मेलबर्न। आफ्ना सपनाहरु बोकेर अष्ट्रेलियाको भिक्टोरियामा २०१० मा पाइला टेक्नुभएका सुनिल भण्डारी हाल यहाँको नेपाली समुदायमा स्थापित व्यक्तित्व हुनुहुन्छ। सामुदायिक कार्यमा सधै सक्रिय उहाँ अष्ट्रेलियाको नेपाली समुदायमा प्रतिष्ठित अवार्डहरुको प्रयाय जस्तै बन्नुभएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए)को अवार्ड कमिटीमा रहेर तीन वर्ष उहाँले काम गरिसक्नुभएको छ भने नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को अवार्ड समितिमा उहाँ २०१४ देखि निरन्तर हुनुहुन्छ।
भिक्टोरियावासी नेपालीहरुको सबैभन्दा पूरानो संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले हरेक वर्ष न्याभ एक्सिलेन्स अवार्ड कार्यक्रम गर्दै आएको छ। विगत दुई वर्ष भने कोभिडका कारण स्थगित भएको अवार्ड कार्यक्रमको यस वर्षको नोमिनेसन अवधि सकिएको छ। न्याभले उक्त नोमिनेसन तथा मूल्यांकनका आधारमा आगामी अप्रिल ३ मा अवार्ड वितरण गर्ने बताएको छ। न्याभले अप्रिल ३ मै आफ्नो रजत जयन्ती विशेष समारोह समेत गर्दैछ।
यसै सन्दर्भमा आज हामीले यो वर्ष पनि न्याभ एक्सिलेन्स अवार्ड समितिमा रहेर संयोजकको भूमिका निर्वाह गरिरहनुभएका सुनिल भण्डारीसंग विशेष कुराकानी गरेका छौं।
न्याभको नोमिनेसन कस्तो रह्यो र मूल्यांकन प्रक्रिया कसरी अगाडी बढिरहेको छ भन्ने बारे बताइदिनुहोस् न!
नोमिनेसन गत ६ मार्चसम्मका लागि खुल्ला रहेको थियो। अवार्डका लागि ५ वटा विधा छुट्टाइएको थियो। भाषा तथा संस्कृति, व्यवसायिक या शैक्षिक उपलब्धि, नेतृत्व, वकालत तथा सामाजिक सक्रियता र नेपाली समुदायका लागि सह्रानीय काम गरी चार विधा र यी विधा बाहेकमा पर्नेहरुका लागि विकल्प स्वरुप 'अन्य'भनेर पाँच विधा रहेका छन्। सबै विधामा नोमिनेसन परेको छ। र, मूल्यांकन प्रक्रिया पनि अन्तिम चरणमा रहेको छ। अवार्ड समितिबाट मूल्यांकन भइसकेको छ।
न्याभ एक्सिलेन्स अवार्डको सुचना सबै समक्ष पुग्न सकेन भन्ने गुनासा आइरहेका छन् नि !
यो गुनासो जायज हो। पहिलो कुरा त, आयोजक संस्था न्याभले रजत जयन्ति मनाउँदै छ। न्याभ यहाँका हामी नेपालीका लागि अभिभावक संस्था हो, यहाँको सबैभन्दा पूरानो संस्था। यसले मेलबर्न मात्र नभएर समग्र भिक्टोरियाका नेपालीलाई जोड्ने प्रयास गर्दै आएको छ। यसले गर्दा आयोजक समितिहरु, शुभेच्छुक तथा भिक्टोरियावासीको ध्यान रजत जयन्ति विशेष कार्यक्रममा परेको छ। यसले अवार्डलाई छायाँमा पार्यो। दोस्रो कुरा भनेको कोभिड पछिको समय भएकोले अनिश्चित समय रह्यो र पहिलेदेखि नै पर्याप्त तयारी गर्न नपाउँदा नोमिनेसनको अवधि छोटो हुन पुग्यो। यति हुँदाहुँदै पनि नोमिनेसन उत्साहजनक रहेको छ। यो उत्साहजनक सहभागिता र अहिलेका कमीकमजोरीलाई आउँदा दिनमा पक्कै पनि ध्यानमा राखिनेछ।
यो सहभागिताले भिक्टोरियावासी समग्र समुदायलाई समेट्छ भन्ने कुरामा पनि कत्तिको विश्वस्त हुनुहुन्छ?
नेपाली समुदायको हित तथा नेपाली भाषा, कला तथा संस्कृतिको प्रबर्द्धनका लागि योगदान दिएका व्यक्तित्वहरुलाई अवार्ड मार्फत सम्मान गरौँ, राम्रो काम गरिरहेकाहरुलाई अवार्ड मार्फत प्रोत्साहन गरौँ भन्ने न्याभ अवार्डको मूख्य उद्देश्य हो। यसमा आफैले नभएर कोही दोस्रो व्यक्तिले नाम सिफारिस गर्नुपर्ने हुन्छ। यसले गर्दा राम्रो काम गरिरहेकाहरु छायाँमा रहनुभएको छ, अर्थात उहाँले गरेका काम बाहिर अरुले देखिरहेका छैनन् भने त्यसले पक्कै पनि असर गर्नेभयो। त्यस्तै, कतिलाई चाहिं आफ्नो नाम सिफारिस गर्न आग्रहका लागि अप्ठ्यारो लाग्ला भने कतिलाई अवार्डको चाहना पनि नहोला। अघि भनेको जस्तै, कतिपय समक्ष सुचना नपुगेको होला या म्याद सकिएपछि सुचना पुग्यो होला। तर उद्देश्य भनेको सधै सबैलाई समेट्ने नै हुन्छ। यो कुरामा चाहिं विश्वस्त छौं कि, अहिलेको सहभागिताले पनि समग्र समुदायको विभिन्न क्षेत्र तथा कार्यका व्यक्तिको प्रतिनिधित्व गरेको छ। यसलाई अझ सहभागितामूलक कसरी बनाउने भन्ने कुरामा अब आउने अवार्ड कार्यक्रमहरुमा अझ बढी गृहकार्य गर्दै अगाडी बढ्नुपर्छ।
अवार्ड भनेपछि त्यहाँसंगै विवाद पनि आउँछ, विशेषगरी पूर्वाग्रह भयो भन्ने कुराहरु आउँछन् ? न्याभ अवार्डलाई पूर्वाग्रह रहित बनाउनका लागि कस्ता प्रयास भएका छन् ?
हजुरले भन्नुभएको ठीक हो, विभेद, पूर्वाग्रह लगायत प्रश्नहरु प्राय:जसो अवार्डमा आउने गर्छन्। वास्तवमा भन्दा नेपालमा हामी नातावाद कृपावादको वातावरणमा हुर्कियौं। त्यसको प्रभाव केही हदसम्म यहाँ आएर पनि रहन्छ, कहिले हाम्रो सोंचमा, कहिले व्यवहारमा। त्यो हटाउनु जरुरि छ। न्याभ अवार्डको कुरा गर्दा, यसमा अवार्ड समितिका सदस्यले आफू वरिपरिका व्यक्तिको नाम सिफारिस गर्न या अरु व्यक्तिले अवार्ड समितिमा भएका व्यक्तिको नाम सिफारिस गर्न नपाउने नियम राखेका थियौं। त्यसैगरी, डकुमेन्टका आधारमा मूल्यांकन हुने नियम थियो। यसमा कसैले डकुमेन्टमा थोरै काम समावेस छन्, तर हामीलाई उसले गरेका अरु राम्रा काम पनि थाहा छ भनेपनि त्यही डकुमेन्टलाई मात्र अधार मानेर मूल्यांकन गरिएको छ। त्यसैले न्याभ अवार्ड पूर्वाग्रहरहित छ भन्ने कुरामा सबैलाई विश्वस्त हुन आग्रह गर्छु।
हजुरले एनआरएनए अवार्ड समितिमा रहेर पनि काम गर्नुभयो, एनआरएनए अवार्ड पनि नेपाली समुदाय लक्षित नै अवार्ड भयो। एनआरएनए अवार्ड र न्याभ अवार्डमा के फरक छ ?
एनआरएनए अवार्ड अष्ट्रेलियाभरका लागि हुने हुनाले अझ बृहत् भयो। न्याभ अवार्ड भिक्टोरिया केन्द्रित भयो। त्यसैले एनआरएनए अवार्डसम्म पुग्न नसकेका भिक्टोरियावासी नेपालीलाई समेट्न सक्ने भयो। यसले गर्दा उनीहरुलाई एनआरएनए अवार्डसम्म पुग्ने, आफूलाई अझ माथिल्लो तहसम्म लैजाने हौसला मिल्छ। अर्को फरक भनेको, एनआरएनएमा धेरै विधा रहन्छन्, विद्यार्थीदेखि हरेकजसो पेशा समेटिन्छन् भन्ने न्याभ अवार्डका विधा विषयगत हुन्छन्।
समुदायको समृद्धिमा यी अवार्ड कार्यक्रमहरुले कसरी सहयोग गर्न सक्छन् ?
अवार्ड कार्यक्रम भनेको समुदायको हित र समृद्धिमा टेवा पुर्याउने गरी राम्रा काम गरिरहेका व्यक्तिहरुलाई हौसला प्रदान गर्ने हो। त्यसैले यस्ता अवार्ड कार्यक्रमहरुले समुदायको हरेक क्षेत्रमा सहयोग पुर्याउँछन्। अवार्डले विभेद निम्त्याउँछ भन्ने पनि तर्क आइरहेका छन्, पछिल्लो समय। तर यसका सकारात्मक पक्ष धेरै भएकोले नै सबैजसो देशमा विभिन्न क्षेत्रमा अवार्ड कार्यक्रम निरन्तर हुँदै आएका छन्।
समुदायको समृद्धिको कुरा गर्दा, भिक्टोरियाको नेपाली समुदायको पहिले र अहिलेको अवस्थामा कस्तो फरक पाउनुहुन्छ ?
यहाँको नेपाली समुदाय जनसंख्याको हिसाबले, सहभागिताको हिसाबले, प्रगतिको हिसाबले सबैमा अगाडी बढिरहेको छ। यहाँको बहुसांस्कृतिक समुदायमा नेपाली समाजले आफ्नो पहिचान बनाइरहेको छ। वैज्ञानिक, व्यवसायी, जागिर, खेलकुद हरेकजसो क्षेत्रमा नेपालीहरुले आफूलाई अब्बल सावित गरिरहेका छन्। नयाँ विद्यार्थीहरुले पनि लगनशील, मेहनतीको रुपमा आफ्नो परिचय बनाइरहेका छन्। त्यसैले भविष्यमा नेपाली समुदायले आफ्नो पहिचानलाई माथि लैजाने सम्भावना अझ उच्च छ।