अष्ट्रेलियाको नेपाली समुदायमा बहुआयामिक व्यक्तित्व र सामुदायिक अगुवाको रुपमा चिरपरिचित नाम हो, डा. राजु अधिकारी। जैविक चिकित्सा क्षेत्रमा प्रसिद्ध वैज्ञानिक उहाँ अष्ट्रेलियाको वैज्ञानिक एवम् अनुसन्धनात्मक संस्था सिएसआइआरओमा कार्यरत हुनुहुन्छ। विज्ञानको क्षेत्रमा उहाँ कृषिमूलक प्रविधि तथा बायोमेडिकल क्षेत्रका विभिन्न आविष्कारको सह-आविष्कारक हुनुहुन्छ भने आफ्ना अनुसन्धान तथा वैज्ञानिक कार्यका लागि विभिन्न पुरस्कारबाट साम्मानित हुनुभएको छ। डा. अधिकारीका एक सयभन्दा बढी अनुसन्धान पत्रहरू र २८ आविष्कार पैटेंट प्रकाशित भइसकेका छन्।
आफूलाई एक काममा मात्र सिमित नराख्ने डा. राजु अधिकारी शिक्षाको क्षेत्रमा समेत क्रियाशिल हुनुहुन्छ। नेपालमा खुल्ला विश्वविद्यालयको सुरुवात तथा स्थापनाका लागि डाक्टर प्रमोद धकाल, द्रोण रासली, अम्बिका अधिकरी र उहाँको टीमले नेतृत्व गर्नुभएको थियो। नेपालमा युवालाई अवसर तथा गुणस्तरीय शिक्षाका लागि सधै चिन्तनशील रहने उहाँ भन्नुहुन्छ," म सधै शिक्षा, अनुसन्धान र उद्धमशीलताका क्षेत्रमा युवाहरुलाई हौसला दिनुपर्छ भन्ने मान्यता राख्छु। र, यी क्षेत्रमा आफूले सक्ने योगदान गर्नका लागि म कहिल्यै पछि हट्दिन "। डा.अधिकारीले गैरआवासीय नेपाली संघ एनआरएनएको सीप, ज्ञान तथा आविष्कार समितिको संयोजक रुपमा समेत काम गर्नुभएको छ ।
विज्ञान र शिक्षाको क्षेत्रमा नेपाली समुदायको शिर उच्च बनाउनुभएका अधिकारी सामुदायिक काममा पनि उत्तिकै सक्रिय हुनुहुन्छ। अष्ट्रेलियाको भिक्टोरियावासी नेपालीहरुको सबैभन्दा पूरानो संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) को उहाँ संस्थापक अध्यक्ष हुनुहुन्छ।
यही अप्रिल ३ मा रजत जयन्ती मनाउने तयारीमा रहेको न्याभ स्थापना गर्दाको समय स्मरण गर्दै उहाँ भन्नुहुन्छ," भिक्टोरियामा त्यतिबेला नेपालीको संख्या एकदमै कम थियो। अरु समुदायका संस्थाहरु थिए, उनीहरुले कार्यक्रमहरु गरिरहेका हुन्थे, हामीले पनि अनौपचारिक कार्यक्रम गरिरहेका हुन्थ्यौं। त्यसपछि हामीलाई हाम्रो आफ्नै संस्था हुनुपर्छ, नेपालीको संख्या बढ्दै गएपछि अनेक समस्या आउन सक्छन् र त्यसका लागि अहिलेदेखि नै तयारी गर्नुपर्छ अनि संगसंगै नेपाली समुदायलाई यहाँको बहुसांस्कृतिक समाजमा स्थापित गर्नुपर्छ भन्ने महसुस भयो। सोही अनुसार, न्याभको अवधारणा आएको हो। १९९३ देखि छलफल सुरु भयो र १९९७ मा संस्था दर्ता भयो। न्याभ भिक्टोरियामा दर्ता भएको पहिलो नेपाली संस्था बन्यो, हामी सबैको सामूहिक प्रयासले सफल भयौं "।
न्याभको स्थापना तथा आफ्नो कार्यकालबारे डा. अधिकारी भन्नुहुन्छ, "मैले संस्थामा पाँच स्तम्भ हुनुपर्छ भन्ने विचार राखेर काम गरेको थिएँ। संस्कृति, खेलकुद, विद्यार्थी, बहुसांस्कृतिक केन्द्र र संघीय अवधारणा भन्ने पाँच स्तम्भ हुन्। त्यतिबेला यिनै पाँच स्तम्भलाई लिएर विभिन्न कार्यक्रमहरु सुरु गरीयो र सोही अनुसारका विधान र योजना बनायौं । न्याभले आज २५ वर्ष पुग्दासम्म सोही अनुसार काम गरेको छ र भिक्टोरियावासी सबै नेपालीको अभिभावक बनेको छ, नयाँ नेपाली संघसंथाहरुसंग हातेमालो गर्दै अगाडी बढिरहेको छ। गर्व लाग्छ"।
सामुदायिक स्तरमा न्याभले ठूलो योगदान गरेको बताउँदै डा. अधिकारी अब न्याभ व्यापक रुपमा अगाडी बढ्नुपर्ने धारणा व्यक्त गर्नुहुन्छ। न्याभले अरु देशका संघसंस्थाहरुसंग सहकार्य, नेपालको पर्यटन प्रबर्द्धन, नेपाल-अष्ट्रेलिया सम्बन्ध, अष्ट्रेलियाको सरकारी निकायमा नेपाली समुदायको पहुँच र नेतृत्व लगायत बृहत योजनामा काम गरोस् भन्ने उहाँ चाहनुहुन्छ। यद्दपी अष्ट्रेलियाको बहुसांस्कृतिक नीति, नेपाली समुदायकै नयाँ पुस्तालाई संलग्न गराउने तथा उनीहरुलाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने चुनौतीलाई भने नकार्न नसकिने उहाँ बताउनुहुन्छ।
संस्थापक अध्यक्ष डा. अधिकारी न्याभको वर्तमान तथा भविष्यको नेतृत्वलाई न्याभले गरिरहेका कार्यहरुलाई निरन्तरता दिंदै थप पारदर्शी, लचिलो, समावेशी तरिकाले काम गर्न सुझाव दिनुहुन्छ। न्याभका कुशल अभिभावक डा राजु अधिकारीले अन्य संघसस्था मार्फत समेत नेपाली समुदायका लागि योगदान गरिरहनुभएको छ। उहाँ हेल्प नेपाल नेटवर्क र फेन्काको संस्थापक अध्यक्ष हुनुहुन्छ भने साउथ एसियन कम्युनिटी लिंक ग्रुप अष्ट्रेलियाको अध्यक्ष हुनुहुन्छ।