मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा शनिबार अर्थात जुलाई १, २०२३ का दिन फुटसल प्रतियोगिता हुनेभएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) भिक्टोरियाको आयोजनामा हुन लागेको फुटसल प्रतियोगिताको यो तेस्रो संस्करण हो। प्रतियोगितालाई कँडेल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ। बिहीबार प्रायोजक संस्था कँडेल कन्सल्टेन्सीको कार्यालयमा फुटसल प्रतियोगिताका सम्बन्धमा पत्रकार सम्मेलनको आयोजना गरिएको थियो।
उक्त पत्रकार सम्मेलनमा बोल्दै प्रतियोगिताका टेक्निक एडभाइजर तथा एनआरएनए भिक्टोरिया सदस्य विजय दाहालले प्रतिस्पर्धी टिमहरुका बारेमा जानकारी गराउनुभएको थियो । प्रतियोगितामा यसपटक चन्द्र सूर्य एफसी, एपीङ्ग ओलर्ट नेपाली कम्युनिटी, गुल्मी टाइगर्स, रोयल वेस्टर्न क्लब एभरग्रिन, रोयल वेस्टर्न क्लब ब्ल्यु, रोयल वेस्टर्न क्लब ह्वाइट, यूनाइटेड एफसी, हिमालयन टाइगर्स, थन्डर ड्रागन ए, थन्डर ड्रागन बी, रोयल एफसी र येती एफसी गरी १२ टिम सहभागी हुनेभएका छन्।
प्रतियोगितामा उत्कृष्ट हुने टीमलाई ट्रफी, मेडल तथा नगद पुरस्कार र उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुलाई पनि उचित पुरस्कारको व्यवस्था गरिएको बताइएको छ । प्रतियोगिता यही शनिबारका दिन रेकवेस्ट बेब्रुकमा बिहान ९ बजेदेखि सुरु हुनेछ।
पत्रकार सम्मेलनमा बोल्दै एनआरएनए भिक्टोरिया राज्य संयोजक हरि खड्काले एनआरएनएको वर्तमान कार्यकालको सम्भवत: अन्तिम कार्यक्रमको रुपमा यस फुटसल प्रतियोगिता गर्न लागिएको भन्दै यस प्रकारका कार्यक्रम मार्फत यहाँको नेपाली समुदायलाई चलायमान गराउन मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै, प्रतियोगिताको मूख्य प्रायोजक संस्था कँडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कँडेलले विशेषगरी युवाहरुलाई खेल मार्फत एकजुट गर्ने अभियानमा आफूहरुको निरन्तर साथ रहने उल्लेख गर्दै यसै अभियान अन्तर्गत आफूहरुले कंडेल कप पनि आयोजना गर्दै आइरहेको जानकारी गराउनुभयो।
उक्त पत्रकार सम्मेलनमा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष तथा भिक्टोरिया राज्य संयोजक हरि खड्का, उपसंयोजक नारायण कटुवाल, सदस्य विजय दाहाल, खेल विभाग प्रमुख गोविन्द पाठक, युवा समिति उपसंयोजक ससेन्द्र केसी, युवा समिति सदस्य गौरव सुनार लगायत व्यक्तित्वको उपस्थिति रहेको थियो। राज्य संयोजक खड्काको सभापतित्व रहेको कार्यक्रममा मुख्य प्रायोजक कंडेल कन्सलटेन्टसीका निर्देशक राज कंडेलको प्रमुख आतिथ्यता रहेको थियो भने ससेन्द्र केसीले कार्यक्रमको संचालन गर्नुभएको थियो।