मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा 'न्याभ कप' को आयोजना हुनेभएको छ। भिक्टोरियावासी नेपाली समुदायले आयोजना गर्ने सबैभन्दा ठूलो खेल प्रतियोगिता 'न्याभ कप' नेपलीज एसोसिएसन अफ भिक्टोरिया 'न्याभ' ले आयोजना गर्दै आएको छ। नेपाली समुदायका क्रिकेट क्लबहरुको महासंग्राम 'न्याभ कप' को यो १८औं संस्करण हो।
१८ औं न्याभ कप आगामी १५ जनवरी, २०२३ देखि सुरु हुने आयोजक संस्थाले जनाएको छ। न्याभ कपका टुर्नामेन्ट खेलहरु हरेक सप्ताहान्तमा हुने गर्दछन्। यो टुर्नामेन्ट करिब दुई महिनासम्म चल्दछ। यस
पालीको टुर्नामेन्ट अझ भव्य र नयाँ उत्साहका साथ आयोजना गर्न लागिएको आयोजक संस्था न्याभका खेल संयोजक दीप चन्द बताउनुहुन्छ। उहाँ भन्नुहुन्छ,"न्याभ भिक्टोरियाका नेपालीहरुको सबैभन्दा पूरानो संस्था हो। न्याभले रजत जयन्ती मनाइसकेको, खेल क्लबहरु वृद्धि भइराखेको, समुदायको सहभागिता बढेको र आर्थिक रुपमा पनि हाम्रो समुदाय बलियो हुँदै गएको यो अवस्थामा पक्कै पनि न्याभ कप अझ बृहत, भव्य र रचनात्मक हुनेछ। यसका लागि हामी अहिलेदेखि नै तयारीमा जुटेका छौं "।
न्याभ कप २०२३ को मूख्य प्रायोजन म्याक्सीम्याक्स एजुकेशन एण्ड माइग्रेसन सर्भिसेजले गर्नेभएको छ। मूख्य प्रायोजनको घोषणा गर्दै म्याक्सीम्याक्स एजुकेशन एण्ड माइग्रेसनका डाइरेक्टर शंकर धरेलले विद्यार्थी तथा युवाहरुका लागि खेलमा अवसर सिर्जना गर्ने, नेपाली समुदायमा एकता र सद्भाव बढाउंदै समुदायलाई स्थापित गर्न सहयोग गर्ने न्याभ कपमा मूख्य प्रायोजकका रुपमा जोडिन पाउँदा गौरव महसुस भएको बताउनुभयो। त्यसैगरी, म्याक्सीम्याक्सका अपरेसन म्यानेजर विवेक श्रेष्ठले समुदायमा हातेमालो गर्न तथा समुदायका हितमा अगाडी बढ्नका लागि यो राम्रो अवसर रहेको उल्लेख गर्दै क्लब, व्यवसायी लगायत समग्र समुदायलाई हातेमालो गर्न अनुरोध गर्नुभयो।
न्याभ कपका अघिल्ला वर्षहरुमा संयोजकमा रहनुभएका प्रेम राज उप्रेती यस वर्ष आयोजक संस्था न्याभको अध्यक्ष रुपमा रहनुभएको छ। त्यसैले पनि न्याभ कप यस वर्ष अझ उत्साहजनक हुने नेपाली समुदायले अपेक्षा गरेको छ। यस सन्दर्भमा अध्यक्ष उप्रेती भन्नुहुन्छ," युवा भाइहरुलाई अवसर दिनुपर्छ भन्ने सधै मेरो मान्यता हो। भाइहरुले न्याभ कपको संयोजन गरिरहनुभएकोले अझ नयाँ कुराहरु आउनेछन् , थप रचनात्मक हुनेछ भन्नेमा म आशावादी छु। र, विगतका वर्षमा संयोजकको रुपमा रहेकाले मेरो अनुभवका आधारमा उहाँहरुलाई मार्गनिर्देशन गर्नेछु। यसलाई एक जनाको जिम्मेवारी नभई समग्र टिमको मेहनत र समग्र समुदायको सहभागिताका रुपमा हेरिनुपर्छ। अहिले मूख्य प्रायोजनका रुपमा म्याक्सीम्याक्स एजुकेशन एण्ड सर्भिसेज टिम आउनुभएको छ। उहाँहरुप्रति आभारी छौं र यसैगरी सबैलाई हातेमालो गरिदिनुहुन अनुरोध गर्न चाहन्छौं। "