मेलबर्न । अस्ट्रेलियाले दक्ष कामदार तथा अभिभावक भिसामा थप खुकुलो गर्ने भएको छ ।
अस्ट्रेलियाका ट्रेजरर जिम चाल्मरले सार्वजनिक गर्नुभएको बजेटमा दक्ष कामदार तथा अभिभावक भिसालाई दोब्बर बनाउने उल्लेख छ ।
बजेटमार्फत सार्वजनिक कार्यक्रम अन्तर्गत आगामी ४ वर्षका लागि अस्ट्रेलियाको अध्यागमन क्षेत्रलाई अझ प्रभावकारी बनाउन करिब ६ सय मिलियन डलरसमेत छुट्याइएको छ ।
गृह मन्त्रालयमा सार्वजनिक गरिएको सूचनाअनुसार दक्ष कामदार भिसाको संख्या आगामी आर्थिक वर्ष २०२२र०२३ मा ७९ हजारबाट १ लाख ४२ हजार पुर्याइएको छ । यस्तै अभिभावकलाई दिइने भिसासमेत ४ हजार ५ सयबाट बढाएर ८ हजार ५ सय बनाइएको छ ।
अस्ट्रेलियामा कोरोना भाइरसको संक्रमणपछि कामदार अभाव भएका कारण उक्त अभावलाई पूरा गर्न दक्ष कामदार भिसाको संख्या वृद्धि गरिएको बताइएको छ । अस्ट्रेलियामा हरेक वर्षका लागि छुट्याइएको सीमित संख्यामध्येमा केही भिसालाई कम गरेर यी दुई भिसालाई बढाइएको हो । अस्ट्रेलियाले गत वर्ष जम्मा १ लाख ६५ हजार आप्रवासीलाई भिसा प्रदान गरेको थियो । उक्त संख्यालाई बढाएर १ लाख ९५ हजार पुर्याएको बजेटमा उल्लेख छ ।
गृह मन्त्रालयमा उपलब्ध जानकारी अनुसार श्रीमान् वा श्रीमतीलाई दिइने पार्टनर भिसामा भने करिब आधा कटौती गरिएको छ । यस्तै व्यावसायिक व्यक्ति तथा अन्तर्राष्ट्रिय ख्याति कमाएका व्यक्तिलाई दिइने भिसामा पनि अत्यधिक कटौती गरिएको छ । जानकारीअनुसार कार्यक्षेत्रबाट गरिने स्पोन्सर भिसाको संख्या २२ हजारबाट ३५ हजार पुर्याइएको छ भने स्वतन्त्र रूपमा आउने दक्ष कामदारको संख्या ६ हजार ५ सयबाट ३२ हजार पुर्याइएको छ ।
दुर्गम क्षेत्रमा देखिएको कामदार अभाव पूरा गर्ने उद्देश्यले उक्त क्षेत्रमा छुट्याइएको भिसाको संख्यासमेत ११ हजारबाट ३१ हजार पुर्याइएको छ । तर पार्टनर भिसाको संख्या भने ७२ हजारबाट ४० हजारमा झारिएको छ । गत वर्ष दक्षताका आधारमा दिइने भिसाको संख्या ७६ हजार ६ सय रहेकामा उक्त संख्यालाई बढाएर १ लाख ४२ हजार पुर्याइएको छ भने पारिवारिक भिसाअन्तर्गत दिइने संख्यालाई ८० हजारबाट घटाएर ५२ हजार बनाइएको छ ।