मेलबर्न। सन्तान गुमाउनुको पीडा जीवनभर रहिरहन्छ। तर श्रेष्ठ परिवारको मन अहिले केही हलुका बनेको छ। मन्दिरसंगै मुस्कुराइरहेकी छिन् जस्तो लाग्छ, छोरी ब्रिष्टि श्रेष्ठ। नेपाली मात्र नभई भारतीय समुदायका बीच पनि प्रसिद्ध भइरहेको गणेश मन्दिरले मनमा धेरैसमय पछिको उज्यालो ल्याइदिएको छ।
नेपालको पाटन पुर्ख्यौली घर भई हाल मेलबर्नमा बसोवास गर्दै आउनुभएका श्रेष्ठ दम्पत्ति उमेश श्रेष्ठ र जस्मिन श्रेष्ठकी छोरी ब्रिष्टिको सानो उमेरमा नै निधन भएको थियो। ६ वर्षको कलिलो उमेरमै ब्रेनक्यान्सर भएपछि उनको निधन भएको थियो। दुई छोरी सहितको सुखी परिवारमा आएको त्यो पीडादायी क्षणले उहाँहरुलाई विक्षिप्त बनायो।
शोकलाई शक्तिमा रुपान्तरण गर्दै श्रेष्ठ दम्पत्तिले बेन्डिगो भन्ने ठाउँमा नेपाली शैलीको गणेश मन्दिर निर्माण गर्नुभएको छ। यो गणेश मन्दिरमा नेपालीपनको झल्को दिनका लागि लागि मन्दिरको टुँडाल, मूर्ति, सिंह नेपालबाट ल्याइएको थियो। त्यस्तै, सिड्नीबाट एक सहयोगीले मण्डला र पानस दान गर्नुभएको थियो। श्रेष्ठ दम्पत्तिका अनुसार, मन्दिर निर्माण गरेको ठाउँ त्यहाँ मुखमा अर्थात् शुरुमा पर्छ। हिन्दु धर्म अनुसार, शुरुमा सधै गणेश भगवानको पूजा गरिने हुँदा गणेश मन्दिर निर्माण गरिएको हो।
मन्दिर निर्माणको उद्देश्यबारे पेशाले इलेक्ट्रिकल इन्जिनियर उमेश श्रेष्ठ बताउनुहुन्छ, "छोरीको सम्झनामा, उनको नाममा हामीले विभिन्न ठाउँमा डोनेसन दियौं। बाल अस्पतालमा समेत सहयोग गर्यौं। तर हामीलाई त्यो ‘कनेक्सन’ महसुस भएन। हामी हाम्री छोरी भौतिक रुपमा जीवित नभए पनि उसको आत्मा महसुस गर्न सकौं, उसको नाम जीवित रहोस् भन्ने चाहन्थ्यौं। त्यसैक्रममा हामीलाई पिस पार्कमा ठाउँ उपलब्ध भयो। संयोग कस्तो रह्यो भने, त्यही ठाउँमा छोरीको अस्तु राखिएको थियो। त्यहाँ विभिन्न धर्म तथा समुदायका मठ, मन्दिर, गुम्बा रहेका छन्। तर नेपाली शैलीमा बनेको मन्दिर भने थिएन। त्यसैले हामीलाई नेपाली शैलीको मन्दिर बनाउने प्रस्ताव आयो। छोरीको नामको कनेक्सन जुन महसुस गर्न चाहन्थ्यौं, त्यो हामीले यस कार्यबाट मिल्छ भन्ने महसुस गर्यौं। श्रीमती र मैले परिवार, आफन्त, साथीहरुसंग कुराहरु राख्यौं। उहाँहरुको पनि सकारात्मक प्रतिक्रिया आयो। त्यसपछि मन्दिर निर्माण गर्नेको योजना अगाडी बढाएका थियौं "।
छोरीको सम्झनामा निर्माण गरिएको यो मन्दिरले एक वर्ष पूरा गरेको छ। गत अप्रिल १० तारिखमा मन्दिरको वार्षिकोत्सव कार्यक्रम समेत आयोजना गरिएको थियो। उक्त वार्षिकोत्सव कार्यक्रममा बेन्डिगो आसपासका नेपाली तथा अन्य समुदायका हिन्दु धर्मावलम्बीहरुको उल्लेख्य सहभागिता रह्यो। कार्यक्रममा पूजारीहरुद्वारा विशेष पूजा समेत गरिएको थियो। अब हरेक वार्षिकोत्सवमा यसरी पूजा सहितको कार्यक्रम राखिने श्रेष्ठले जानकारी गराउनुभयो।
वार्षिकोत्सव कार्यक्रम सफल भएकोमा खुसी व्यक्त गर्दै उहाँले भन्नुभयो, " वार्षिकोत्सवमा बेन्डिगो आसपासका नेपाली, भारतीय, श्रीलंकाली लगायत समुदायका दर्शानार्थी आउनुभएको थियो। उहाँहरुले यो मन्दिर निर्माण भएका कारण आफूहरु मन्दिर दर्शनका लागि टाढा-टाढा जानु नपरेको बताउँदा अत्यन्तै खुसी लाग्यो। भारतीय समुदायका दर्शार्थीहरु हरेक साता जाने गर्न थाल्नुभएको छ। उहाँहरुको त्यो उत्साहजनक सहभागिता देख्दा, दर्शन गर्न निरन्तर जाने गरेको प्रतिक्रिया सुन्दा मन आनन्दित बन्यो। जुन उद्देश्यले मन्दिर निर्माण गरेका थियौं, त्यो उद्देश्य पूरा भएको जस्तो लागिरहेको छ। "
मन्दिरलाई अझ सुन्दर र नेपाली प्रतिनिधित्व सहितको बनाउनका लागि श्रेष्ठ दम्पत्तिले स्तुपा, ढुंगेधारा निर्माणको योजना अगाडी बढाउनुभएको छ। यसका लागि प्रयासरत उहाँहरुले गणेश अंकित टोपी बिक्रि समेत गरिरहनुभएको छ। उक्त टोपी बिक्रिबाट आएको रकम मन्दिरको आगामी योजना अगाडी बढाउन प्रयोग हुनेछ। टोपी बिक्रिका लागि समेत समुदायबाट सहयोग मिलिरहेको उल्लेख गर्दै मन्दिर निर्माणको कार्यदेखि निरन्तर सहयोग गरिरहनुभएका सबैप्रति आभार व्यक्त गर्नुभयो।
मन्दिर निर्माण पछिका आफ्ना अनुभव सुनाउंदै उहाँ भन्नुहुन्छ," मन्दिर संचालनमा आउँदा मलाई अर्कै महसुस भयो। फुर्सदमा त्यहाँ जान्छु, सफा गर्छु, केहीछिन बस्छु। छोरीको समिपमा पुगेको महसुस हुन्छ। छोरीका लागि केही त गर्न सकें भन्ने भयो। र, त्यसमा पनि अझ नेपालको परिचय पनि जोडिंदा निकै आनन्द लागेको छ "।
श्रेष्ठ दम्पत्तिकी छोरी वृष्टि बिरामी हुँदा उनले डिज्नेल्याण्ड जाने इच्छा व्यक्त गरेकी थिइन्। त्यतिबेला त्यो उनको सपना थियो। बिरामी छोरीको सपना पूरा होस् भनेर उहाँको अफिसले ८ हजार डलर तथा रोटरी क्लबले ५ हजार डलर दिएका थिए। तर छोरीलाई प्लेनमा लैजानको लागि डाक्टरहरुले नदिएपछि छोरीको त्यो सपना पूरा हुन पाएन। र, त्यो रकम अफिस तथा रोटरी क्लबले फिर्ता लिन मानेनन्। सन्तानको गुमाएको पीडा कम हुन्छ भनेर त्यो रकमबाट घुम्न जाने सुझाव दिए। तर श्रेष्ठ दम्पत्तिको मनले मानेन। र, त्यही रकम उहाँहरुले मन्दिर निर्माणमा लगाउनुभयो।
त्यो रकम पनि पर्याप्त थिएन। नेपालमा भूकम्प गएको समयमा नेपाली हुनुका नाताले नेपालप्रतिको कर्तव्य महसुस गरेर बेन्डिगोमा बसोवास गर्ने नेपालीहरुले अस्-नेपाल फाउन्डेसन भन्ने संस्था स्थापना गरेका थिए। भूकम्प पिडितको सहयोगका लागि संस्थामा दाताहरुबाट सहयोग आएको थियो। त्यो रकम संस्थाले धादिङ्गमा प्राथमिक स्कुल निर्माणको लागि सहयोग गर्यो र त्यसपछि पनि केही रकम बाँकी रहेको थियो। संस्थाका पदाधिकारीहरुले उक्त बाँकी रकम यो गणेश मन्दिर निर्माणको लागि प्रदान गर्ने निर्णय गर्नुभयो। त्यसैगरी अन्य दाताबाट पनि प्राप्त सहयोग जम्मा गरेर हामीले निर्माण कार्य सम्पन्न भएको थियो।
अहिले यो गणेश मन्दिर नेपालीहरुको पहिचान, श्रेष्ठ दम्पत्तिको मन बिसाउने ठाउँ र दर्शनार्थीहरुको धार्मिक स्थल बनिरहेको छ।