मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा यतिबेला फुटसल टुर्नामेन्टको तयारी चलिरहेको छ। एनआरएनए भिक्टोरियाको आयोजना तथा डाँफे कन्सल्टिङ्गको मूख्य प्रायोजनमा भिक्टोरियामा एनआरएनए भिक्टोरिया फुटसल टुर्नामेन्ट हुँदैछ। एनआरएनए भिक्टोरिया फुटसल टुर्नामेन्टको यो दोस्रो सिजन हो।
महिलाहरुलाई खेलमा प्रोत्साहन तथा टिमको व्यापक सहभागिताले गर्दा यसपटकको टुर्नामेन्ट अझ बृहत् बन्ने टुर्नामेन्ट संयोजक विजय दाहाल बताउनुहुन्छ। उहाँका अनुसार, यसपटक टुर्नामेन्टमा २४ टिम सहभागी हुँदैछन् भने महिलाहरुका लागि 'आऊ र प्रयास गर' (कम एण्ड ट्राई) सेसन रहनेछ। समुदायमा भइरहेका फुटबल तथा क्रिकेट टुर्नामेन्टमा महिला सहभागिता तथा महिला टिमको प्रतियोगिता न्यून देखिएकोले महिलाहरुलाई खेलमा प्रोत्साहन गर्न कम एण्ड ट्राई सेसन राखिएको संयोजक दाहाल बताउनुहुन्छ। सरलरेखासंगको कुराकानीमा उहाँले यसपटकको टुर्नामेन्टमा गरिएको यो प्रयासले आउँदा दिनमा महिलाहरुलाई प्रतियोगितामा सहभागी हुने अवसर बन्दै जाने विश्वास व्यक्त गर्नुभयो।
दोस्रो एनआरएन भिक्टोरिया फुटसल टुर्नामेन्टलाई डाँफे कन्सल्टिङ्गले मूख्य प्रायोजन गरेको छ। समुदायप्रतिको जिम्मेवारी बहन गर्दै टुर्नामेन्ट प्रायोजन गरेको डाँफे कन्सल्टिङ्ग मेलबर्नका डाइरेक्टर सन्तोष कर्ण बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ,"फुटसल टुर्नामेन्ट युवाहरुका लागि प्लाटफर्म हो भने समुदायको समृद्धिका लागि एउटा पाटो हो। अर्कोतर्फ, हामी सबैको अभिभावक संस्था एनआरएनए भिक्टोरियाले यसको आयोजना गर्दैछ। त्यसैले सहयोग गर्नु हाम्रो कर्तव्य हो। युवाहरुका लागि प्रेरणा तथा हौसला र सामुदायिक हितका लागि डाँफे कन्सल्टिङ्ग सधै अग्रसर छ"।
दोस्रो एनआरएन भिक्टोरिया फुटसल टुर्नामेन्टमा सैनीक टीम, चन्द्रसूर्य फुटबल क्लव, युनाईटेड फुटवल क्लव ए र बी, क्रेगीवन ब्रिगेड सकर क्लव ए र बी, गुल्मी टाइगर्स ए र बी, बेन्डीगो नेप्लिज फुटवल क्लव, हिमालयन फुटवल क्लव ए, बी र सी, हिमालयन टाइगर ए र बी, यती फुटबल क्लव ए, बी, सी र डी, रोयल वेस्टर्न क्लव ए र बी, रोयल फुटवल क्लव ए र बी र जीपी फुटवल टिमले प्रतिस्पर्धा गर्नेछन्।
टुर्नामेन्ट आयोजनाको उद्देश्यबारे प्रष्ट पार्दै एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्का भन्नुहुन्छ," खेल भनेको शारीरिक तथा मानसिक स्वास्थ्यका लागि अत्यन्तै आवश्यक छ। त्यसमा पनि यस्ता टुर्नामेन्टहरुले खेलप्रेमीहरुलाई आफ्नो क्षमता प्रस्तुत गर्ने अवसर प्रदान गर्छन्। त्यसैगरी, यसले समुदायलाई खेल क्षेत्रमा अगाडी लैजान मद्दत गर्छ भने सामुदायिक एकता र सद्भावको वातवरण पनि निर्माण गर्छ "। युवा सहभागिता तथा अवसर र सामुदायिक एकता तथा समृद्धिका लागि खेलकुद गतिविधिहरुलाई एनआरएन भिक्टोरियाले प्राथमिकतामा राखेको उहाँ बताउनुहुन्छ। सरलरेखासंगको कुराकानीमा उहाँले संस्थाको एकल प्रयासले मात्र यी लक्ष्य हासिल गर्न नसकिने बताउँदै टुर्नामेन्टको मूख्य प्रायोजक संस्था डाँफे कन्सल्टिङ्ग लगायत सम्पूर्ण प्रायोजक संस्थाहरुप्रति आभार समेत व्यक्त गर्नुभयो।
टुर्नामेन्ट आगामी आइतबार, २७ मार्चमा आरएमआईटि सेन्टरमा हुनेछ। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) सपोर्टर संस्थाको रुपमा रहेको यो टुर्नामेन्ट बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म संचालन हुनेछ।