काठमाडौं । अस्ट्रेलियाको कमेरो इभेन्ट्सले नेपाली फिल्म ‘चिसो एस्ट्रे’ को अस्ट्रेलिया प्रदर्शन अधिकार खरिद गरेको छ ।
फिल्मको निर्माण कम्पनी कंगारु क्रिएसन र लोकल सिनेमाले कमेरो इभेन्ट्सलाई अस्ट्रेलियाका लागि फिल्म प्रदर्शन अधिकार बिक्री गरेको हो । कंगारु क्रिएसनका प्रमुख तथा ‘चिसो एस्ट्रे’ फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले कमेरोले ३० हजार अस्ट्रेलियन डलरमा प्रदर्शन अधिकार लिएको जानकारी दिनुभयो ।
अहिलेको चलिरहेको अस्ट्रेलियन डलरलाई नेपाली रुपैयाँमा रूपान्तरण गर्दा यो २७ लाख बराबर हुन आउँछ । कमेरोका सुरज सुवेदी र निर्माता महेशबीच फिल्म प्रदर्शन गर्ने सम्बन्धमा औपचारिक सम्झौतासमेत सम्पन्न भइसकेको छ ।
कमेरो इभेन्ट्सले यसअघि पनि थुप्रै नेपाली फिल्महरु अस्ट्रेलियामा प्रदर्शन गरिसकेका छन् । पहिला पनि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेको अनुभव भएकोले कमेरोलाई फिल्म अधिकार विक्री गरेको निर्माता महेशले बताउनुभयो ।
‘चिसो एस्ट्रे’ ले बाँकी नेपाली फिल्मले भन्दा बढी पैसा पाएको हो । चलेका तथा राम्रा मानिएको ब्यानरले पनि यसअघि बढीमा २० लाखसम्म पाएका थिए । निर्माता महेशबाबुले आफूहरूको आधार क्षेत्र अस्ट्रेलिया नै रहेकाले पनि उठाउने आत्मविश्वासका साथ कमेरोले लगानी गरेको हुनसक्ने बताउनुभयो ।
अस्ट्रेलियाको सिड्नी, एडिलेड र तास्मानियामा कार्यालय रहेको ‘कंगारु एजुकेसन फाउन्डेसनको भगीनी संस्था हो कंगारु क्रिएसन ।
फाउन्डेसनमार्फत अस्ट्रेलिया पुग्ने लगभग सबै विद्यार्थीलाई फिल्म देखाउने लक्ष्य रहेको निर्माता महेशबाबुले बताउनुभयो । त्योबाहेक सब टाइटल गरेर अस्टे«लियाका हलमा समेत फिल्म लगाउने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
दिन्स पाल्पालीको लेखन तथा निर्देशन रहेको फिल्ममा दिव्य देव, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, नवीन लम्साल, सुशील पाण्डे, रवीन तामाङ आदि कलाकारको अभिनय छ ।
यो फिल्ममा फिल्म ४ चैत अर्थात् आउँदो शुक्रबार नेपालमा प्रदर्शन हुँदैछ ।