मेलबर्न। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी)लाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।न्याभले च्यारिटी खेलबाट संकलित ५ हजार डलर हस्तान्तरण गरेको हो।
गत शनिबार अप्रिल २,मा आयोजित एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरिएको न्याभ उपाध्यक्ष तथा च्यारिटी खेल संयोजक प्रेम राज उप्रेतीले जानकारी दिनुभयो। टच फुटी टुर्नामेन्टमा पहिलो पटक सहभागी हुँदै गरेको नेपाली टिमलाई जर्सी वितरण कार्यक्रममा उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो। सहयोग रकम न्याभका उपाध्यक्ष प्रेम राज उप्रेती र कोषाध्यक्ष यकिन्द्र तिमल्सिनाले एएनएमसीका सचिव नारायण काफ्लेलाई हस्तान्तरण गर्नुभएको थियो।
एएनएमसी सचिव काफ्लेले न्याभको यो प्रयासले संस्थालाई निकै ठूलो सहयोग पुगेको बताउनुभयो। सरलरेखासंगको कुराकानीमा उहाँले भन्नुभयो, "१७औं ग्रेस क्रिकेट न्याभ टुर्नामेन्ट नेपाली समुदायको ठूलो इभेन्ट बन्यो। त्यस्तो बृहत् कार्यक्रममा एएनएमसीको लागि च्यारिटी म्याच गरिनुले समुदायमा एएनएमसी सम्बन्धि चासो बढ्यो। आर्थिक पक्ष त छँदै छ, त्यो ठूलो सहभागिता बीच च्यारिटी म्याच गराइनुले एएनएमसीको उद्देश्यबारे प्रचारप्रसार भयो। त्यो सबैभन्दा राम्रो पक्ष बनेको छ।" उहाँ थप्नुहुन्छ," च्यारिटी म्याच उत्साहजनक बनेको थियो, म पनि एउटा टिमको म्यानेजर थिएँ। कोभिडका कारण शारीरिक तथा मानसिक रुपमा नकारात्मक असर परिरहेको समयमा टुर्नामेन्ट तथा च्यारिटी म्याचले हामी सबैमा एक किसिमको ऊर्जा भरिदिएको थियो। "
एएनएमसी सचिव काफ्लेले न्याभ, न्याभका उपाध्यक्ष तथा टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेती, प्रायोजक संस्था तथा सम्पूर्ण सहयोगीप्रति आभार व्यक्त गर्नुभयो। टुर्नामेन्ट तथा च्यारिटी म्याच एकदमै राम्रो तथा उत्साहजनक रुपमा सम्पन्न भएको स्मरण गर्दै उहाँले आयोजक टिमका लागि बधाई तथा शुभकामना व्यक्त गर्नुभयो।
सरलरेखासंगको कुराकानीसंग कुरा गर्दै न्याभका उपाध्यक्ष तथा च्यारिटी म्याच संयोजक प्रेम राज उप्रेतीले गत वर्षको च्यारिटी म्याचबाट नेपालको बैतडीमा हत्या गरिएकी बालिका भागीरथी भट्टको परिवारलाई सहयोग गरिएको जानकारी गराउनुभयो। यस वर्ष एएनएमसीको उद्देश्य प्राप्तिका लागि सामुदायिक एकता र प्रचार प्रसारको आवश्यकता रहेको महसुस गरी एएनएमसीलाई सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो। संयोजक उप्रेतीले आगामी दिनमा पनि आफ्नो संयोजकत्वमा हुने टुर्नामेन्टले सामुदायिक सहयोग तथा उद्देश्यलाई महत्त्व दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
गत फेब्रुअरीमा सम्पन्न १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्टमा एएनएमसी सहयोगार्थ च्यारिटी म्याच २० फेब्रुअरीदेखि दुई दिनसम्म चलेको थियो। फाइनल खेलमा रियलस्टेट पायोनियर्स क्रिकेट टिमलाई हराउँदै इनोभेटिभ टिम विजेता बन्न सफल भएको हो।
उक्त मैत्रीपूर्ण खेलमा सामुदायिक तथा व्यवसायिक अगुवाहरुको इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम, आयोजक संस्था न्याभको न्याभ क्रिकेट टिम, रियलस्टेट व्यवसायीहरुको कम्युनिटी रियलस्टेट पायोनियर्स क्रिकेट टिम, शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको कम्युनिटी एजुकेशनल एण्ड एडमिनिस्ट्रेटिभ स्टार्स, एनआरएनए भिक्टोरियाको एनआरएनए भिक्टोरिया लायन्स र उद्धमीहरुको कम्युनिटी नोबेल अन्टरप्रेनयर्स गरी ६ टिम सहभागी भएका थिए।
इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिमको कप्तान डेस्टिनि लिभिङ्ग होम्सका सीईओ केशव खत्री हुनुहुन्थ्यो। टिमको व्यवस्थापनमा पण्डित नारायण प्रसाद ज्ञवाली र नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष राजेश आचार्य रहनुभएको थियो। आयोजक संस्था न्याभको न्याभ क्रिकेट टिमको कप्तान प्रेम राज उप्रेती हुनुहुन्थ्यो। उप्रेती न्याभको उपाध्यक्ष तथा टुर्नामेन्ट संयोजक समेत हुनुहुन्छ। त्यसैगरी, टिमको कोचमा न्याभका सल्लाहकार नारायण काफ्ले हुनुहुन्छ भने व्यवस्थापकमा न्याभका अध्यक्ष राम गुरुङ रहनुभएको थियो।
अर्को टिम रियलस्टेट पायोनियर्स क्रिकेट टिममा ब्लुबेरीका बिनित राज शर्मा कप्तान हुनुहुन्थ्यो भने ब्लुबेरीकै कर्ण राना कोच तथा धिरेन्द्र कुँवर व्यवस्थापकको रुपमा रहनुभएको थियो। त्यस्तै, कम्युनिटी एजुकेशनल एण्ड एडमिनिस्ट्रेटिभ स्टार्स टिममा ग्रेस इन्टरनेशनलका दीपक आचार्य कप्तान रहनुभएको थियो। टिमको कोचमा फेन्काका भिक्टोरिया संयोजक भोला गिरि हुनुहुन्छ भने व्यवस्थापनतर्फ कटिङ्ग किङ्ग्स हेयर ड्रेसर सलुनका संजीव कुमार रहनुभएको थियो।
एनआरएनए भिक्टोरियाको एनआरएनए भिक्टोरिया लायन्सको कप्तानी एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्काले गर्नुभएको थियो। यो टिमको कोचमा एनआरएनए अष्ट्रेलियाका भूतपूर्व अध्यक्ष टोनु घोथाने तथा सहायक कोचमा एनआरएनए भिक्टोरियाका उप-संयोजक नारायण कटुवाल रहनुभएको थियो। एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष केशव कंडेलले टिमको व्यवस्थापन सम्हाल्नुभएको थियो।
त्यसैगरी, उद्धमीहरुको कम्युनिटी नोबेल अन्टरप्रेनयर्स टिमको कप्तानमा हंग्री आई एशियन फ्युजन एण्ड बारका शंकर थापा रहनुभएको थियो। टिमको कोचमा हिमालयन नेपलीज एण्ड इन्डियन रेष्टुरेन्टका लाल प्रसाद कंडेल हुनुहुन्थ्यो भने टिमको व्यवस्थापकमा एपीबी पार्टनर्स फाइनान्स एण्ड बिजनेस एड्भाइजर्सका अर्जुन ढकाल रहनुभएको थियो।