मेलबर्न। अष्ट्रेलियाको बोर्डर खुलेसंगै विद्यार्थी भिसाका लागि धेरै जनाले आवेदन दिइरहेका छन्। लामो समयपछि बोर्डर खुलेको हुनाले सजिलै भिसा लाग्छ भन्ने धेरैको अनुमान रह्यो, जसका कारण पनि आवेदन दिनेहरुको संख्या व्हात्तै बढेको छ।
यसैबीच अष्ट्रेलियाको भिसा प्रोसेसिङ्गको समयमा इमिग्रेसनबाट फोन अन्तर्वार्ता लिइएको र योग्यता हुँदाहुँदै पनि विभिन्न कारण देखाएर भिसा रद्द भएको भन्ने गुनासाहरु विद्यार्थीहरुबाट आइरहेका छन्। यस्तो किन भइरहेको छ र भिसा रद्द हुनबाट बच्न के गर्नुपर्छ भन्ने विषयमा हामीले डाँफे कन्सल्टिङ्गका डाइरेक्टर सन्तोष कर्णसंग विशेष कुराकानी गरेका छौं।
इमिग्रेसनले किन फोन अन्तर्वार्ता लिइरहेको छ ?
फोन अन्तर्वार्ता गरेर विद्यार्थी रोज्ने जिम्मा इमिग्रेसनले कलेजलाई दिएको थियो। अहिले बोर्डर खुलेसंगै कलेजहरु अन्तर्राष्ट्रिय विद्यार्थी स्वागत गर्न आतुर छन् भने भिसाका लागि एप्लाई गर्ने विद्यार्थीहरुको चाप पनि बढेको छ। यस्तो अवस्थामा मापदण्ड नामिचीयोस्, जस्तो व्यक्तिले पनि अष्ट्रेलियाको भिसा पाउन सक्छ भन्ने मान्यता नबसोस् भन्ने उद्देश्यले इमिग्रेसनले अन्तर्वार्ता लिन थालेको हो। यसअर्थमा बुझ्दा सजिलो होला, इमिग्रेसनले कलेजले लिएको अन्तर्वार्ताको क्रस चेक गरिरहेको छ।
इमिग्रेसनको यो फोन अन्तर्वार्ता सबै विद्यार्थीहरुले दिनुपर्छ ?
मैले अघि पनि भनिसकें, इमिग्रेसनले क्रस चेक गरेको हो। त्यसैले उसले सबै विद्यार्थीको अन्तर्वार्ता लिंदैन। चिठ्ठा जसरी छानेर कुनै-कुनै विद्यार्थीलाई फोन गर्छ।
उक्त फोन अन्तर्वार्ताबाट भिसा एप्लिकेसन रद्द हुने सम्भावना कत्तिको हुन्छ ?
राम्रो एप्लिकेसन पनि रद्द हुने सम्भावना हुन्छ। किनकी, विद्यार्थीले एसओपी (स्टेटमेन्ट अफ पर्पस) माथि ध्यान दिएका हुन्नन्। आफ्नो एसओपीमा के लेखिएको छ भन्ने विद्यार्थीलाई राम्रोसंग जानकारी हुनुपर्छ। फोन अन्तर्वार्तामा विद्यार्थीले भनेका कुरा, दिएका जानकारी एसओपीसंग मेल खाएन भने भिसा एप्लिकेसन रद्द हुने सम्भावना हुन्छ।
फोन अन्तर्वार्तामा भिसा एप्लिकेसन रद्द हुने सम्भावनाबाट बच्न विद्यार्थीले के गर्नुपर्छ ?
पहिलो कुरा त प्रमाणपत्रहरु सही हुनुपर्यो। त्यसपछि आफ्ना योग्यता के-कति छन्, कामको अनुभवका प्रमाणपत्र छन् भने त्यहाँ के-के कुरा उल्लेख गरिएको छ भन्ने याद हुनुपर्यो। त्योसंगै महत्त्वपूर्ण भनेको एसओपी हो। एसओपीमा लेखिएका कुराहरु र अन्तर्वार्तामा भनिने कुराहरुबीच तालमेल हुनुपर्छ।
उल्लेखित जानकारीहरु सामान्य जानकारीहरु हुन्, सबै केसमा यी जानकारी उपयोगी नहुन सक्छन्। त्यसैले, रजिस्टर्ड परामर्शदातासंग सरसल्लाह लिन अनुरोध गर्दछौं। यदि डाँफे कन्सल्टिङ्गमा सम्पर्क गर्न चाहनुहुन्छ भने डाँफे कन्सल्टिंगका कार्यालयहरु नेपालमा चितवन र काठमाडौंमा तथा अष्ट्रेलियामा मेलबर्न र सिड्नीमा रहेका छन्।