अष्ट्रेलियामा गैरआवासीय नेपाली संघ (एनआरएनए) को निर्वाचनले माहोल गर्माएको छ। २०२३-२५ का लागि एनआरएनए अष्ट्रेलियाको कार्यसमिति छनोटको निर्वाचन आगामी जुलाई २९ मा हुनलागेको हो। नेपाली समुदायको बसोवास बाक्लो रहेको राज्य भिक्टोरियामा राज्य संयोजक पदका लागि महेन्द्र शाली घिमिरेले आफ्नो उम्मेद्वारी दर्ता गर्नुभएको छ।
नेपालमा दुई विषयमा स्नातकोत्तर गरी अष्ट्रेलिया पुग्नुभएका चितवनका घिमिरे २०१९ देखि एनआरएनए अष्ट्रेलियामा आबद्ध हुनुहुन्छ। उहाँ २०१९-२१ को कार्यकालमा भिक्टोरियामा राज्य समिति सदस्य हुनुहुन्थ्यो भने २०२१-२३ को कार्यकालमा एनआरएनए अष्ट्रेलिया राष्ट्रिय समिति सदस्यको रुपमा आफ्नो पदीय जिम्मेवारी निभाइरहनुभएको छ। परिवर्तन र युवा सोंचलाई मूख्य नारा बनाएर यसपटक भिक्टोरिया राज्य संयोजक तथा एनआरएनए अष्ट्रेलिया उपाध्यक्ष पदका लागि मैदानमा आउनुभएका महेन्द्र शाली घिमिरेसंग हामीले नेपाली समुदायको वर्तमान स्थिति, उहाँका एजेन्डा तथा कार्ययोजनाका बारेमा एनआरएनए अष्ट्रेलिया निर्वाचन विशेष कुराकानी गरेका छौं।
भिक्टोरिया राज्य समिति संयोजक पदका अरु उम्मेदवारहरुका बिचमा, आफूलाई कसरी फरक रुपमा उभ्याउनुहुन्छ?
हुन त सबैका आफ्ना फरक-फरक विशेषता छन् र सोही अनुसारका एजेन्डाहरु पनि। पहिलो कुरा, मैले केवल पदका लागि उम्मेद्वारी दिएको छैन, त्यसपछि आउने जिम्मेवारीहरुबारे राम्रोसंग परिचित भएर, ती जिम्मेवारी उठाउनका लागि मानसिक रुपमा तयार भएर आएको छु। धेरै सामाजिक संस्थाहरुमा जोडिनु मेरा लागि कहिल्यै आकर्षण बनेन। एकपटकमा एउटा सामाजिक संस्थामा रहेर आफ्नो जिम्मेवारी राम्रोसंग निर्वाह गर्नुपर्दछ भन्ने मेरो मान्यता छ। त्यसमाथि एनआरएनए भनेको यहाँका सबै नेपाली संस्था तथा व्यक्तिको अभिभावक संस्था हो। दोस्रो कुरा, मेरा एजेन्डाहरु केवल नारा होइनन्। मैले आफूले उठाएका एजेन्डाका लागि मैले प्रशस्त होमवर्क गरेको छु र त्यो पदमा पुगेमा यी एजेन्डाको उद्देश्य प्राप्तिका लागि कसरी काम गर्ने भन्नेमा म अहिल्यै प्रष्ट छु।
हजुरको नारामा "परिवर्तन अपरिहार्य छ र परिवर्तनका लागि युवा" भन्ने बुझिन्छ, यसलाई कसरी 'जस्टिफ़ाई' गर्नुहुन्छ?
परिवर्तन हरकुरामा आवश्यक छ, योजनामा, कार्यशैलीमा, उद्देश्यमै पनि। अहिले एआईले विश्व हल्लाइरहेको अवस्था छ, अर्कोतिर नेपाली समुदायको कुरा मात्र गर्दा पनि दोस्रो पुस्ता समेत नेतृत्व तहमा जाने उमेरको भइसकेको छ, यस्तो अवस्थामा हामी उही यथास्थितिमै रहेर, उनै पूराना रटानहरु लिएर, पूरानै शैलीमा काम गरेर हाम्रो समुदायलाई अगाडी बढाउन सक्दैनौं। त्यस्तै, समुदायका समस्याहरु सम्बोधन गर्नकै लागि पनि परिवर्तित तरिका आवश्यक छ र यो परिवर्तनका लागि युवा सोंच चाहिन्छ।
समुदायका समस्याको सम्बोधन र युवालाई जोडेर हेर्दा, युवाहरुको समस्या सम्बोधनका लागि आफ्नो योजना बताइदिनुहोस् न !
युवाहरुको समस्या समाधानका लागि प्रशस्त कामहरु भइरहेका छन्। तर ती कामहरुले सबै युवाहरुलाई एउटै दृष्टिकोणले हेरेको हुँदा प्रभावकारी देखिएका छैनन्। मैले आफूले हाम्रो समुदायका युवाहरुलाई विभिन्न समूहमा विभाजन गरेर काम गर्ने योजना बनाएको छु। एउटा समूह नेपालबाट भर्खर आएको समूह हो, जसलाई खाना, बस्न, काम खोज्न, यहाँको जीवनशैली सिक्न लगायतका आधारभूत समस्याले सताउँछ। दोस्रो समूह, पढाइ पूरा गरेको र अष्ट्रेलियामा स्थायी भिसाका लागि संघर्ष गरिरहेको समूह हो, जसले व्यवसायिक जीवनदेखि भिसासम्ममा स्थायित्वका लागि संघर्ष गरिरहेको हुन्छ। तेस्रो समूह, पढाइ पूरा गरेको र स्थायी भिसा पनि भैसकेको समूह हो, जसको पारिवारिक र सामाजिक समस्याहरु बढी हुन्छन्। यी बाहेकको अर्को समूह चाहिं यहाँ हुर्किएको नयाँ पुस्ता हो, जसको सांस्कृतिक, भाषिक समस्या हुन्छ। यी समूहलाई उनीहरुका समस्या र आवश्यकता अनुसार छुट्टाछुट्टै तरिकाले सम्बोधन गर्दै सामुदायिक रुपमा सबै युवालाई एकताबद्ध गर्ने मेरो योजना छ।
र, संगै मैले युथ फेस्टिवल (युवा महोत्सव)को अवधारणा पनि ल्याएको छु। म भिक्टोरियाको राज्य समिति सदस्य हुँदा मैले युवाहरुको मानसिक स्वास्थ्यका लागि फुटसल टुर्नामेन्टको योजना अगाडी सारेर म त्यसको संयोजक रहेर टुर्नामेन्ट आयोजना गरेका थियौं। अस्तिभर्खर त्यसको तेस्रो संस्करण सम्पन्न भएको छ। खेल केवल स्वास्थ्यका लागि मात्र नभई, युवा खेलाडी भनेका समुदाय मात्र नभई देशका अघोषित दूत हुन्, जसले समुदाय र देशको प्रबर्द्धन तथा एकताका लागि ठूलो भूमिका खेल्छन्। त्यसैगरी, युवा र उद्धमशीलता, युवा र मानसिक स्वास्थ्य, युवा र संस्थागत विकास, लागुऔषध विरुद्धमा युवा लगायत विषय पनि युवा महोत्सवमा रहन्छन्। यसका लागि कसरी काम गर्न सकिन्छ भन्ने कुरामा मैले पूर्व तयारी गरेको छु।
यसअघि नयाँ पुस्तामा सांस्कृतिक र भाषिक समस्याका कुरा उठाउनुभएको थियो, यसका लागि त अहिले पनि नेपाली भाषा पाठशालाहरु छन् नि !
नयाँ पुस्तामा पनि एउटा हुर्किसकेको समूह छ भने, अर्को चाहिं हुर्किंदै गरेको पुस्ता छ। दुवैलाई छुट्टाछुट्टै तरिकाले हेरिनुपर्छ। अहिलेको भाषा पाठशालाका कुरा गर्दै हुनुहुन्छ भने, छन्, सबैजसो राज्यमा नेपाली भाषा पाठशालाहरु छन्। तर ती पाठशालाको पाठ्यक्रममा एकरुपता छैन। पाठ्यक्रम तोकिएको छैन। मेरो उद्देश्य चाहिं नेपालको पाठ्यक्रम विकास केन्द्रसंग सहकार्य गरेर यहाँका नेपाली पाठशालाका लागि एउटा छुट्टै पाठ्यक्रम तयार गर्नु हो। यसका लागि हामीले आधार तयार पार्नुपर्छ, त्यो भनेको सबैभन्दा पहिले यहाँका सबै पाठशालाको नेपाली पाठ्यक्रममा एकरुपता ल्याउनु हो। यसले गर्दा नेपाली बालबालिका बीचमा भाषाको संचार, बुझाई, आपसी सम्बन्धमा सहयोग पुग्छ। अर्को कुरा, कुनै बच्चा अभिभावकसंग अर्को सहर या राज्यमा घुमघामका लागि पुगेको छ भने चाहना भएमा उसले त्यहाँ पनि आफ्नो पाठशाला पढाइलाई निरन्तरता दिन्छ, जसले गर्दा उसको पढाइ छुट्ने चिन्ता हुँदैन।
नेपाली समुदायको संस्कृति र भाषालाई समुदायभन्दा बाहिर अर्थात् यहाँको समाज र अन्तर्राष्ट्रिय स्तरमा लैजानका लागि हजुरसंग कस्ता योजना छन् ?
मसंग आइसीसीको सांस्कृतिक तथा पुरातात्विक विभागको ओसनिया संयोजक भएर काम गरेको अनुभव पनि छ। त्यसैले, यो विषय मेरो योजना छुट्ने कुरै भएन। अहिले हेर्नुभयो भने, नेपाली चलचित्रहरु अष्ट्रेलियाको नेपाली समुदायमाझ प्रदर्शन हुनेक्रम बढिरहेको छ। देशको कथा, संस्कृति, भाषा बाहिर ल्याउनका लागि चलचित्र एउटा राम्रो माध्यम हो। नेपाली संस्कृति, सभ्यता, सांस्कृतिक सम्पदासंग जोडिएका राम्रा छोटा चलचित्रलाई एनआरएनए मार्फत नै चलचित्र प्रदर्शनको कार्यक्रम आयोजना गरेर देखाउने मेरो एउटा योजना छ। यो आधारभूत काम हुनेछ। त्यसपछि त्यस्ता चलचित्रमध्ये पनि छनोट गरेर, अष्ट्रेलियाका चलचित्र प्रदर्शन विशेष कार्यक्रमहरुमा हाम्रा चलचित्र देखाउनका लागि मैले प्रक्रिया अगाडी बढाउनेछु।
त्यस्तै, मेरो अवधाराणामा भिक्टोरियामा पहिलो पटक एनआरएनएले विभिन्न देशका महावाणिज्यदुतलाई निमन्त्रणा दिएर बुद्ध जयन्ति विशेष कार्यक्रमको आयोजना गरेको थियो, जुन पछि कोभिडका कारण स्थगित गर्नुपर्यो। मेरो मान्यता भनेको, हामीले बुद्ध नेपालमा जन्मेका हुन्, सगरमाथा नेपालमा छ भनेर मात्र हुँदैन। हाम्रा कार्य र कार्यक्रमहरुमार्फत बताउन सक्नुपर्छ। त्यसैले कम्तीमा दुई वटा राज्यले बुद्ध जयन्ती र सगरमाथा दिवसका दिन नेपाल महोत्सवको आयोजना गर्नुपर्दछ। राज्य संयोजक भएको अवस्थामा एनआरएनए अष्ट्रेलियाको उपाध्यक्ष पदमा पनि पुगिने हुँदा, म यो कुरालाई अगाडी ल्याउनेछु।
एनआरएनए संस्थाको कुरा आउँदा नेपालमा गरिने सामाजिक र लगानीका कार्य पनि जोडिएर आउँछन् नि!
म नेपालमा रहँदा जिल्ला विकास समिति चितवन र ग्रामिण महिला विकास लगायत विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कार्यक्रमहरुमा विभिन्न पदमा रहेर काम गरेको छु। यो अनुभवले मलाई नेपाली समाजका समस्या र सम्भावनाहरुलाई नजिकबाट बुझ्ने मौका दिएको छ। 'स्टेकहोल्डर्स' संग मिलेर काम गरेको अनुभव मसंग छ। त्यसैले पक्कै पनि नेपालकै लागि समेत मसंग योजनाहरु रहेका छन्।
लगानीतर्फ चाहिं मैले नेपालबाट व्यवसायिक पृष्ठभूमिका व्यक्तित्वहरु सहितको बिजनेस मोडल टिमलाई बोलाउने र उहाँहरुलाई यहाँको एफएनसीसीआई, भिक्टोरियन च्याम्बर अफ कमर्ससंग अन्तरक्रिया गराउने, उहाँहरुको सम्बन्ध विस्तारका लागि संयोजनको काम गर्ने योजना बनाएको छु। जसले गर्दा आपसी सम्बन्ध र व्यवसायिक लगानी तथा विस्तारमा सहयोग पुगोस्।
सामुदायिक हितको कुरा गरिरहँदा, यसलाई कार्यन्वयन गर्ने एनआरएनएको संस्थागत विकासका लागि कस्ता एजेन्डाहरु ल्याउनुभएको छ ?
एनआरएनए नै बलियो नभई, हामीले बनाएका योजना, अवधारणा प्रभावकारी हुन सक्दैनन्। संस्थाको दिगो विकास, विधिगत कार्यशैली, आर्थिक पारदर्शीता, सामुदायिक रुपमा सबै संस्था तथा व्यक्तिहरुसंग हातेमालो मेरा मूख्य एजेन्डाहरु रहेका छन्। एनआरएनएले अहिले दोहोरो नागरिकताको अधिकार हासिल गरेको छ। लामो प्रयास पछि हासिल भएको यो ठूलो उपलब्धि हो। तर यसबारेमा चर्चा भने कम भएको छ। यसबारेमा जति बुझाउन सक्नुपर्ने हो, त्यति बुझाउन सकिएको छैन कि भन्ने मलाई लाग्छ। त्यसैले यसबारेमा छलफल कार्यक्रम आयोजना गरेर सबैलाई जानकारी प्रदान गर्ने पनि मेरो लक्ष्य रहेको छ। सांस्कृतिक, सामाजिक अधिकारसंगै यसको एउटा महत्त्वपूर्ण फाइदा भनेको हामीले आईपीओ सहितको आर्थिककारोबार गर्न सक्छौं, आर्थिक अधिकार प्राप्त गर्छौं, जसले हुन्डी कारोबारलाई निरुत्साहन गर्न सक्छ। त्यसैले यसलाई सबैले बुझ्ने किसिमले अन्तरक्रिया कार्यक्रमहरु चलाउने मेरो योजना रहेको छ।
अर्कोतिर, एनआरएनए कार्यालयको स्थापना गर्नका लागि मैले सुरुवातदेखि नै काम गर्ने अवसर पाएँ। यसले मलाई संस्थाप्रति थप जिम्मेवारीबोध, आफ्नोपनको महसुस गराएको छ। यो अनुभवले मलाई व्यवस्थित तरिकाले कार्यालय संचालन गर्न पनि सकाएको छ।
हजुरको एजेन्डामा सामुदायिक सशक्तिकरण पनि देख्न सकिन्छ, यसलाई थप प्रष्ट पारिदिनुहोस् न !
मैले आफ्ना योजनाका बारेमा कुरा गरिरहँदा पारिवारिक हिंसा, विद्यार्थीहरुमा नैराश्यता, व्यवसायिक जीवनको स्थायित्त्व हाम्रो समुदायका जल्दाबल्दा समस्याका रुपमा देखिन्छन्। पारिवारिक हिंसाको न्यूनीकरणका लागि काम गर्दै व्यवसायिक स्थायित्वका लागि नेपालमा काम गरिरहेका युवाहरुलाई उनीहरुको योग्यता र अनुभवका आधारमा अष्ट्रेलियामा अवसर दिलाउन कसरी प्रक्रिया अगाडी बढाउन सकिन्छ भन्ने कुरामा म केन्द्रित हुनेछ। त्यसैगरी, समुदायको सबलीकरणका लागि माथि अघि नै उल्लेख गरेका योजनाहरु त अपरिहार्य छन् नै।