मेलबर्न। अष्ट्रेलीयाको मेलबर्नमा क्रियाशील नेपाली समुदायका ३४ व्यक्ति तथा संस्था प्रतिष्ठित न्याभ अवार्डद्वारा सम्मानित भएका छन्। भिक्टोरियाको सबैभन्दा पूरानो नेपाली संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले बृहत् कार्यक्रमको आयोजना गरी सम्मान प्रदान गरेको हो। न्याभले हरेक दुई वर्षमा न्याभ अवार्डको आयोजना गर्दै आएको छ। तर यति धेरै विधालाई समेटेर अवार्ड प्रदान गरिएको भने यो पहिलो पटक हो।
न्याभले यसपटक १६ विधामा ३४ व्यक्ति तथा संस्थालाई सम्मान गरेको छ। भिक्टोरियाको नेपाली समुदायमा प्रत्यक्ष रुपमा सकारात्मक प्रभाव पार्ने, व्यक्ति, व्यवसायिक तथा नाफारहित संस्था लगायतलाई समेट्दै न्याभले नेपाली समुदायमा क्रियाशील रहेकाहरुलाई अवार्डद्वारा प्रेरणा तथा ऊर्जा प्रदान गर्ने प्रयास गरेको संस्थाका अध्यक्ष प्रेम राज उप्रेती बताउनुहुन्छ। न्याभ अवार्ड अन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड सहित डा. राजु अधिकारी सम्मानित हुनुभएको छ। त्यसैगरी, सामुदायिक नेतृत्व अवार्डतर्फ डा.अनुपम पोखरेल र पत्रकार निरु त्रिपाठी, उत्कृष्ट सामुदायिक संस्थातर्फ दिदी बहिनी समाज भिक्टोरिया सम्मानित हुनुभएको छ।
त्यस्तै, उत्कृष्ट व्यवसायिक नेतृत्व भीम न्यौपाने र डा. सरोजिनी मास्केले प्राप्त गर्नुभएको छ भने उत्कृष्ट कर्पोरेट सामाजिक उत्तरदायित्व च्याम्पियन्स, म्याक्सीम्याक्स एजुकेशन, एक्सपर्ट एजुकेशन र ग्रेस इन्टरनेशनलले प्राप्त गरेका छन्। उत्कृष्ट युवा नेतामा शसेन्द्र गौतम केसी र इन्द्र अधिकारी तथा उत्कृष्ट स्वयंसेवकमा अमृता गुरुङ, शोभा पौडेल, मीना मल्ल ठकुरी, कृष्ण महरो र नारायण कटुवाल सम्मानित हुनुभएको छ।
त्यसैगरी, उत्कृष्ट शिक्षा च्याम्पियन्स पुरस्कार ब्लू लोटस कलेज र चन्डलर आरटीओले प्राप्त गरेका छन् भने एज्ड केयर क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तिको रुपमा रुपा शर्मा, डिसाब्लिटी क्षेत्रमा उत्कृष्ट योगदान अमाजिंग प्यारेन्ट्स, मानसिक स्वास्थ्य क्षेत्रमा उत्कृष्ट योगदानमा सुनिल खड्का सम्मानित हुनुभएको छ। कला र भाषातर्फ उत्कृष्ट सांस्कृतिक योगदान पुरस्कार सुशील चालिसे र सम्झना उप्रेती तथा खेलकुद र संगीतमा हाई अचिभर्स अवार्ड सागर थापाले प्राप्त गर्नुभएको छ। र, उत्कृष्ट न्याभ साझेदार संगठनको रुपमा एनएनसीआईले प्राप्त गरे ।
एकाडमिक एक्सिलेन्स अवार्ड तर्फ भिसिएमा विविध काफ्ले, मास्टर्समा योविन तिमिल्सेना, पिएचडीमा डा. प्रमोद सुवेदी सम्मानित हुनुभएको छ।यस्तै, फ्रेन्ड्स अफ नेपाल अवार्डसहित सांसद ब्रोनविन हाफपेनी, सांसद क्याथलीन म्याथ्यूज वार्ड, भिभियन न्यूगेन, इभान मुलहोल्याण्ड, सनराइज चिल्ड्रेन्स एसोसिएसन इंक अष्ट्रेलियालाई न्याभ अवार्डद्वारा सम्मान गरिएको छ।
आइतबार सम्पन्न यस बृहत् कार्यक्रममा नेपाली समुदायसंगै स्थानीय नेता तथा विभिन्न प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा भिक्टोरियाका वातावरण तथा उर्जा मन्त्री लियिन डि एम्ब्रोसियो, उत्तरी महानगर क्षेत्रका लागि लिबरल पार्टी सदस्य तथा सांसद इभान मुलहोल्यान्ड, मेरीबेकका काउन्सिलर सु बोल्टन, सांसद ब्रोनविन हाफपेनी, थोमास्टाउनका लागि सदस्य लरेन काथागे, यान येन, मारिया वाम्वाकिनौ, भिएमसी अध्यक्ष भिभियन न्यूगेन, भिक्टोरियाका लागि नेपाली वासणज्य दूत निराजन गौली , सामुदायिक नेताहरु मनोज कुमार र प्रवीण कुमार लगायतको उपस्थिती रहेको थियो । मन्त्री इभान मुल्होल्यान्ड तथा अतिथिहरूले आफ्नो मन्तव्यमा राज्यको सामाजिक एकता तथा समृद्धिका लागि न्याभको भूमिकाको प्रशंसा गर्दै अवार्ड प्राप्त गर्ने सबैलाई बधाई दिनुभएको थियो।
लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा सम्मानित न्याभका संस्थापक अध्यक्ष डा. राजु अधिकारीले पहिलो पटक यस विधामा अवार्ड पाउँदा भावुक भएको उल्लेख गर्दै संस्थाको ३० वर्षको विरासत र भावी पुस्तालाई स्वयंसेवी कार्यमा उत्प्रेरित गर्न यो पुरस्कारको महत्व रहेको बताउनुभएको थियो।
त्यसैगरी, उत्कृष्ट व्यवसायिक नेतृत्वद्वारा सम्मानित सरोजनी मास्केले अवार्ड प्रदान गर्दै गर्दा संस्थाले महिला नेतृत्वलाई महत्त्व दिंदै समतामूलक ढंगले पुरस्कार वितरण गरेकोमा प्रशंसा व्यक्त गर्नुभयो। उहाँले यो पुरस्कारले समुदायप्रतिको थप जिम्मेवारी र आफ्नो व्यवसायिक क्षेत्रप्रति थप क्रियाशीलताका लागि ऊर्जा भरेको बताउनुभयो।
आफ्नो मन्तव्यमा संस्थाका अध्यक्ष प्रेम राज उप्रेतीले न्याभको भूमिका तथा जिम्मेवारी, आफ्नो कार्यकालमा भएका उपलब्धि र पुरस्कारको महत्वबारे प्रकाश पार्नुभएको थियो । उहाँले संस्थालाई सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै डा. याकिन्द्र तिमिल्सिनाको नवनिर्वाचित टोलीलाई स्वागत गर्नुभएको थियो। नवनिर्वाचित टोलीलाई यसै कार्यक्रममा प्रमाणपत्र प्रदान गरिएको थियो।