मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियावासी गुल्मेलीहरुको साझा संस्था गुल्मी समाज भिक्टोरियाले संस्थालाई बहुआयामिक र सृजनात्मक रुपमा अगाडी बढाउंदै लगेको छ। यसका लागि संस्थाले खेलकुद, सांस्कृतिक लगायत विभिन्न विधामा उपसमितिहरु गठन गरी युवाहरुलाई आफ्नो क्षमता तथा कला प्रस्तुत गर्ने प्लाटफर्म सिर्जना गरिरहेको छ।
समुदायलाई क्रिकेट खेलमा अगाडी बढाउनका लागि संस्थाले 'गुल्मी टाइगर्स क्रिकेट क्लब' गठन गरेको छ। २०२१ को अन्तिममा गठन भएको यो क्लब २०२२ को सुरुवातमै भिक्टोरियाको नेपाली समुदायको ठूलो क्रिकेट टुर्नामेन्ट '१७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्ट' सहभागी बन्यो। नयाँ क्लब, नयाँ टिम तथा पहिलो टुर्नामेन्टका बावजुद पनि गुल्मी टाइगर्सले टुर्नामेन्टमा आफ्नो बलियो उपस्थिति जनायो। क्लबले १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्टमा सबैभन्दा अनुशासित टिमको उपाधि हासिल गर्यो। क्लबले गरेको प्रदर्शनलाई लिएर टुर्नामेन्टमा उपस्थित सामाजिक अगुवाहरु तथा टुर्नामेन्ट संयोजक प्रेम राज उप्रेती लगायतले प्रशंसा गर्नुभएको थियो।
आफ्नो त्यो सुरुवाती टुर्नामेन्टको अनुभव तथा हौसला बोकेर गुल्मी टाइगर्स अब कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवल, द हन्ड्रेडका लागि तयार भएको छ। आगामी शनिबार अर्थात् १९ मार्चदेखि सुरु हुने कार्निवलमा गुल्मी टाइगर्स पहिलो दिन रोयल राइनोज क्रिकेट क्लबसंग भिड्नेछ भने दोस्रो दिन अर्थात २० मार्चमा गोर्खाली क्रिकेट क्लबसंग भिड्नेछ। त्यसैगरी, २६ मार्चमा गुल्मी टाइगर्सको खेल द हिमालयन क्लबसंग हुनेछ।
आफूहरु जितको तयारीमा रहेको उल्लेख गर्दै गुल्मी समाज भिक्टोरियाका अध्यक्ष तथा गुल्मी टाइगर्स क्रिकेट क्लबका व्यवस्थापक माधव खरेल भन्नुहुन्छ," कुनै एउटा टुर्नामेन्टको जितभन्दा पनि राम्रो क्रिकेट क्लब बनाउने हाम्रो उद्देश्य हो। हामी युवाहरुलाई प्लाटफर्म मात्र नदिएर उनीहरुको क्षमतालाई निखार्ने अवसर पनि मिलोस् भन्ने चाहन्छौं। त्यसैले विदेशी खेलाडीहरुसंग खेल्ने र सकिने अवसर पनि प्रदान गर्दैछौं "।
उहाँ थप्नुहुन्छ, "न्याभ टुर्नामेन्टबाट सिकेका कुराहरुलाई लागु गरेर तयारी गरिरहेका छौं। अनुशासन र लगनशीलता हाम्रो लागि महत्त्वपूर्ण छ नै, अब द हन्ड्रेडमा हामी विजेता बन्ने तयारी गर्दैछौं। द हन्ड्रेड टुर्नामेन्टमा हामी आफ्नो छुट्टै परिचय बनाउन सफल हुनेछौं भन्नेमा विश्वस्त छौं "।
द हन्ड्रेड टुर्नामेन्टमा गुल्मी टाइगर्स क्रिकेट क्लब टिमबाट विदेशी खेलाडीहरु ज्यासन डग, पल हवेर, लुकास ब्रेट लगायत अम्रिक गौतम, आकाश क्षेत्री, शिवराम अधिकारी, दिपेश गुरुङ, पदम गौतम, किरण कंडेल, हेमु बुढाथोकी, उत्सव सापकोटा, दिवाकर पोखरेल, सरल गौतम, भिष्म पोखरेल, श्रीकृष्ण कार्की, दीपेश खत्री, माधव खरेल, विजय भट्टराई मैदानमा उत्रिनेछन्।
क्लबको स्थापना तथा यो प्रतिस्पर्धात्मक यात्रामा प्रायोजक संस्थाहरुको साथ महत्त्वपूर्ण रहेको बताउंदै गुल्मी समाज भिक्टोरियाका अध्यक्ष माधव खरेलले सम्पूर्ण प्रायोजक संस्थालाई विशेष धन्यवाद दिनुभएको छ। क्लबका लागि हंग्री हाइकर्स रेष्टुरेन्ट, घोथाने लयर्स, भिजा डाइरेक्ट एजुकेशन एण्ड माइग्रेसन र गुडविल फाइनान्सले मूख्य प्रायोजन गरेका छन्। त्यसैगरी क्लबका लागि डायमण्ड स्पोन्सरको रुपमा अष्ट्रेलियन नेशनल एकेडेमी अफ एजुकेशन, क्याम्बरवेल करी हाउसले साथ दिएका छन्।
क्लबको गोल्ड स्पोन्सरको रुपमा स्याफ़्रोन इन्डियन एण्ड नेपलीज रेष्टुरेन्ट, करी वोल्ट इन्डियन रेष्टुरेन्ट, गोल्डेन नाइट्स इभेन्ट एण्ड इन्टरटेनमेन्ट रहेका छन् भने सिल्भर स्पोन्सरमा इन्डियन महल रेष्टुरेन्ट, शिराज इन्डियन रेष्टुरेन्ट र माउन्टेन गेट इन्डियन एण्ड नेपलीज रेष्टुरेन्ट रहेका छन्। त्यसैगरी, ब्रोञ्ज स्पोन्सरमा सवेरा इन्डियन एण्ड नेपलीज रेष्टुरेन्ट, काठमान्डू कटेज नेप्लिज कुसन र पाम्स अन द पार्क रहेका छन् भने भीडिए फाइनान्स सह-प्रायोजक संस्थाको रुपमा रहेको छ।