मेलबर्न। अष्ट्रेलियामा तीन दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको छ। मेलबर्नमा क्रियाशील नेपाली सामुदायिक संस्था फुटबल क्लब 'रोयल वेस्टर्न्स क्लब'ले उक्त रक्तदान कार्यक्रमको आयोजना गरेको थियो। गतवर्षको राष्ट्रव्यापी रक्तदान कार्यक्रम भव्य रुपमा सफल बनाएको संस्थाले दोस्रो पटक कार्यक्रमको आयोजना गरेको हो।
यस पटक रक्तदान कार्यक्रम गत जनवरी २६ तारीखदेखि शुरु भएको थियो। जसमा ४७ जनाको सहभागिता रहेको र रक्तदानको लागि सहभागी मध्ये ३७ जनाले रक्तदान तथा १० जनाले प्लाज्मा दान गरेको आयोजक संस्थाले जनाएको छ। ती मध्ये १८ जनाले आफ्नो जीवनमा पहिलो पटक रक्तदान गरेको बताउनुभएको थियो। संस्थाले रक्तदान गर्न इच्छुकहरुका लागि बुकिङ्ग खुल्ला गरेको थियो, जसमा ६५ जनाले आफ्नो नाम दर्ता गराएका थिए। ती मध्ये चौध जनालाई स्वास्थ्य समस्या आइपरेका कारण सहभागी हुन नसकेको र आगामी दिनका लागि पुन: बुकिङ्ग गरेको तथा चार जनाले आगामी हप्ता रक्तदान गर्न लागेको संस्थाले उल्लेख गरेको छ।
रक्तदान कार्यक्रमका सहभागीहरुले अरुको ज्यान बचाउनमा सहयोग पुग्ने काममा सहभागी हुन पाउँदा गर्व लागेको बताउँदै आयोजक संस्था तथा संयोजक टिमलाई विशेष धन्यवाद दिनुभयो। रक्तदान कार्यक्रममा सहभागी हुनुभएका डा.सन्देश पन्थले आफूले अष्ट्रेलियामा ६९ पटक र नेपाल, बङ्लादेशमा गरी जम्मा १३९ पटक रक्तदान गरिसकेको बताउनुभयो। त्यसैगरी, अर्का सहभागी रोशन उपाध्यायले अष्ट्रेलियामा ६० पटक रक्तदान गरिसकेको बताउनुभयो । निरन्तर रक्तदान गर्नुहुने डा पन्थ र उपाध्यायले अनुभव सुनाउँदै गर्दा सहभागीहरुलाई रक्तदानका लागि थप प्रेरणा मिलेको थियो। सहभागीहरुले आफूहरु पनि रक्तदानका लागि अब निरन्तर लागिपर्ने बताउनुभएको थियो।
कार्यक्रममा अष्ट्रेलियन रेडक्रस लाइफब्लड, रिजनल पार्टनरशिपका ग्रुप एकाउन्ट म्यानेजर जेनेभिब डब्सनले नेपाली समुदायको प्रतिनिधित्व गर्दै रोयल वेस्टर्न्स क्लबले खेलकुद गतिविधिका साथसाथै निरन्तर गरिरहेको रक्तदान कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्नुभएको थियो। उहाँले सम्पूर्ण सहभागी रक्तदाताहरु लगायत सहयोगी संस्थाहरुप्रति आभार समेत व्यक्त गर्नुभयो ।
आयोजक संस्था रोयल वेस्टर्न्स क्लबका सचिव तथा रक्तदान कार्यक्रमका संयोजक सुशील चालिसेले गत बर्षको पहिलो कार्यक्रम भब्य रुपमा सफल भए झैँ यस बर्षको दोश्रो रक्तदान कार्यक्रम पनि भब्य रुपमा सम्पन्न गर्नका लागि एनआरएनए भिक्टोरिया, नेपलिज एसोसिएसन अफ भिक्टोरिया, मेल्बर्न नेपालीज कम्युनीटि वेस्ट, फेडेरेसन अफ नेपलिज कम्युनिटी एसोसिएसन अफ अष्ट्रेलिया लगायत मेलबर्नमा क्रियाशील नेपाली संघसंस्थाको सहयोगप्रति आभार व्यक्त गर्नुभयो।
संयोजक चालिसेले सहभागी सम्पूर्णलाई विशेष धन्यवाद दिंदै भन्नुभयो, “यति धेरै सहभागीहरुका बीच कार्यक्रम सम्पन्न भएकोमा एकदमै खुसी लागेको छ। रक्तदानको लागि साथीहरु थप उत्साहित हुनुभएको छ। आगामी कार्यक्रमका लागि समेत बुकिङ्गका लागि अनुरोध आइरहेको छ। जुन उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो, त्यो उद्देश्य पूरा हुँदा हामीलाई थप हौसला मिलेको छ “।
त्यस्तै, क्लबका अध्यक्ष बम योन्जनले सहभागी सम्पूर्ण रक्तदाता तथा लाइफ ब्लड डोनर सेन्टरलाई व्यवस्थित रूपमा संचालल गर्न सहयोग गरेकोमा धन्यवाद ज्ञापन गर्नुभयो। यसका साथै उहाँले रक्तदान कार्यक्रम क्लबको सिग्नेचर प्रोग्राम बनिसकेकोले आगामी दिनहरूमा समेत यसलाई ब्यबस्थित रुपमा अगाडी बढाउने बताउनुभयो।
रक्तदान कार्यक्रममा बम योञ्जन, प्रविन कुमार, दर्शन रिजाल, राकेश सिङ्घ,डा. सन्देश पन्थ, प्रज्ञा गर्तौला पन्थ, राम गुरुङ, डा याकेंद्र तिमल्सिना, रोशन दाहाल, निरु त्रिपाठी, विवेक श्रेष्ठ, मोनिशा योञ्जन, एलिशा योञ्जन, सुवास चन्द, प्रज्वल दाहाल, सतिश बज्राचार्य, संदेश चिल्वाल, धुर्ब अधिकारी, एस लम न, केदार सापकोटा, सुबित अधिकारी, सुशान्त ओली, कौशिक बस्नेत, इश्वरी पौडेल, अंकिता प्याकुरेल, सुमन ढुंगाना, सुरज लामीछाने, केशब पन्त, बिनोद दाहाल, तिर्थ नहर्की, केशब प्याकुरेल, सुजन कोजु, रोशन उपाध्याय,सबिन खड्का, श्री कृष्ण ढुंगाना, भोला गिरि, सुरेन्द्र अधिकारी, नगेन्द्र बोहरा, बिभोर ढकाल, शम्भु आचार्य, प्रकाश ढुंगाना, राजु श्रेष्ठ, शंकर थापा, सुबास पाण्डे, दिपेन्द्र खड्का, सुरज श्रेष्ठ, सुशील चालिसेले रक्तदान गर्नुभएको थियो।
कार्यक्रम जनवरी २६, फेब्रुअरी १२, १३ तारीखका दिन अष्ट्रेलियाका बिभिन्न राज्यमा रहेका लाइफब्लड डोनर सेन्टरमा सम्पन्न भएको हो।