मेलबर्न। अष्ट्रेलियामा जारी कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवल सफलताका साथ सम्पन्न भएको छ। १९ मार्चदेखि सुरु भएर दुई सप्ताहन्तसम्म चलेको कार्निवल आइतबार, २७ मार्चमा समापन भएको हो।
द हन्ड्रेड ढाँचामा गरिएको प्रतियोगितामा आठ टिमले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगी एभरेष्ट लायन्स, फारवेस्ट हनटर्स, रोयल राइनोज, गोर्खाली क्रिकेट क्लब, एक्स्पर्ट सगरमाथा ब्लुज, माभेन क्रिकेट क्लब, द हिमालयन क्लब र गुल्मी टाइगर्सबीच सहभागी लिग प्रतियोगिता १९ मार्च, २० मार्च र २६ मार्च गरी तीन दिनसम्म चलेको थियो।
उक्त लिगबाट द हिमालयन, फारवेस्ट हन्टर्स, एक्स्पर्ट सगरमाथा र गुल्मी टाइगर्सले सेमी फाइनल सम्मको यात्रा तय गरे। गत आइतबार नै भएको सेमी फाइनल खेलमा द हिमालयनले फारवेस्ट हन्टर्सलाई तथा एक्स्पर्ट सगरमाथाले गुल्मी टाइगर्सलाई पराजित गरेका थिए। त्यसपछि अझ रोचक बनेको फाइनल खेल हेर्नका लागि विद्यार्थी, सामुदायिक अगुवा, संघसंस्थाका प्रतिनिधि लगायतको उल्लेख्य सहभागिता रह्यो।
फाइनल खेलमा टस जितेर पहिले ब्याटिंग गरेको द हिमालयन क्लबले निर्धारित १०० बलमा ५ विकेटको क्षेतीमा २०२ रन बनाउन सफल रह्यो। द हिमालयनका लागि रमनित सिंहले सर्वाधिक ९५ रन तथा केशव पन्तले ६० रनको योगदान गरे। एक्स्पर्ट सगरमाथाका बलर हम्जा अलिले २ तथा हरभीन्दर सिंहले १ विकेट लिए।
जवाफी ब्याटिंगमा एक्स्पर्ट सगरमाथा ब्लुजले ९५ रन मात्र बनाउन सक्यो। एक्स्पर्ट सगरमाथा ब्लुजका लागि सुमित चौधरीले ३९ तथा पारस लामिछानेले ३४ रन बनाएका थिए। यता द हिमालयनका बलर उदय देवकोटा एक्लैले ३२ रन खर्चेर ४ विकेट हात पारे भने केशव पन्तले १४ रन खर्चेर ३ विकेट लिन सफल रहे।
फाइनल खेलको प्लेयर अफ द म्याच द हिमालयन क्लबका लागि अलराउण्डर योगदान दिएका केशव पन्त घोषित भए।
विजेता टिम तथा खेलाडीहरुलाई आइतबार नै पुरस्कार वितरण गरिएको थियो। प्रतियोगिताको उपाधि विजेताका लागि पदक र प्रमाणपत्रको साथमा ३ हजार डलर नगद पुरस्कार तथा उपविजेताका लागि पदक र प्रमाणपत्रको साथमा १ हजार डलर नगद पुरस्कार प्रदान गरिएको थियो। त्यसैगरी, प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिएको थियो।
कार्निवल सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आयोजक संस्थाले सहभागी टिम, प्रायोजक संस्थाहरु, स्वयंसेवक, संघसंस्थाका प्रतिनिधि, समुदायका अगुवाहरु, कार्निवल संयोजक टिम लगायत सम्पूर्णप्रति आभार व्यक्त गरेको छ। त्यसैगरी, कार्निवलको मूख्य प्रायोजक संस्था कँडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कँडेलले युवाहरुको सक्रियता, सुस्वास्थ्य र क्षमता अभिवृद्धिको उद्देश्य लिएर प्रायोजन गरेकोमा त्यो उद्देश्य प्राप्त भएको महसुस गरेको बताउनुभयो। उहाँले विद्यार्थी तथा युवाहरुका निम्ति सहयोग गर्न आफू सधै तत्पर रहेको समेत बताउनुभयो।