सिड्नी। अष्ट्रेलियाका बाढीपिडित नेपालीका लागि गैरआवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले सहयोग कार्य सुरु गरेको छ।
संस्थाले पहिलो चरणमा न्यू साउथ वेल्सको उत्तरी क्षेत्रमा पर्ने लिज्मोरवासी नेपालीहरुलाई अत्यावश्यक खाद्यान्न वितरण गरेको हो। न्यू साउथ वेल्स र क्विन्सल्याण्डको सिमानामा पर्ने यो क्षेत्र अहिले बाढीबाट बढी प्रभावित क्षेत्रमा पर्छ।
लिज्मोरवासीका लागि एनआरएनए अष्ट्रेलियाको तर्फबाट समिर खतिवडा र ज्योति सिटौलाले खाद्यान्न वितरणमा समन्वय गर्नुभएको थियो।
एनआरएनए अष्ट्रेलियाले बाढीपिडितहरुका लागि हाल गरिरहेको प्रयासबारे बताउँदै संस्थाका कोषाध्यक्ष अनिल पोखरेल भन्नुहुन्छ,"अहिलेको बाढी प्रभावित क्षेत्रहरु नेपालीहरुको पनि वसोवास रहेको क्षेत्रहरु पर्दछन्। उहाँहरुले बाढीबाट खाद्यान्न, लत्ताकपडा मात्र नभई प्रमाणपत्रहरु समेत गुमाउनु परेको खबर पाइरहेका छौं। ती प्रमाणपत्रहरुका लागि हामीले सहयोग गर्ने नै छौं। तर अहिले तत्कालका लागि उहाँहरुलाई खाद्यान्नको आवश्यकता परेकोले हामीले पहिलो चरणमा खाद्यान्न वितरण गरेका हौँ "।
कोषाध्यक्ष पोखरेल भन्नुहुन्छ, "उहाँहरुसंग हामी पनि छौं, उहाँहरु एक्लो हुनुहुन्न भन्ने महसुस गराउन चाहन्छौं। त्यसैले छिट्टै उहाँहरुलाई भेट्न जाने योजनामा छौं। एनआरएनएन अष्ट्रेलिया भनेको अष्ट्रेलियामा बस्ने हरेक नेपालीको अभिभावक संस्था भएकोले यो हाम्रो कर्तव्य पनि हो "। एनआरएनए अष्ट्रेलियाले बाढीपिडितहरुका लागि गो फन्ड मी मार्फत सहयोग अभियान पनि संचालन गरिरहेको छ। कोषाध्यक्ष पोखरेलका अनुसार, उक्त सहयोग अभियानबाट सहयोग संकलन हुन समय लाग्ने हुनाले हालका लागि अत्यावश्यकीय खाद्यान्न वितरण गरिएको हो।
विगत दुई हप्तादेखी निरन्तर परेको वर्षाका कारण न्यू साउथ वेल्स र क्विन्सल्याण्डका विभिन्न ठाउँमा बाढी आएको छ। बाढीपिडितहरुका लागि अष्ट्रेलिया सरकारले पनि सहयोग गरिरहेको छ।