मेलबर्न। नेपाली नयाँ वर्षको अवसरमा अष्ट्रेलियाको मेलबर्नमा 'ठमेल नाइट मेलबर्न २' हुनेभएको छ। यात्री हाउस अफ इभेन्ट्सले गत डिसेम्बरमा भव्यताका साथ सम्पन्न ठमेल नाइट मेलबर्नको दोस्रो संस्करण 'ठमेल नाइट मेलबर्न२'को आयोजना गरेको हो।
काममा फरकपनका कारण यात्री हाउस अफ इभेन्ट्सले स्थापनाको छोटो समयमै चर्चा कमाइरहेको छ। अष्ट्रेलियामै रहेका नेपाली युवाहरुलाई प्रोत्साहन, नेपालमै रहेको झल्को दिने किसिमका कार्यक्रमहरुको आयोजना लगायत कामले लोकप्रिय भएको यात्रीले यसपटक ठमेल नाइटद्वारा नयाँ पुस्ता र समाजसेवालाई जोड्नेभएको छ। आयोजक संस्थाले यस कार्यक्रम मार्फत दिदीबहिनी समाज भिक्टोरियालाई सहयोग गर्नेभएको हो। दिदीबहिनी समाज भिक्टोरियाले अष्ट्रेलियामा र विशेषगरी नेपालमा यौन हिँसा, लैंगिक हिँसा, घरेलु हिँसामा परेका दिदीबहिनीहरुलाई सहयोग गर्दै आएको छ।
नयाँ पुस्ता र समाजसेवालाई जोड्नुको उद्देश्य बारे प्रष्ट पार्दै यात्री हाउस अफ इभेन्ट्सका डाइरेक्टर प्रकाश काजी थापा भन्नुहुन्छ,"पहिलो कुरा, हाम्रो सामाजिक दायित्त्वलाई ध्यानमा राखेर यो इभेन्ट मार्फत दिदीबहिनी समाज भिक्टोरियालाई सहयोग गर्ने निर्णय गरेका हौँ। दोस्रो कुरा, ठमेल नाइट मेलबर्न हाम्रो युवा तथा नयाँ पुस्ता लक्षित छ, त्यसैले नयाँ पुस्तामा सामाजिक भावनाको संस्कृतिलाई बढाउने उद्देश्यले पनि यही कार्यक्रमलाई चुनिएको हो। "
दिदीबहिनी समाजले सह्रानीय काम गरिरहेको उल्लेख गर्दै उहाँले सहयोग रकम संस्थामार्फत यौन तथा घरेलुहिँसा पिडित महिलाहरुसम्म पुग्ने जानकारी गराउनुभयो। डाइरेक्टर थापाका अनुसार, दिदीबहिनी समाज भिक्टोरियाले यौन तथा घरेलु हिंसा पिडित महिलाहरुका लागि नेपालको मध्य पश्चिम क्षेत्रमा कार्यरत संस्था 'आवाज'लाई सहयोग गर्दै आएको छ। विगत ६ वर्षदेखि तीज कार्यक्रम मार्फत आवाजलाई सहयोग गर्दै आएको दिदीबहिनी समाजसंग यात्री हाउस अफ इभेन्ट्सले ठमेल नाइट मेलबर्न २ मार्फत हातेमालो गर्ने भएको हो।
ठमेल नाइट मेलबर्न २मा नयाँ पुस्तामाझ चर्चित कलाकारहरुको दमदार प्रस्तुति रहनेछ। यात्री हाउस अफ इभेन्ट्सका अनुसार, कार्यक्रममा नट्टू शाह र उनको ब्याण्ड, डीजे ग्रुभ भेडा, अंकित र आकृत दाजुभाइ तथा डिजे नटकेसको सांगीतिक प्रस्तुति रहनेछन्। त्यसैगरी, सृजना घिमिरेको नृत्य प्रस्तुति रहनेछ भने कार्यक्रमको संचालन ज्ञानेन्द्र उप्रेती र रेशा सापकोटाले गर्नेछन्।
ठमेल नाइट मेलबर्न २ आगामी अप्रिल ११, सोमबारका दिन रोयल मेलबर्न होटलमा हुनेछ। कार्यक्रममा १८ वर्ष उमेर माथिका व्यक्तिले मात्रा प्रवेश पाउनेछन्। कार्यक्रम बेलुका ८:३० बजेदेखि सुरु हुनेछ।