मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा आयोजित ११औं कँडेल कन्सल्टेन्सी कपको उपाधि यति रातो टिमले जितेको छ। समग्रमा जम्मा ३३ टीमबाट ६६० खेलाडीहरुले प्रतिस्पर्धा गरेको प्रतियोगितामा आयोजक संस्थाकै टिम यति रातोले जित हासिल गरेको हो।
यति फुटबल क्लबद्वारा आयोजित ११औं कँडेल कन्सल्टेन्सी कप गत १२ र १३ मार्च गरी दुई दिनसम्म संचालन भएको थियो। प्रतियोगितामा मेलबर्न, सिड्नी, क्यानबेरा, ताज्मानिया र एडीलेडबाट खुल्ला उमेर समूहमा २४ टीम र फरएभर यङ्ग समूहमा ९ टीम सहभागी थिए।
खुल्ला उमेर समूहको फाइनलमा आयोजक क्लबकै दुई टिम यती रातो र यती निलोबीच प्रतिस्पर्धा भएको थियो। रोचक भिडन्त सहितको उक्त खेलको पेनाल्टी सुटआउटमा रातोले नीलोलाई चारका विरुद्ध पाँच गोलले पराजित गरी जित हात पार्यो। यती रातोकै विवेक प्रताप पन्त टुर्नामेन्टको सर्वोत्कृष्ट खेलाडी बन्न सफल भए। त्यसैगरी, यती निलो टिमका एलन न्यौपाने उत्कृष्ट गोलकिपर बन्न सफल भए।
उक्त खुल्ला उमेर समूहको प्रतिस्पर्धामा गिरीश इभेन्ट स्पोर्टिङ क्लब सेकेन्ड रनरअप बन्न सफल भयो भने गिरीश इभेन्ट स्पोर्टिङ क्लबका विकास गौचन सर्वाधिक गोलकर्ता खेलाडी बन्न सफल भए। रोयल वेस्टर्न फुटबल क्लबका जगजित श्रेष्ठ र यति निलो टिमका सुलभ मास्केले पनि सर्वाधिक गोलकर्ता खेलाडीको उपाधि प्राप्त गरे। त्यस्तै, एडिलेड ड्र्यागन फुटबल क्लबले फेयर प्लेको अवार्ड प्राप्त गर्यो। त्यसैगरी, फाइनल प्रतियोगिताको म्यान अफ द म्याच विजेता टिम यती एफसी रातोबाट गोकुल छन्त्यालले हात पारे।
प्रतियोगितामा विजयी टिमले उपाधिसँगै ट्रफी र ४५ सय डलर अष्ट्रेलियन डलर नगद पुरस्कार प्राप्त गर्यो भने उपविजेता टिम यति क्लव निलोले ट्रफी तथा मेडलको साथमा दुई हजार अष्ट्रेलियन डलर पुरस्कार प्राप्त गर्यो । प्रतियोगितामा नकआउटपछिको हरेक गोलमा खेलाडीलाई एक सय डलर प्रोत्साहन पुरस्कार दिने घोषणा गरेको ब्लूबेरी रियल स्टेटले ३० भन्दा बढी गोलकर्ताहरुलाई उक्त पुरस्कार प्रदान गरेको थियो।
११औं कँडेल कन्सल्टेन्सी कपको पैतीस बर्ष माथी उमेर समूहको प्रतीस्पर्धामा पारा पार्कले उपाधि हात पार्यो। रोमाञ्चक फाइनल खेलमा माछापुच्छ्रे एफसीलाई पेनाल्टी सुटाउटमा शून्यका विरुद्ध दुई गोलको अन्तरले हराउँदै पारा पार्क उपाधि जित्न सफल भएको हो। उक्त प्रतियोगिताको फेयर प्ले टीमको अवार्ड भने क्रेगिबर्न ब्रिगेड एससीले हात पार्यो। त्यसैगरी, प्रतियोगिताको प्लेयर अफ द टुर्नामेन्ट राइज लिम्बु बन्न सफल भए। पारा पार्क एफसीबाट कुनाल योन्जनसर्वाधिक गोलकर्ता, पारा पार्क एफसीबाटै समीर तुलाधर उत्कृष्ट गोलकिपरका साथै फाइनलको म्यान अफ द म्याच बन्न सफल भए।
उल्लेख्य सहभागिता सहित सम्पन्न ११औं कँडेल कन्सल्टेन्सी कपमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ, एनआरएनए भिक्टोरीया संयोजक हरी खड्का, भिक्टोरिया स्थित बहुसांस्कृतिक आयोगका पर्शुराम शर्मा लुईटेल, मूख्य प्रायोजक संस्था कँडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कँडेल, न्याभका पूर्वअध्यक्ष तारा गैरे, समुदायका अगुवा जोग लिम्बु, एनआरएन अष्ट्रेलियाका युवा संयोजक बबिन मिश्र, ब्लूबेरी रियल स्टेटका विनित राज शर्मा, महादेब घानुक, द हिमालयन क्लबका अध्यक्ष एवम् सारथी एकाउन्टेन्स एण्ज एडभाइजरबाट केशव सापकोटा लगायत व्यक्तित्वहरु उपस्थित हुनुहुन्थ्यो।
एनआरएनए अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङले खेलमा युवाहरुलाई प्रोत्साहन गर्दै नेपाली समुदायलाई फुटबलमा अगाडी बढाउन यति फुटबल क्लबले गरिरहेको प्रयासको प्रशंसा गर्नुभएको थियो। त्यसैगरी, मूख्य प्रायोजक संस्था कँडेल कन्सल्टेन्सीका डाइरेक्टर राज कँडेलले यो बृहत प्रतियोगितामा यति फुटबल क्लबसंग जोडिन पाउँदा गर्व लागेको बताउनुभयो। उहाँले आफू विद्यार्थी तथा युवाहरुलाई प्रोत्साहन गर्ने कार्यक्रममा सहयोग गर्नका लागि सधै तत्पर रहेको समेत उल्लेख गर्नुभयो।
११ औं कँडेल कन्सल्टेन्सी कप सफलता पूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै आयोजक क्लब यती फुटबल क्लबका अध्यक्ष राज शर्माले भन्नुभयो, " युवाहरुलाई प्रोत्साहन, खेल मार्फत समुदायको शारीरिक तथा मानसिक स्वास्थ्यमा सहयोग, समुदायमा एकता तथा सद्भाव संगै बहुसांस्कृतिक समाजमा मेलमिलाप र नेपाली समुदायको पहिचान हाम्रो उद्देश्य हो। हाम्रो यो उद्देश्यमा सबैको सहयोगको खाँचो हुन्छ, हाम्रो एकल प्रयासले मात्र सम्भव हुँदैन। यसका लागि हामीलाई साथ दिनुहुने सहभागी क्लब तथा खेलाडीहरु, कोच, रेफ्री, प्रायोजक संस्था, नेपाली संघसंस्थाहरु, बहुसांस्कृतिक आयोग तथा सामुदायिक अगुवाहरु, सम्पूर्ण स्वयंसेवक लगायत सम्पूर्ण शुभेच्छुकहरुप्रति आभारी छौं। यहाँहरु सबैको साथ हौसलाले हामीलाई थप अगाडी बढ्ने प्रेरणा मिलेको छ "।
प्रतियोगितामा बालबालीकाको लागि क्रियाकलाप, लेडीज प्यानल्टी सुटआउट, भेट्रन्स फुटवल म्याच, ओपन क्रसबार च्यालेन्ज राखिएको थियो। त्यसैगरी, एजुकेसन एण्ड माईग्रेसन र होम बाईङ एण्ड फाईनेन्सका छुट्टा छुट्टै सुचना स्टलहरु राखीएको थियो भने मेलबर्न भिक्ट्री सामुदायिक प्रशिक्षकहरूद्वारा बच्चाहरूको लागि बिषेश क्लिनिकको व्यबस्था समेत गरीएको थियो।