मेलबर्न। एक्स्पर्ट होली फेस्टिभलको सम्पूर्ण तयारी पूरा भएको छ। अष्ट्रेलियामा रहेतापनि रंगहरुको पर्व होली उल्लासपूर्ण तवरले मनाउनका लागि यात्री हाउस अफ इभेन्ट्सले भव्य होली कार्यक्रमको तयारी गरेको हो।
रंग, संगीत, खाना तथा मनोरंजनको संगम रहने यस कार्यक्रमको मूख्य प्रायोजक संस्था एक्स्पर्ट एजुकेशनले अष्ट्रेलियामा नयाँ आएका अन्तर्राष्ट्रिय विद्यार्थीलाई नि:शुल्क खानाको भौचर उपलब्ध गराउने भएको छ। त्यसैगरी, होली फेस्टिभलमा पुग्ने पहिलो ५ सय जनालाई एक्स्पर्टको स्टलबाट होली टिसर्ट उपलब्ध हुने बताइएको छ।
सरलरेखासंगको कुराकानीमा एक्स्पर्ट एजुकेशन कन्सल्टेन्सी मेलबर्नका डाइरेक्टर सरोज शर्माले भन्नुभयो," कोभिडका कारण थुनिएर अहिले बाहिर निस्कन पाएका छौं। त्यसैगरी, भर्खर बोर्डर खुलेका कारण नयाँ विद्यार्थीहरु आउनुभएको छ र होली विशेष कार्यक्रम उहाँहरुका लागि चिनजान गर्ने, समुदायमा घुलमिल हुने तथा घरको न्यास्रो मेट्ने माध्यम बन्न सक्छ। यो सकारात्मक ऊर्जा ल्याउने, एकआपसमा सद्भाव बाँड्ने समय हो। यसमा रङ्गहरुको पर्व होलीले उल्लास थप्नेछ। यात्रीले यिनै कुरालाई समेटेर कार्यक्रमको अवधारणा बनाएको छ। त्यसैले समुदायप्रतिको हाम्रो जिम्मेवारीलाई मनन गर्दै हामी कार्यक्रममा जोडिएका हौँ "।
सांगीतिक प्रस्तुतिका लागि विद्यार्थी कलाकारहरुलाई विशेष प्रोत्साहन गरिएको यस कार्यक्रमले एउटा पारिवारिक जमघट, सामुदायिक एकता र नेपालीपनको झल्को दिने आयोजक संस्थाले जनाएको छ। जसअनुसार, बच्चादेखि युवा र वृद्ध अभिभावकसम्मका लागि मनोरन्जनात्मक गतिविधि रहनेछन्। कार्यक्रममा रङ्ग संगै लाइभ डिजे, लाइभ ब्याण्ड, नृत्य प्रस्तुति, नेपाली स्ट्रिट खानाको स्टल, विभिन्न सामुदायिक खानाको स्टल र बालबालिकाका लागि फेस पेंटिंग, जम्पिंग क्यासल लगायत विभिन्न रमाइला गतिविधि रहनेछन्।
होली फेस्टिभल धमाका कार्यक्रमका बारेमा यात्रीका निर्देशक प्रकाश काजी थापा भन्नुहुन्छ, " कार्यक्रमको सबै तयारी सकिएको छ, एकदम उत्साहित छौं भोलिका लागि। कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउने उद्देश्यले केही अगाडीदेखि नै तयारी सुरु गरिसकेका थियौं। केवल होली कार्यक्रम मात्र नभएर नेपाली संस्कृति, परम्परा र स्वादको प्रबर्द्धन गर्ने हाम्रो उद्देश्य रहेको छ। र, अर्को उद्देश्य भनेको कोभिडले निराशा छाएको समयमा सबैमा सकारात्मक ऊर्जा थपौं भन्ने हो "। आफूहरुको यो उद्देश्यमा साथ दिएकोमा निर्देशक थापाले कार्यक्रम मूख्य प्रायोजक संस्था एक्स्पर्ट एजुकेशन कन्सल्टेन्सी मेलबर्नका डाइरेक्टर सरोज शर्मालाई विशेष धन्यवाद दिंदै होली फेस्टिभलमा सहभागिताका लागि सबैलाई आग्रह समेत गर्नुभयो।
एक्स्पर्ट होली फेस्टिभल भोलि अर्थात् मार्च १४ (लेबर डे), सोमबारका दिन हुँदैछ। कार्यक्रम कोबर्ग स्थित हार्मोनी पार्कमा बिहान ११ बजेदेखि राती ९ बजेसम्म संचालन हुने आयोजक संस्था यात्री हाउस अफ इभेन्ट्सले जनाएको छ।