मेलबर्न। अष्ट्रेलियामा नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आइतबार, अप्रिल ३मा रजत जयन्ती मनाउँदै छ। न्याभ भिक्टोरियामा वसोवास गर्ने नेपालीहरुको सबैभन्दा पूरानो संस्था हो। संस्थाले आफ्नो रजत जयन्ती न्याभ अवार्ड, स्मारिका विमोचन, डकुमेन्ट्री विमोचन, सांस्कृतिक प्रस्तुति लगायत विभिन्न कार्यक्रममाझ भव्य तरिकाले मनाउँदैछ।
रजत जयन्ती तयारी सम्बन्धमा न्याभका अध्यक्ष राम गुरुङ भन्नुहुन्छ,"न्याभको रजत जयन्ती केवल वार्षिकोत्सव मात्र होइन। यो हाम्रो इतिहासको सम्झना हो। भिक्टोरियामा आउने पहिलो व्यक्तिदेखि, न्याभको स्थापना, न्याभका हालसम्मका अध्यक्षहरु र न्याभ तथा समुदायको वर्तमान अवस्थासम्मका कुराहरुलाई समेटेर डकुमेन्ट्री तयार गरेका छौं। त्यो डकुमेन्ट्री कार्यक्रममा प्रस्तुत गरिनेछ। भिक्टोरियामा नेपाली समुदायको इतिहास र न्याभका उतार चढावलाई समेटेर स्मारिका पनि तयार गरेका छौं। कार्यक्रममा उक्त स्मारिका पनि विमोचन गरिनेछ। पढ्न इच्छुक व्यक्तिहरुले स्मारिक नि:शुल्क प्राप्त गर्न सक्नुहुनेछ "।
कार्यक्रममा न्याभ एक्सिलेन्स अवार्ड वितरण समेत गरिनेछ। त्यसैगरी बहुसांस्कृतिक समाजको झल्को दिने सांस्कृतिक प्रस्तुति रहनेछ। यसबारेमा बताउंदै अध्यक्ष गुरुङ भन्नुहुन्छ, "मेरो कार्यकालमा भएको उपलब्धि मध्ये बहुसांस्कृतिक समाजमा न्याभको उपस्थिति पनि पर्दछ। मैले अन्य समुदायसंगको सहकार्यलाई महत्त्वका साथ लिएँ। नेपाली समुदाय अगाडी बढ्नका लागि बहुसांस्कृतिक समाजमा सहकार्य तथा बलियो उपस्थितिको आवश्यकता रहन्छ"।
अध्यक्ष गुरुङले कार्यक्रममा भिक्टोरियाको प्रायजसो क्षेत्रका काउन्सिलरहरुको उपस्थिति रहने समेत जानकारी गराउनुभयो। न्याभले काउन्सिलरहरुलाई विशेष निमन्त्रणा गरेको उल्लेख गर्दै उहाँले संस्थाले गरेको यो प्रयासले भिक्टोरियावासी हरेक नेपालीले अपनत्व महसुस गर्ने तथा स्थानीय स्तरमा सहजीकरणको वातवरण बन्ने विश्वास व्यक्त गर्नुभयो।
थनबरी थिएटरमा हुने कार्यक्रमको सम्पूर्ण टिकट बिक्रि भइसकेको न्याभले जनाएको छ। सबैभन्दा पूरानो संस्थाको रजत जयन्तीमा सहभागी हुने अवसरबाट भिक्टोरियावासी धेरै नेपाली बन्चित हुने भए नि, भन्ने हाम्रो जिज्ञासामा अध्यक्ष गुरुङ भन्नुहुन्छ,"रजत जयन्तीको तयारी गर्दा वातवरण सहज भइसकेको थिएन। कोभिडको भय यथावत थियो, त्यो अवस्थामा तयारी गरेकोले कार्यक्रम हुने स्थान पनि सानो तय गर्यौं, जसले गर्दा सिमित व्यक्तिले टिकट पाउनुभयो। यो कुरामा हामीलाई पनि खल्लो लागिरहेको छ। हामीले कार्यक्रमलाई न्याभको फेसबुक पेज मार्फत प्रत्यक्ष प्रसारण गर्नेछौं। हाम्रो परिस्थितिलाई बुझेर सोही लाइभ मार्फत जोडिनुहुन म सबैलाई विनम्र आग्रह गर्छु "। रजत जयन्ती विशेष कार्यक्रम बेलुका ५ बजेदेखि राती १०:३० सम्म संचालन हुनेछ।
न्याभको रजत जयन्ती विशेष कार्यक्रमका लागि सातवटा समिति गठन गरिएको थियो। र, ती समितिभित्र विभिन्न उपसमिती बनाइएको थियो। विभिन्न जिम्मेवारी सहितका ती सातवटा समितिको कामको सह्राना गर्दै अध्यक्ष गुरुङले सम्पूर्ण समितिका सदस्यहरु, न्याभको हालसम्मका अध्यक्षहरु, समुदायका अग्रजहरु, सल्लाहकारहरु, प्रायोजक संस्था, संचारमाध्यम, शुभचिन्तक लगायत सबैप्रति आभार व्यक्त गर्नुभयो।
न्याभले रजत जयन्तीकै अवसरमा ग्रेस न्याभ क्रिकेट टुर्नामेन्ट, एएनएमसीलाई सहयोग, एएनएमसीको प्राङ्गणमा पिपल रोप्ने कार्य, अष्ट्रेलिया दिवस विशेष कार्यक्रम लगायत विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ। रजत जयन्ती विशेष समारोहकै दिन न्याभकै नेतृत्वमा नेपाली टिम टच फुटी वर्ल्ड कपमा सहभागी हुँदैछ । नेपाली टिम फुटी टुर्नामेन्टमा सहभागी भएको यो पहिलो पटक हो।