अष्ट्रेलियाको मेलबर्नमा पाइला टेकेको जति वर्ष भयो, त्यति नै भयो उहाँ नेपाली संस्थाहरुमा सल्लाहकारमा रहेर समुदायको उन्नतिका लागि सक्रिय रहनुभएको। उहाँ अर्थात्, जोग लिम्बु। त्यसो त उहाँ, अष्ट्रेलियामा नआउँदादेखि नै सामाजिक संघसंस्थामा सक्रिय हुनुहुन्थ्यो।
नेपालको पाँचथर पुर्ख्यौली घर हुनुभएका जोग लिम्बुले ब्रिटिश आर्मीमा भर्ती हुनुभएका बुवाका कारण सानैमा परिवारसंगै विदेश घुमफिर गर्ने अवसर पाउनुभयो। तर स्कुलको पढाइको समयमा भने उहाँ नेपाल आउनुभयो। नेपालमै एसएलसी गर्नुभएका जोग लिम्बुको पढाइ अत्यन्त राम्रो थियो, जसका कारण उहाँलाई छात्रवृत्तिमा हंगेरी गएर पढ्ने अवसर मिल्यो। त्यहाँ इलेक्ट्रिकल इञ्जिनियरिङ्गमा पढाइ पूरा गरिसकेपछि उहाँ नेपालमा आएर करिब ७ वर्ष काम गर्नुभयो। त्यसपछि करियर निर्माणकै क्रममा उहाँको विदेश बसाई सुरु भयो।
जोग लिम्बु सन् १९९० मा न्युजिल्याण्ड जानुभयो। न्युजिल्याण्ड बसाईको क्रममा उहाँलाई नेपाली सामाजिक संस्थाको अभाव खड्कियो। त्यसपछि लिम्बु र साथीहरुको पहलमा नेपाली संस्था स्थापना भयो, न्युजिल्याण्ड नेपाली सोसाइटी। एडमण्ड हिलारी संरक्षक रहेर खोलिएको त्यस संथाको उहाँ संस्थापक अध्यक्ष हुनुहुन्छ।
समाजसेवामा बुवाको अत्यन्तै रुची भएका कारण आफूमा पनि त्यसको प्रभाव परेको बताउने जोग लिम्बु सन् २००० मा वसाईसराई गरेर अष्ट्रेलियाको मेलबर्न आउनुभयो। एनआरएनए अष्ट्रेलियाको स्थापनामा अहम् भूमिका खेल्नुभएका उहाँ संस्थाको संरक्षक हुनुहुन्छ भने मेलबर्नको सबैभन्दा पूरानो संस्था न्याभको सल्लाहकार हुनुहुन्छ। उहाँ मेलबर्न आइपुग्दा न्याभ भर्खर-भर्खर मात्र स्थापना भएको थियो। लिम्बुका अनुसार, त्यतिबेला दशैं-तिहार भेलामा समेत एक सयभन्दा बढी नेपाली हुँदैनथे। उहाँलाई न्याभमा रहेर काम गर्ने अवसर मिल्यो, तर उहाँले सल्लाहकारको भूमिका रोज्नुभयो। न्याभमा हालसम्म ९ जना अध्यक्षहरुले कार्यभार सम्हाल्नुभएको छ र यो अवधिभर जोग लिम्बु सल्लाहकारकै भूमिकामा हुनुहुन्छ।
किन सल्लाहकारकै भूमिकामा बस्न मन पराउनुहुन्छ भन्ने प्रश्नमा उहाँ भन्नुहुन्छ,"सल्लाहकार रहेतापनि म सक्रिय रुपमा काममा सरिक हुन्छु। मेरो मान्यता के हो भने, हामी अलिकति अनुभवी व्यक्तिहरुले नयाँ पुस्तालाई अगाडी सार्नुपर्छ, उनीहरुलाई नेतृत्वदायी भूमिका दिनुपर्छ र त्यसमा उनीहरुलाई आवश्यक सहयोग गर्नुपर्छ। यसले गर्दा सामुदायिक सद्भाव, एकता, समुदायप्रतिको जिम्मेवारी एक पछि अर्को नयाँ पुस्तामा हस्तान्तरण हुँदै जान्छ। न्याभमा म सल्लाहकारको भूमिकामा रहँदा नेतृत्वले जति काम गरिरहेको देखेको छु, गर्व लाग्छ "।
न्याभले नेपाली भाषा पाठशालाका लागि गरेको सहयोग, नेपाली बहुसांस्कृतिक केन्द्र निर्माणका लागि गरेको सहयोग, नेपाली समुदायलाई विभिन्न खेल तथा टुर्नामेन्ट मार्फत अगाडी लैजान गरिरहेको प्रयास, कोभिडको समयमा विद्यार्थी लगायत समुदायको सहयोगका लागि गरेको नेतृत्वदायी भूमिका, मानसिक स्वास्थ्यका लागि गरिरहेको हातेमालो, नेपालमा भूकम्प आउँदा सहयोगका लागि खेलेको भूमिका, अन्य नेपाली संघसंथासंगको सहकार्य, मेलबर्न चौतारी रेडियो लगायत काम सम्झिँदा आफू पछिको पुस्ताप्रति र न्याभप्रति गर्व लाग्ने जोग लिम्बु बताउनुहुन्छ।
उहाँ भन्नुहुन्छ," अबको हाम्रो उद्देश्य भनेको नेपाली मूलको अष्ट्रेलियामा हुर्किंदै रहेको नयाँ पुस्तालाई यहाँको प्रधानमन्त्रीसम्म बनाउने हुनुपर्छ। नयाँ पुस्तालाई अष्ट्रेलियाको संसदमा देख्नका लागि हामीहरुले अहिलेदेखि नै गृहकार्य गर्नुपर्छ। यसका लागि न्याभ लगायत यहाँका नेपाली संघसंस्थाहरुले सरकारसंग नजिक रहेर काम गर्नुपर्छ। संगसंगै नयाँ पुस्तालाई नेपाली भाषा, कला, संस्कृति तथा नेपालीपनसंग जोड्ने प्रयास गर्नुपर्छ। मेरो सपना र सुझाव यही हो। र, यो सम्भव छ, किनकी नेपाली समुदाय भनेको अष्ट्रेलियाको बहुसांस्कृतिक समाजमा सबैभन्दा राम्रा समुदाय मध्येमा पर्छ। यदि नयाँ पुस्ता त्यो तहसम्म पुग्यो भने, हाम्रा आवाज सम्बोधन हुनेछन्, नेपाली समुदाय बलियो बन्नेछ। "
हेल्प नेपाल नेटवर्कको संस्थापक उपाध्यक्ष, ओसियाना नेपाली स्पोर्ट्स मिटको संस्थापक सदस्य तथा संरक्षक समेत रहनुभएका जोग लिम्बु विभिन्न संघसंथामा संरक्षक तथा सल्लाहकारको भूमिकामा उत्तिकै सक्रिय हुनुहुन्छ। सामुदायिक काममा सक्रिय रहेर बहुसांस्कृतिक समुदायमा योगदान गरे वापत २०१३ मा भिक्टोरियाको बहुसांस्कृतिक आयोगले उहाँलाई सम्मान गरेको थियो। त्यतिबेला भिक्टोरियाका गभर्नरले लगाइदिनुभएको त्यो तक्मा सामाजिक काममा अझ सक्रिय रहने प्रेरणा बनेको उहाँ बताउनुहुन्छ।
भिक्टोरियामा नेपाली संघसंस्थाहरु धेरै भए भन्ने कुरालाई आफूले नमान्ने बताउँदै उहाँ भन्नुहुन्छ,"एउटा संस्थाले सबैकुरा समेट्न सक्दैन। अहिले नेपाली समुदाय बढिरहेको छ, यस्तो अवस्थामा सामुदायिक संस्थाहरुको सक्रियता आवश्यक हुन्छ। सबै संस्थाका आ-आफ्ना उद्देश्य हुन्छन्। संथागत हिसाबले एक-अर्कालाई सहयोग गरेर अगाडी बढ्यौं भने सिंगो समुदायलाई माथि लैजान सक्छौं। भिक्टोरियाको नेपाली समुदाय भनेको अष्ट्रेलियाभरको नेपाली समुदाय मध्येमा सबैभन्दा एकताबद्ध र सद्भावपूर्ण समुदायमा पर्छ। "
जोग लिम्बु हाल न्याभको रजत जयन्ती समारोहको स्टेयरिङ्ग कमिटिमा हुनुहुन्छ। उहाँका अनुसार, न्याभको यो २५औं वार्षिकोत्सवमा न्याभद्वारा नेपाली समुदायमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान, न्याभका लागि योगदान गर्नुभएका संस्थापक तथा अध्यक्षहरुलाई सम्मान, २५ वर्षमा न्याभले नेपाली समुदायलाई के दिन भन्ने समिक्षागत प्रस्तुती, २५ वर्षको कामको स्मारिका प्रस्तुत गरिनेछ। कार्यक्रममा सांसद, मन्त्री, स्थानीय नेता तथा अधिकारीहरुको उपस्थिति रहने उल्लेख गर्दै चार महिनादेखि विभिन्न टास्कफोर्स छुट्टाएर काम गरिरहेको हुनाले कार्यक्रम भव्य तथा व्यवस्थित हुनेछ भन्नेमा आशावादी रहेको उहाँ बताउनुहुन्छ।
पेशाले इलेक्ट्रिकल इन्जिनियर तथा एए कन्सल्टेन्सीका संचालक जोग लिम्बुले अष्ट्रेलियाको विद्धुतीय क्षेत्रमा प्रोजेक्ट डाइरेक्टरको रुपमा काम गर्नुभएको छ। उहाँ आफ्नो पेशागत अनुभवसंगै समाजसेवाको भावनालाई नेपालमा पनि पुर्याउन चाहनुहुन्छ। उहाँले हाल विभिन्न तवरबाट पाँचथरको आफ्नो पुर्ख्यौली गाउँ विकासका लागि सहयोग गरिरहनुभएको छ। आफ्नो उक्त कामलाई फैलाउंदै नेपालको समृद्धिका लागि योगदान गर्ने आफ्नो भावी योजना रहेको जोग लिम्बु बताउनुहुन्छ।