मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा जारी कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवलको तेस्रो दिनका खेल शनिबार, २६ मार्चमा हुँदैछन्।
द हिमालयन क्लबद्वारा आयोजित क्रिकेट कार्निवलमा आठ टिम सहभागी रहेका छन्। कार्निवलको तेस्रो दिन चार खेल हुने आयोजक क्लबले जनाएको छ। शनिबार ओभल एकमा बिहान ९ बजेदेखि एभरेष्ट लायन्स र फारवेस्ट हनटर्स तथा दिउँसो १२:३० बजेदेखि रोयल राइनोज र गोर्खाली क्रिकेट क्लबबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, ओभल तीनमा बिहान ९ बजेदेखि एक्स्पर्ट सगरमाथा ब्लुज र माभेन क्रिकेट क्लब तथा दिउँसो १२:३० बजेदेखि द हिमालयन क्लब र गुल्मी टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ।
यी खेलबाट प्राप्त नतिजाको आधारमा सेमीफाइनल खेल हुनेछ। सेमी फाइनल र फाइनल खेल भने २७ मार्च, आइतबार हुनेछन्। द हन्ड्रेड ढांचामा प्रतिस्पर्धा भइरहेको यो कार्निवल अघिल्लो सप्ताहान्त अर्थात गत शनिबार १९ मार्चदेखि सुरु भएको थियो। पहिलो दिन सम्पन्न खेलबाट गुल्मी टाइगर्स, एक्स्पर्ट सगरमाथा ब्लुज, फारवेस्ट हनटर्स र द हिमालयन क्रिकेट क्लब विजयी भएका थिए। त्यसपछि २० मार्च, आइतबार सम्पन्न खेलमा एक्सपर्ट सगरमाथा ब्लुज, माभेन क्रिकेट क्लब, गुल्मी टाइगर्स क्रिकेट क्लब र द हिमालयन क्लब विजयी बनेका थिए।
द हिमालयन क्लबको आयोजना तथा कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजन रहेको 'कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवल' को यो दोस्रो सिजन हो। आयोजक क्लबका अनुसार, प्रतियोगिताको उपाधि विजेताका लागि पदक र प्रमाणपत्रको साथमा ३ हजार डलर तथा उपविजेताका लागि पदक र प्रमाणपत्रको साथमा १ हजार डलर नगद पुरस्कारको व्यवस्था रहेको छ भने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।
त्यसैगरी, कार्निवलमा बालबालिकाहरुका लागि टुर्नामेन्टको अन्तिम दिनमा फाइनल खेलभन्दा अगाडी क्रिकेट क्लिनिक रहने आयोजक क्लबले जनाएको छ। र, सहभागी बालबालिकाहरुलाई मेडल समेत प्रदान गरिनेछ।