भिक्टोरियाको नेपाली समुदायको खेल सन्दर्भमा न्याभको नाम अग्रस्थानमा आउने गर्दछ। न्याभले यहाँका नेपाली क्लब तथा खेलाडीहरुलाई अवसर प्रदान गर्दै उनीहरुलाई अगाडी बढाउनका लागि बृहत् खेलकुद कार्यक्रमहरुको आयोजना गर्दै आएको छ। न्याभको नयाँ कार्यसमितिले यो कार्यलाई निरन्तरता दिंदै थप प्रभावकारी ढंगले अगाडी बढ्नका लागि खेलकुद संयोजक पदमा दीप चन्द (दीपक बहादुर चन्द) लाई चयन गरेको छ।
बैतडीका दीप चन्द स्कुल तहदेखि नै खेलकुदमा सक्रिय हुनुहुन्थ्यो। उहाँ स्कुल र कलेज तहमा भलिबल खेलाडीको रुपमा चिनिनुहुन्थ्यो। आठ कक्षामा पढ्दा नै सामुदायिक क्लब खोलेर नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका चन्द त्यसपछि पढाइको सिलसिलामा कन्चनपुर, काठमाडौं हुँदै अष्ट्रेलिया आइपुग्दासम्म पनि खेलकुद क्षेत्रमा निरन्तर सक्रिय रहनुभयो। उहाँ अष्ट्रेलिया आएपछि खेलकुद सम्बन्धि संस्था तथा कार्यक्रममा व्यवस्थापक, संयोजक लगायत भूमिका निर्वाह गर्दै आउनुभएको छ। रोयल वेस्टर्न क्लब र फारवेस्टर्न हनटर्समा आबद्ध चन्दले न्याभको खेलकुद संयोजक पद आफ्ना लागि ठूलो अवसर मान्नुहुन्छ।
न्याभमा कहिलेदेखि आबद्ध हुनुहुन्छ?
न्याभका सामाजिक काम र न्याभ क्रिकेट टुर्नामेन्टमा म प्रेम राज उप्रेती दाइको उत्प्रेरणाले अष्ट्रेलिया आएदेखि नै क्रियाशील रहँदै आएको थिएँ। २०२१ को न्याभ कपमा मैले उत्कृष्ट स्वयमसेवकको सम्मान पनि पाएको थिएँ। त्यसपछि मल्टिकल्चरल फुटी टुर्नामेन्टमा नेपालले पहिलो पटक सहभागिता जनायो, जसको नेतृत्व न्याभले गरेको थियो। त्यसमा म उपसंयोजक रहेको थिएँ र हामीले उपाधि पनि जितेका थियौं।
न्याभ खेलकुद संयोजकको तर्फबाट अबका योजना कस्ता रहनेछन् ?
न्याभ क्रिकेट कप, मल्टिकल्चरल सकर टुर्नामेन्ट लगायत अहिलेसम्म भइरहेका खेल कार्यक्रमहरु निरन्तर रहनेछन्। नयाँ खेल पनि रहनेछन्। भलिबल खेल र इन्टरस्टेट प्रतियोगिताहरुलाई मैले प्राथमिकतामा राखेको छु। टेबल टेनिस खेल अरु संघसंस्थाहरुले भिक्टोरियाभित्र मात्र गरिरहेका छन्, मैले चाहिं यसलाई बृहत् बनाउनका लागि सबैसंग हातेमालो गर्दै यसलाई इन्टर स्टेट लेभलमा आयोजना गर्ने लक्ष्य राखेको छु। त्यसैगरी एथलेट पनि जोडिनेछ। जे होस्, खेलको हरेक पाटोलाई जोड्ने, सहभागिता बढाउने, खेलमा समुदायको सक्रियता बढाउने र समुदायको समृद्धिमा खेल क्षेत्रबाट योगदान गर्न हामी हरसम्भव प्रयासरत रहनेछौं।
नेपाली समुदायको खेलकुद भविष्य कस्तो देख्नुहुन्छ?
नेपाली समुदाय खेलकुद क्षेत्रमा अब्बल देखिन्छ। तर समस्या के छ भने, खेलाडीहरु सबै विद्यार्थी छन्। उनीहरुले पढाइ अनि कामबाट समय निकालेर अभ्यास गर्ने र प्रतियोगितामा सहभागी हुने गर्नुपर्दछ। जसले गर्दा उनीहरुले खेलमा आफ्नो शतप्रतिशत दिन सकिरहेका छैनन्। जसले गर्दा समुदायको संगै उनीहरुको पनि खेल करियर माथि पुग्न सकेको छैन। यसलाई मध्यनजर गर्दै खेलाडी विद्यार्थीलाई कसरी सहयोग गर्न सकिन्छ, खेलमा कसरी प्रोत्साहन गर्न सकिन्छ भन्ने कुरामा म जोड दिनेछु। र, यसका लागि अन्य संघसंस्थाहरुसंग पनि सहकार्य गर्दै अगाडी बढ्नेछौं।
यहाँको बहुसांस्कृतिक समुदायमा नेपाली समुदायलाई खेलकुद क्षेत्रमा चिनाउनका लागि कस्तो तयारी गर्नुपर्ला?
त्यसका लागि हामीले आफूभित्र मात्र प्रतियोगिताहरु आयोजना गरेर हुँदैन। बहुसांस्कृतिक प्रतियोगिताहरुको आयोजना गर्नुपर्छ र अन्य समुदायले आयोजना गर्ने प्रतियोगितामा पनि हामी सहभागी हुनुपर्छ। यसले खेलमा अगाडी बढ्न मात्र नभई नेपाली समुदायको परिचय स्थापित गर्न पनि सहयोग पुग्नेछ भने आपसी सद्भाव पनि बढ्नेछ।
अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ?
नेपाली समुदायको एकता यहाँ पनि उदाहरणीय छ। यो एकतालाई कायम राख्दै समुदायलाई अगाडी बढाउन जुटौं।