काठमाडौँ । अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका नेपाली समुदायले रंगहरूको पर्वको रुपमा चिनिने होली उल्लासका साथ मनाएका छन् ।
आइतबार सिड्नी, एडिलेड, मेलबर्न, तास्मानिया लगायत विभिन्न राज्य तथा सहरमा रहेका नेपालीले होलीलाई विशेष उल्लासका साथ मनाएका छन् ।
होली कार्यक्रममा नेपालीसँगै अस्ट्रेलियालीले समेत उत्साह र चासोका साथ सहभागिता जनाएका थिए । नेपाली कलासंस्कृति, परम्परा तथा पहिचानलाई चिनाउने उद्देश्यले होली कार्यक्रमको आयोजना गरिएको आयोजकहरुले बताएका छन् ।
होली कार्यक्रममा विभिन्न रंग एकआपसमा दलेर मनाइएको थियो भने नेपाली खानाका परिकार तथा नृत्य र नेपाली संगीतले बेग्लैरौनक थपेको थियो ।
दक्षिण अस्ट्रेलियामा एडिलेड नेपालले आयोजना गरेको कार्यक्रममा नेपालबाट आएका कलाकारले विशेष प्रस्तुति दिएका थिए । झण्डै २ हजार सहभागी रहेको कार्यक्रममा दक्षिण अस्ट्रेलियाका सांसदले समेत रंग दलेर होलीको शुभकामना दिएका थिए ।
साथै नेपाली ममः, सेलरोटी, चटपटे लगायत खानेकुराले सहभागीलाई नेपालको झल्को दिलाएको थियो । ‘
कार्यक्रममा गायिका एलिना चौहानले सामाजिक सञ्जालमा भाइरल बनेको ‘धोकेबाज हौ तिमी’ बोलको गीत गाउँदा दर्शकहरूबाट वान्समोर पाएकी थिइन् । गायकहरु समीर आचार्य, निहारिका ज्ञवाली, सुदिन पोखरेल, विक्रम बरालले पनि दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरेका थिए ।