मेलबर्न। प्राकृतिक विपत्ति संसारको कुन ठाउँमा कतिबेला आइपुग्छ थाहा हुँदैन। अष्ट्रेलियाको शेपार्टन लगायत उत्तरी क्षेत्रमा गत महिना भिषण बाढी आयो। बाढीबाट त्यहाँ बसोवास गरिरहेका नेपाली लगायत समग्रलाई असर गर्यो। बाढी पिडितहरुलाई भौतिक, भावनात्मक र आर्थिक सहयोगको खाँचो महसुस गरी मीना मल्लले सहयोगको हात अगाडी बढाउनुभयो। आफ्नो वरपरका व्यक्तिहरुलाई उहाँले खाना, प्राथमिक उपचार, सरसफाई सामाग्री सहयोग गर्न थाल्नुभयो। 'फुडसेयर' नामक संस्था संगको सहकार्यको अनुभवले तत्कालै सहयोगमा खट्न सहयोग पुगेको उहाँ बताउनुहुन्छ।
बाढी पिडितहरुका लागि उक्त पहिलो चरणको सहयोग मात्र प्रयाप्त थिएन। बस्तिको उक्त अवस्थालाई सामान्य स्थितिमा फर्काउनका लागि थप सहयोगको खाँचो छ भन्ने भन्ने सोंचका साथ मीना मल्लले सामाजिक संजाल मार्फत नेपाली समुदायमाझ सहयोगको आव्हान गर्नुभयो। फेसबुकमा १५ अक्टोबरमा 'ग्रुप' बनाई गरिएको त्यो आव्हानमा भिक्टोरियाबासी सबै नेपालीले चासो व्यक्त गर्न थाल्नुभयो। छोटो समयमा नै धेरै व्यक्तिहरु जोडिंदा अपेक्षाभन्दा बढी सहज तरिकाले सहयोग जुटेको बताउनुहुन्छ मीना मल्ल।
उहाँ भन्नुहुन्छ," सायद हामी नेपालीको रगतमै त्यो संस्कार छ, भावना छ। हामी कसैको दु:ख हेर्न सक्दैनौं, एकतामा विश्वास गर्छौं। मेरो प्रयासमा जसरी सबैले साथ दिनुभयो, साँच्चै नेपाली एकता र सद्भाव हामीले कहीं गएपनि भुलेका छैनौं भन्ने अनुभव मैले गरें। आदरणीय दाइहरु-दिदीहरुले जसरी मेरो अभियानमा साथ दिनुभयो, म कृतज्ञ छु। न्याभ, एनएनआरएनए, क्रेगीबन नेपलीज एथनिक स्कुल, फार-वेस्टर्न नेपलीज सोसाइटी भिक्टोरिया, जनसम्पर्क समिति अष्ट्रेलियाप्रति आभारी छु। यसमा विशेषगरी सामाजिक अगुवा तथा न्याभका पूर्व अध्यक्ष राम गुरुङ दाइलाई सम्झन चाहन्छु। उहाँले सुरुवातदेखि नै मलाई सहयोग गर्नुभयो, नेपाली समुदायलाई यस कार्यमा एक बनाउनका लागि पनि उहाँको धेरै ठूलो भूमिका रह्यो। "
मीना मल्लको नेतृत्वमा संकलित ४ हजार ५ सय डलर शेपार्टन फुडसेयरलाई हस्तान्तरण गरिएको छ। जसमध्ये नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)ले पेपाल मार्फत १५ सय डलर पहिले नै हस्तान्तरण गरेको थियो। न्याभका पूर्व अध्यक्ष राम गुरुङले आफ्नो व्यक्तिगत तर्फबाट पिडित तथा स्वयंसेवकहरुका लागि खाना वितरण गर्नुभएको थियो। त्यसैगरी उहाँले राहत स्वरुप खाद्यान्न समेत वितरण गर्नुभयो। त्यसैगरी, दिदिबहिनी समाज भिक्टोरियाले देउसी-भैलो मार्फत संकलित रकम तथा खाद्यान्न सामग्री वितरण गरेको थियो।
रकम हस्तान्तरण कार्यक्रममा अतिथिको रुपमा सहभागी स्थानिय अधिकारीहरुले अभियन्ता मीना मल्लको सहयोगका लागि तत्कालै जुट्ने साहस र आफ्नो समुदायमा सहयोगको आव्हान गर्ने कदमको प्रशंसा गर्नुभएको थियो। उहाँहरुले नेतृत्वमा हुनुपर्ने गुण अभियन्ता मल्लमा देखिएको भन्दै यस अभियानका लागि विशेष आभार व्यक्त गर्नुभयो। अतिथिहरुले नेपाली समुदायलाई धन्यवाद दिंदै नेपाली सामुदायिक एकता, सद्भाव र सहयोगको भावनाको प्रशंसा समेत गर्नुभयो।