मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा रहेको नेपाली समुदाय खेल क्षेत्रमा पनि अगाडी बढिरहेको छ। समुदायलाई खेल क्षेत्रमा अगाडी बढाउनका लागि यहाँका नेपाली संस्था तथा क्लबहरु सक्रिय रुपमा लागिरहेका छन्, ती मध्ये एक हो, 'द हिमालयन क्लब'। द हिमालयन क्लबले यस पटक क्रिकेट मेलाको आयोजना गरेको छ। कँडेल कन्सल्टेन्सीको मूख्य प्रायोजन रहेको 'कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवल' को यो दोस्रो सिजन हो।
कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवल २०२२ आगामी शनिबार अर्थात् १९ मार्चदेखि सुरु हुँदैछ। कार्निवलमा यस पटक ८ टिम सहभागी हुने आयोजक क्लब, 'द हिमालयन क्लब'का पब्लिक रिलेसन अफिसर तारा गैरेले जानकारी दिनुभयो। उहाँका अनुसार, सहभागी टिमहरु उपाधिका लागि 'द हन्ड्रेड' प्रतियोगिता खेल्नेछन्। प्रतियोगिताको उपाधि विजेताका लागि पदक र प्रमाणपत्रको साथमा ३ हजार डलर तथा उपविजेताका लागि पदक र प्रमाणपत्रको साथमा १ हजार डलर नगद पुरस्कारको व्यवस्था रहेको छ भने प्रतियोगिताका उत्कृष्ट खेलाडीहरुलाई ट्रफी र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ।
कार्निवलको बारेमा विस्तृत जानकारी दिंदै आयोजक क्लबका पब्लिक रिलेसन अफिसर तारा गैरे भन्नुहुन्छ,"कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवल केवल एउटा प्रतियोगिता मात्र नभएर सिंगो समुदायकै क्रिकेट मेला हो। यो सामाजिक र मैत्रीपूर्ण टुर्नामेन्ट हो। यसलाई अझ सहभागितामूलक बनाउनका मेलाको अन्तिम दिनलाई हामीले पारिवारिक माहोलका साथ समापन गर्नेछौं। उक्त दिनमा बालबालिकाहरुका लागि क्रिकेट क्लिनिक समेत रहनेछ। त्यसैगरी, टुर्नामेन्टमा सहभागी हुन नसक्नुभएको खण्डमा प्रत्यक्ष प्रसारण मार्फत पनि खेल हेर्न सक्नुहुनेछ। विकेट नेपाल र इ-नेपालले टुर्नामेन्टको सेमी-फाइनल तथा फाइनल खेलको प्रत्यक्ष प्रसारण गर्नेछन् "।
कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवल २०२२ का खेल तथा कार्यक्रम आगामी दुई साताका सप्ताहान्त अर्थात् १९ मार्च (शनिबार), २० मार्च (आइतबार), २६ मार्च (शनिबार) र २७ मार्च (आइतबार) का दिन संचालन हुनेछन्। कार्निवल ब्लेक पार्क स्थित द हिमालयन क्लबको होम ग्राउण्डमा १९ मार्च अर्थात् आगामी शनिबार ९ बजेदेखि सुरु हुनेछ। बालबालिकाहरुको क्रिकेट क्लिनिक भने टुर्नामेन्टको अन्तिम दिनमा फाइनल खेलभन्दा अगाडी हुने आयोजक क्लबले जनाएको छ। र, सहभागी बालबालिकाहरुलाई मेडल समेत प्रदान गरिनेछ।
कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवल २०२२ का लागि क्रिकेट भिक्टोरिया, हार्मोनी इन क्रिकेट एसोसिएसन र नेपाली क्लब तथा संघसंस्थाहरुले सहयोग गरेको आयोजक क्लब द हिमालयन क्लबले जनाएको छ।
द हिमालयन क्लब २००९ मा स्थापना भएको थियो। क्रिकेटमा रुची भएका केही साथीहरुको साझा जोशले स्थापना भएको यो क्लब २०११ मा नेपाली समुदायकै पहिलो दर्ता भएको खेल क्लब बन्न पुग्यो। क्लबले हाल खेल मात्र नभई समुदायको एकता तथा समृद्धिका लागि विभिन्न सामाजिक, सांस्कृतिक, मनोरन्जनात्मक कार्यक्रमहरु पनि गरिरहेको वर्तमान अध्यक्ष केशव सापकोटा बताउनुहुन्छ। सरल रेखासंगको कुराकानीमा उहाँले यहाँसम्मको यात्रामा अहम् भूमिका निर्वाह गर्ने टिम सदस्य, सहयोगी संघ-संस्था, प्रायोजक संस्था, खेलाडी, स्वयम्सेवक, शुभेच्छुक लगायत सबैप्रति आभार व्यक्त गर्दै कँडेल कन्सल्टेन्सी क्रिकेट कार्निवल २०२२ मा पनि सोही साथ र सहयोगको अपेक्षा रहेको उल्लेख गर्नुभयो।