मेलबर्न। अमेजिङ्ग प्यारेन्ट्स र इपिंग वुलर्ट नेपलीज कम्युनिटीको आयोजनामा खोप कार्यक्रम सम्पन्न भएको छ। डीपीभी हेल्थसंगको सहकार्यमा गत शनिबार कोभिड-१९ विरुद्धको खोप कार्यक्रम सम्पन्न भएको हो।
सबै उमेर र अवस्थाका व्यक्तिहरुले सहज रुपमा खोप लगाउने वातवरण पाउन् भन्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको आयोजक संस्थाहरुले बताएका छन्।
बिहान ९ बजेदेखि दिउँसो २:३० सम्म संचालित कार्यक्रममा आयोजक संस्थाहरुकै सदस्यहरुले स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए। जसका कारण खोप कार्यक्रम अत्यन्तै व्यवस्थित र सहज रुपमा सम्पन्न भएको थियो। उक्त खोप कार्यक्रममा ३८ जना व्यक्तिहरुले खोप लगाएको अमेजिङ्ग प्यारेन्ट्सकी सुजन भारतीले जानकारी गराउनुभयो। कार्यक्रम इपिंग स्थित गालाडा कम्युनिटी सेन्टरमा आयोजना गरिएको थियो।
आयोजक संस्था अमेजिङ्ग प्यारेन्ट्स विशेषगरी अटिजम लगायत फरक क्षमताका बालबालिका र उनीहरुका अभिभावकका लागि स्थापना गरिएको हो। फरक क्षमताका बालबालिकाका लागि उचित वातावरण, समतामूलक समाज निर्माण गर्न प्रभावकारी योजनाका साथ अगाडी बढिरहेको यो संस्था छोटो समयमै स्थापित हुन सफल भएको छ।
डिपीभी हेल्थले समुदायका सबै व्यक्तिलाई समान स्वास्थ्य सुविधाको पहुँच निम्ति काम गर्दै आएको छ। सबै उमेरका व्यक्तिले स्वस्थ जीवन बाँच्न पाउन् भन्ने डिपीभी हेल्थको मुख्य उद्देश्य रहेको छ।
त्यसैगरी, इपिंग वुलर्ट नेपलीज कम्युनिटी इपिंग र वुलर्ट क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको साझा संस्था हो। २०१७ मा स्थापना भएको यो संस्थाले विभिन्न सामाजिक कार्यसंगै, नेपाली कला तथा संस्कृतिको प्रबर्द्धन र नेपाली समुदायको एकताका लागि विभिन्न कामहरु गर्दै आएको छ।