मेलबर्न। अन्तर्राष्ट्रिय महिला दिवस नजिकिंदै गर्दा अष्ट्रेलियाको नेपाली समुदायमा पनि विभिन्न कार्यक्रमहरु आयोजना हुन थालेका छन्।
यसैक्रममा दिदीबहिनी समाज भिक्टोरियाले पनि महिला दिवस विशेष कार्यक्रम आयोजना गर्नेभएको छ। अष्ट्रेलिया मात्र नभई नेपालमा बसोवास गरिरहेका महिलाहरुको सशक्तिकरणका लागि क्रियाशील यस संस्थाले आगामी मार्च ११, शुक्रबारका दिन कार्यक्रम गर्नेभएको हो।
यसपटकको नारा 'पूर्वाग्रह तथा विभेदलाई तोडौं' अर्थात् 'ब्रेक द बायस' भन्ने थिममा रहेर कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक अञ्जना नेपाल बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ, "यसपटक हामीले विशेषगरी अष्ट्रेलियामा आएर नेपाली महिलाहरुले गरेको संघर्ष र सफलतालाई बाहिर ल्याउने प्रयास गर्नेछौं। हामीले अष्ट्रेलिया आएका महिलाहरुको कथा समेटिएको पुस्तक प्रकाशन गर्नेभएका छौं र उक्त पुस्तकको कभर यो कार्यक्रम मार्फत सार्वजनिक गर्नेछौं। उक्त पुस्तकमा ५० कथा रहनेछन्। "
संयोजक नेपालका अनुसार, कार्यक्रममा महिला उद्धमीहरुलाई सम्मान सेसन पनि रहेको छ।उक्त सेसनको उद्देश्य बारे प्रष्ट पार्दै उहाँ भन्नुहुन्छ, "हामीले ड्राइभिङ्ग, फोटोग्राफी, नेपाली खाना, केक, चाइल्डकेयर बिजनेस, ब्युटी सलुन देखि लिएर ग्रोसरी लगायत विभिन्न क्षेत्रमा आबद्ध उद्धमी महिलाहरुलाई सम्मान गर्नेछौं। महिला उद्धमीले लगानी र नेतृत्व गरेको साना-ठूला सबै उद्धम यसमा जोडीनेछन्। हालसम्म १२ जना उद्धमी महिलाहरु हाम्रो सम्पर्कमा आउनुभएको छ। पुरुषको बाहुल्यता रहेको बजारमा अगाडी बढिरहेका महिला उद्धमीहरुलाई हौसला प्रदान गरौँ, महिला उद्धमशीलतामा जोड दिऔं भन्ने हाम्रो उद्देश्य हो। हाम्रो यो उद्देश्यले दिर्घकालिन र प्रभावकारी बनाउनका लागि हाम्रो संस्था अन्तर्गत उद्धमी महिलाहरुको कमिटि निर्माण गर्ने निर्णय पनि गरेका छौं। भिक्टोरियाभर रहेका दिदीबहिनीलाई समेट्ने गरी विभिन्न काउन्सिलमा कमिटिहरु गठन गरिनेछ"।
दिदीबहिनी समाज भिक्टोरियाको यो विशेष कार्यक्रममा संस्थाकी अध्यक्ष डा. जमुना पराजुलीले अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास तथा महत्त्व र दिदीबहिनी समाजले महिला सशक्तिकरणका लागि गरिरहेका प्रयासहरुबारे प्रकाश पार्नुहुनेछ।
महिला सशक्तिकरणका लागि महिला मात्र होइन, पुरुषको पनि हातेमालो आवश्यक रहन्छ भन्ने आफूहरुको धारणा रहेकोले कार्यक्रममा पुरुष सहभागिता पनि रहने संयोजक अञ्जना नेपाल बताउनुहुन्छ। कार्यक्रम बालमैत्रीपूर्ण वातवरणमा हुनेभएकोले सपरिवार सहभागी हुन सकिने उहाँले बताउनुभएको छ। कार्यक्रममा नेपाली पहिचान बोक्ने सयथरी बाजा लगायत गीतमा सांस्कृतिक प्रस्तुती, प्रेरणामुलक अन्तरक्रिया कार्यक्रम तथा डिनर समेत रहेको छ।
कार्यक्रमको संचालन संयोजक नेपालले गर्नुहुनेछ। त्यसैगरी, उद्ध्यमी सेसनको सहजीकरण रोशनी श्रेष्ठले गर्नुहुनेछ भने प्रभा श्रेष्ठ अन्तिम सेसनमा सहजीकरण गर्नुहुनेछ। कार्यक्रम आगामी शुक्रबार ग्लेनरोय युनाइटिङ्ग चर्चमा बेलुका ४ बजेदेखि संचालन हुनेछ।