभयो।
तास्मानिया नेपलिज क्रिकेट एशोसियसन (टिएनसीए) २०१९ मा स्थापना भएको थियो। प्रकाश उप्रेती संस्थापक अध्यक्ष रहनुभएको संस्थाले सुरुवातमै कोभिड महामारीको सामना गर्नुपरेका कारण खेल सम्बन्धि कार्यक्रमहरु गर्न सकेन। यद्दपी संस्थाले कोभिड महामारीको सामना गर्नका लागि विद्यार्थी लगायत नेपाली समुदायका निम्ति ठूलो भूमिका खेलेको तत्कालिन पब्लिक अफिसर तथा वर्तमान अध्यक्ष पुनम पन्त बताउनुहुन्छ। उहाँका अनुसार, त्यतिबेला नेपाली युवाहरुलाई खाद्यान्न वितरण गर्नका लागि संस्थाले राज्य सरकारबाट १० हजार डलर सहयोग समेत प्राप्त गरेको थियो।