मेलबर्न। इभेन्ट आयोजना भनेको केवल मनोरन्जन मात्र होइन भन्ने कुरालाई यात्री हाउस अफ इभेन्ट्सले आफ्ना कार्यक्रम मार्फत दर्शाउने प्रयास गरिरहेको छ। सोही प्रयासका कारण छोटो समयमा नै अष्ट्रेलियाको भिक्टोरियामा नेपाली समुदायबीच यात्री स्थापित बन्न सफल भएको छ। यात्री हाउस अफ इभेन्ट्सले फेरी एक कार्यक्रमको भव्य तयारी गरिरहेको छ। यात्रीले होली विशेष कार्यक्रमको तयारी सुरु गरेको हो।
होली फेस्टिभल धमाका कार्यक्रमका बारेमा यात्रीका निर्देशक प्रकाश काजी थापा भन्नुहुन्छ, "कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने उद्देश्यले केही अगाडीदेखि नै तयारी सुरु गरिसकेका छौं। केवल होली कार्यक्रम मात्र नभएर नेपाली संस्कृति, परम्परा र स्वादको प्रबर्द्धन गर्ने हाम्रो उद्देश्य रहेको छ। र, अर्को उद्देश्य भनेको कोभिडले निराशा छाएको समयमा सबैमा सकारात्मक ऊर्जा थपौं भन्ने हो "।
निर्देशक थापाका अनुसार, कार्यक्रमले एउटा पारिवारिक जमघट, सामुदायिक एकता र नेपालीपनको झल्को दिनेछ। जसअनुसार, बच्चादेखि युवा र वृद्ध अभिभावकसम्मका लागि मनोरन्जनात्मक गतिविधि रहनेछन्। कार्यक्रममा रङ्ग संगै लाइभ डिजे, लाइभ ब्याण्ड, नृत्य प्रस्तुति, नेपाली स्ट्रिट खानाको स्टल, विभिन्न सामुदायिक खानको स्टल र बालबालिकाका लागि फेस पेंटिंग, जम्पिंग क्यासल लगायत विभिन्न रमाइला गतिविधि रहनेछन्।
होली फेस्टिभल धमाका आगामी मार्च १४ (लेबर डे), सोमबारका दिन हुनेछ। पहाडी क्षेत्रमा मनाइने होली पर्व यसपटक मार्च १७ मा परेको छ भने तराई क्षेत्रको होली पर्व मार्च १८ मा परेको छ। त्यसैले सार्वजनिक बिदा परेकोले मार्च १४ लाई होली कार्यक्रमका लागि उपयुक्त दिनको रुपमा चुनिएको यात्रीले जनाएको छ।