मेलबर्न। भिक्टोरियाको नेपाली समुदायले यसपटक एउटा इतिहास रच्ने भएको छ। नेपाली समुदाय भिक्टोरियामा बसोवास गर्न थालेको करिब तीन दशक पुगेको छ। यो तीन दशकमा नेपाल पहिलो पटक फुटी वर्ल्ड कपमा सहभागी हुनेभएको हो।
भिक्टोरियामा फुटी खेललाई एउटा परम्पराको रुपमा लिइन्छ । जसअनुसार, विभिन्न समुदायबीच आपसी सद्भावको उद्देश्य सहित अष्ट्रेलियन फुटी इन्टरनेशनलले फुटी वर्ल्ड कपको आयोजना गर्दै आएको छ। यसपटकको टच फुटी वर्ल्डकप २०२२ मा अष्ट्रेलियन फुटी इन्टरनेशनलले नेपाली समुदायलाई सहभागिताको निमन्त्रणा दिएको छ। आयोजक संस्थाले नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) मार्फत निमन्त्रणा गरेको हो।
प्रतियोगितामा नेपालसंगै फिलिपिन्स, मेक्सिको, मलावी, स्विजरल्याण्ड, ब्राजिल, न्यूजील्याण्ड, वेल्स गरी ८ टिमको सहभागिता रहनेछ। नेपाल टिमको सहभागिताका लागि न्याभले नेतृत्व गरिरहेको छ भने रोयल वेस्टर्न क्लबले सहकार्य गरेको छ र एनआरएनए भिक्टोरिया सपोर्टरका रुपमा रहेको छ। त्यसैगरी, न्याभ उपाध्यक्ष प्रेम राज उप्रेती संयोजक रहनुभएको छ।
टच फुटी वर्ल्ड कप २०२२ मा नेपालको सहभागिता बारे संयोजक प्रेम राज उप्रेती भन्नुहुन्छ," यो हाम्रा लागि गौरवपूर्ण क्षण हो। नेपाली समुदाय फुटी खेलिरहेको भएतापनि यसरी औपचारिक रुपमा निमन्त्रणा प्राप्त गरेर वर्ल्ड कपमा जान लागेको पहिलो पटक हो। त्यसैले सबै उत्साहित छौं र तयारीमा जुटिरहेका छौं। यसले हामीलाई यहाँको बहुसांस्कृतिक समाजमा घुलमिल हुने तथा हाम्रो थप परिचय स्थापित गर्ने अवसर पनि मिल्नेछ। यो अवसरलाई हामीले भरपूर सदुपयोग गर्दै हाम्रो आउँदो पुस्ताका लागि पनि मार्गनिर्देशन हुने वातवरण निर्माण गर्न सकिनेछ "।
टच फुटी वर्ल्ड कप २०२२ आगामी ३ अप्रिलमा फकर पार्कमा बिहान ९ बजेदेखि सुरु हुनेछ। सहभागी हरेक टिमले ३० मिनेटको तीन प्रतियोगी खेल खेल्नेछन्। ती खेलबाट उत्कृष्ट दुई टिम फाइनलमा प्रवेश गर्नेछन्। टिमको एक खेलमा अधिकतम १५ खेलाडी रहनेछन्।
प्रतियोगितामा आफ्नो बलियो उपस्थितिका लागि तयारी गरिरहेको नेपाली टिमलाई लालीगुराँस एशियन ग्रोसरीले मूख्य प्रायोजन गरेको छ। गोल्ड स्पोन्सरको रुपमा आइआरएम रियाल्टि रहेको छ भने सिल्भर स्पोन्सरको रुपमा यात्रा द कनेक्सन र ग्रेस इन्टरनेशनल रहेका छन्। त्यसैगरी, हंग्री आई फ्युजन एण्ड बार हस्पिटालिटी पार्टनरको रुपमा रहेको छ।