मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आयोजित फुटी वर्ल्ड कप (Touch Footy World Cup)को मैदानमा उत्रिन नेपाल टिम तयार भएको छ। नेपाली समुदाय भिक्टोरियामा बसोवास गर्न थालेको करिब तीन दशक पुगेतापनि हालसम्म फुटीको कुनैपनि टुर्नामेन्टमा सहभागी भएको थिएन। अष्ट्रेलियामा फुटीलाई महत्त्वपूर्ण खेलको रुपमा लिइन्छ। सो खेलको वर्ल्ड कपमा नेपाली टिम पहिलो पटक सहभागी हुन थालेकोले समुदायमा उत्साह छाएको छ।
प्रतियोगितामा नेपालसंगै फिलिपिन्स, मेक्सिको, मलावी, स्विजरल्याण्ड, ब्राजिल, न्यूजील्याण्ड, वेल्स गरी ८ टिमको सहभागिता रहनेछ। नेपाल टिमको सहभागिताका लागि न्याभले नेतृत्व गरिरहेको छ भने रोयल वेस्टर्न क्लबले सहकार्य गरेको छ र एनआरएनए भिक्टोरिया सपोर्टरका रुपमा रहेको छ। त्यसैगरी, न्याभ उपाध्यक्ष प्रेम राज उप्रेती संयोजक रहनुभएको छ।
न्याभले शुक्रबार एक कार्यक्रम आयोजना गरी खेलाडीहरुलाई जर्सी वितरण गरेको हो। चन्द्र सूर्य अंकित तथा नेपालको राष्ट्रिय झण्डाका रंगहरुले सजाइएको जर्सीले नेपाली माटो तथा परिचयको आभास दिलाउँछ। जर्सी वितरणसंगै उक्त कार्यक्रममा टुर्नामेन्टमा नेपाली टिमको सहभागिताको महत्त्व, टुर्नामेन्टको ढांचा तथा प्रतियोगिता लगायत विषयमा अन्तरक्रिया समेत गरिएको थियो।
आइतबार, अप्रिल ३ मा हुने फुटी प्रतियोगिता फकनर पार्कमा आयोजना हुनेछ। टुर्नामेन्टमा नेपाल टिम डिभिजन २ मा रहेको छ। नेपालको खेल बिहान १० बजे फिलिपिन्ससंग, ११:२० मा ब्राजिलसंग, १२:४० मा युनाइटेड नेशनसंग हुनेछ। प्रतियोगिताको फाइनल खेल डिभिजन २ को दिउँसो २:४० मा र डिभिजन १ को दिउँसो ३:२० मा हुनेछ।
कार्यक्रममा मोरल्याण्ड काउन्सिलर सु बोल्टन र सीएलएनएफका अध्यक्ष ट्रेभर प्रमुख अतिथि रहनुभएको थियो। त्यसैगरी, जनसम्पर्क समितिका अध्यक्ष बिनित राज शर्मा, एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्का, एएनएमसीका सचिव नारायण काफ्ले, न्याभका सल्लाहकार सुनिल भण्डारी, फारवेस्टर्न कम्युनिटीका अध्यक्ष महादेव धानुक, भीएनसीएका अध्यक्ष सुजित बस्नेत, आइआरएम रियाल्टिका प्रिन्सिपल सुरेश महर्जन, न्याभका सदस्यद्वय हेमराज चालिसे र कृष्ण चालिसे, यात्रा द कनेक्सनका सीईओ सविन अधिकारी, भीएनसीएका सल्लाहकार राजन मास्के लगायत अतिथिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा सहभागी सम्पूर्ण अतिथिहरुले नेपाली समुदायका लागि यो ऐतिहासिक क्षण रहेको उल्लेख गर्दै नेपाल टिमलाई शुभकामना दिनुभएको थियो। अतिथिहरुले यो सहभागिताले नेपाली समुदायले आफ्नो परिचय स्थापित गर्दै अगाडी बढ्न तथा नयाँ पुस्तालाई मार्गनिर्देश गर्न सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो।
त्यसैगरी, उहाँहरुले नेपाल टिमको सहभागिताका लागि न्याभ र उपाध्यक्ष तथा टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेतीले गर्नुभएको प्रयासको प्रशंसा गर्नुभएको थियो।
कार्यक्रममा संयोजक प्रेम राज उप्रेतीले टुर्नामेन्टको ढाँचा तथा नियमको बारेमा सबैलाई प्रष्ट पार्नुभएको थियो। त्यसैगरी उहाँले टुर्नामेन्ट खेल समय तथा प्रतियोगिताबारे जानकारी गराउनुभएको थियो।
प्रतियोगितामा सहभागी हुन लागिरहेको टिमलाई कार्यक्रम संचालक तथा न्याभका कोषाध्यक्ष यकिन्द्र तिमिल्सिनाले विशेष शुभकामना दिनुभयो। उहाँले न्याभको रजत जयन्ति कार्यक्रमका बारेमा समेत सबैलाई जानकारी गराउनुभएको थियो। भिक्टोरियाको सबैभन्दा पूरानो संस्था न्याभले अप्रिल ३, आइतबार नै रजत जयन्ती मनाउँदै छ।