मेलबर्न। अष्ट्रेलिया सुरु ११औं कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवलको पहिलो दिनका खेल सम्पन्न भएका छन्। पहिलो दिन अर्थात शनिबार सम्पन्न चार खेलमा गुल्मी टाइगर्स, एक्स्पर्ट सगरमाथा ब्लुज, फारवेस्ट हनटर्स र द हिमालयन क्रिकेट क्लबले आफ्नो विजयी यात्रा सुरु गरेका छन्।
पहिलो दिनको पहिलो खेल गुल्मी टाइगर्स र रोयल राइनोज क्रिकेट क्लबबीच भएको थियो। टस जितेको गुल्मी टाइगर्सले ४ विकेटले रोयल राइनोजलाई पछि पार्दै जित हासिल गर्यो। खेलको म्यान अफ द म्याच गुल्मी टाइगर्सका आकाश क्षेत्री बन्न सफल भए।
दोस्रो खेलमा एक्प्सर्ट सगरमाथा ब्लुज र एभरेष्ट लायन्स मैदानमा उत्रिएका थिए। टस जितेर ब्याटिंग रोजेको एभरेष्ट लायन्सलाई ५ विकेटले पछि पार्दै एक्स्पर्टले जित आफ्नो हातमा लियो। एभरेष्ट लायन्सका सुमित पराजुली म्यान अफ द म्याच बन्न सफल भए।
त्यसैगरी, पहिलो दिनको तेस्रो खेल फारवेस्ट हनटर्स र माभेन क्रिकट क्लबबीच भएको थियो। उक्त खेलमा टस जितेर ब्याटिंग रोजेको फारवेस्टले माभेनलाई ९ रनले पछि पार्दै जित आफ्नो पक्षमा पार्यो। फारवेस्टकै पुकार घिमिरे खेलको म्यान अफ द म्याच बने।
पहिलो दिनको अन्तिम खेलमा आयोजक क्लब द हिमालयन क्लब र गोर्खाली क्रिकेट क्लबबीच भिडन्त भएको थियो। टस जितेर ब्याटिंग रोजेको गोर्खालीलाई ६ विकेटले पछि पार्दै द हिमालयनले आफ्नो विजयी यात्राको सुरुवात गर्यो। उक्त खेलमा द हिमालयनका साहिल शर्मा म्यान अफ द म्याच बन्न सफल भए।
पहिलो दिनको खेल हेर्नका लागि विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, प्रायोजक संस्थाका प्रतिनिधीहरु, सामुदायिक अगुवा, विद्यार्थी लगायतको उल्लेख्य सहभागिता रहेको थियो।
कार्निवलको दोस्रो दिन अर्थात आइतबार, २० मार्चमा पनि चार खेल हुनेछन्। ओभल एकमा बिहान ९ बजेदेखि द हिमालयन क्लब र रोयल राइनोजबीच प्रतिस्पर्धा हुनेछ भने दिउँसो १२:३० बजेदेखि एक्स्पर्ट सगरमाथा ब्लुज र फारवेस्ट हनटर्सबीच प्रतिस्पर्धा हुनेछ। त्यसैगरी, ओभल तीनमा बिहान ९ बजेदेखि गोर्खाली क्रिकेट क्लब र गुल्मी टाइगर्स तथा दिउँसो १२:३० बजेदेखि माभेन र एभरेष्ट लायन्सबीच प्रतिस्पर्धा हुनेछ।
द हिमालयन क्लबको आयोजना तथा कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजन रहेको 'कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवल' को यो दोस्रो सिजन हो। द हन्ड्रेड ढांचामा प्रतिस्पर्धा हुने यस कार्निवलमा यस पटक ८ टिम सहभागी सहभागी रहेका छन्। आयोजक क्लबका अनुसार, प्रतियोगिताको उपाधि विजेताका लागि पदक र प्रमाणपत्रको साथमा ३ हजार डलर तथा उपविजेताका लागि पदक र प्रमाणपत्रको साथमा १ हजार डलर नगद पुरस्कारको व्यवस्था रहेको छ भने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।
कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवल २०२२ का खेल तथा कार्यक्रम आगामी दुई साताका सप्ताहान्त अर्थात् १९ मार्च (शनिबार), २० मार्च (आइतबार), २६ मार्च (शनिबार) र २७ मार्च (आइतबार) का दिन संचालन हुनेछन्। कार्निवल ब्लेक पार्क स्थित द हिमालयन क्लबको होम ग्राउण्डमा भइरहेको छ। कार्निवलमा बालबालिकाहरुका लागि टुर्नामेन्टको अन्तिम दिनमा फाइनल खेलभन्दा अगाडी क्रिकेट क्लिनिक रहने आयोजक क्लबले जनाएको छ। र, सहभागी बालबालिकाहरुलाई मेडल समेत प्रदान गरिनेछ।