मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायको हितमा क्रियाशील संस्था तथा व्यक्तित्वहरु न्याभ अवार्डद्वारा सम्मानित भएका छन्। गत आइतबार अप्रिल, ३ मा आयोजित न्याभको रजत जयन्ती विशेष समारोहमा न्याभ एक्सिलेन्स अवार्ड प्रदान गरिएको हो।
हरेक वर्ष न्याभ एक्सिलेन्स अवार्ड आयोजना गर्दै आएको न्याभले यसपटक अवार्डका लागि ५ वटा विधा छुट्टाइएको थियो। भाषा तथा संस्कृति, व्यवसायिक एवम् शैक्षिक उपलब्धि, नेतृत्व, वकालत तथा सामाजिक सक्रियता र नेपाली समुदायका लागि सह्रानीय काम गरी चार विधा र यी विधा बाहेकमा पर्नेहरुका लागि विकल्प स्वरुप 'अन्य' भनेर पाँच विधा राखिएको थियो। यी विधामा गत ६ मार्चसम्मका लागि नोमिनेसन खुल्ला गरिएको थियो।
अवार्ड संयोजक समितिका अनुसार, पाँच वटै विधामा गरी जम्मा अठार नोमिनेसन परेको थियो। जसमध्ये भाषा तथा संस्कृतिमा नेपाली पाठशाला भर्मन्ट साउथ, व्यवसायिक एवम् शैक्षिक उपलब्धिमा डा. खगेन्द्र थापा, नेतृत्व, वकालत तथा सामाजिक सक्रियतामा जिलोङ नेप्लिज एसोसिएसन नेपाली समुदायका लागि सह्रानीय काम गर्नेमा वेन शुल्ट्ज र अन्य तर्फ खेलकुद मार्फत समुदायका लागि सक्रिय रोयल वेस्टर्न क्लब उत्कृष्ट ठहरिए।
उत्कृष्ट ठहरिएका संस्था तथा व्यक्तिहरुलाई भव्य रजत जयन्ती कार्यक्रममा सम्मान गरिएको थियो। सम्मानित संस्थाका प्रतिनिधि तथा व्यक्तिहरुले कार्यक्रममा बोल्दै न्याभप्रति आभार व्यक्त गरेका थिए। उनीहरुले अवार्डले आफूहरुलाई थप सक्रिय रहन हौसला प्रदान गरेको उल्लेख गर्दै समुदायको हितका निम्ति थप प्रभावकारी कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
न्याभ अवार्डका लागि सुनिल भण्डारीको संयोजकत्वमा मनोज घिमिरे, श्री पन्त, भोला गिरी, प्रेरणा मल्ल र हेम राज चालिसे सहितको समिति निर्माण गरिएको थियो ।