मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा खेलकुद र सामाजिक कामलाई समानान्तर तरिकाले अगाडी बढाइरहेको रोयल वेस्टर्न क्लबले "एक्स्पर्ट कप २०२२" को आयोजना गरेको छ। रोयल वेस्टर्न क्लबले विशेषगरी नेपाली समुदायलाई फुटबल खेलका लागि प्रोत्साहन गरिरहेको छ, जसको निरन्तरता स्वरुप यो बृहत सकर टुर्नामेन्टको आयोजना गरिएको हो।
भिक्टोरियामा मात्र सिमित नभई यस सकर टुर्नामेन्टले अन्य राज्यमा बस्ने नेपाली समुदायलाई पनि समेट्ने प्रयास गरेको छ। टुर्नामेन्ट संयोजक रोशन दाहाल भन्नुहुन्छ," यति बृहत टुर्नामेन्ट हामीले पहिलो पटक आयोजना गर्दैछौं। यसमा अष्ट्रेलियाका अन्य राज्यका क्लब तथा टिमहरु पनि सहभागी हुनुहुनेछ। युवा खेलाडीहरुको एक्स्पर्ट कपसंगै 'बेटर चोइस फरएभर योङ्ग कप' पनि रहनेछ। 'बेटर चोइस फरएभर योङ्ग कप' ३५ वर्ष माथिका व्यक्तिहरुका लागि आयोजना गरेका हौँ। त्यसैगरी महिलाहरुको समूह र बालबालिकाको समूहका लागि पनि कार्यक्रम रहेको छ"।
उहाँ भन्नुहुन्छ," एक्स्पर्ट कपको विजेता टिमले नगद पुरस्कार $५००० लगायत ट्रफी, मेडल तथा सर्टिफिकेट तथा फर्स्ट रनर अप टिमले नगद पुरस्कार $२५०० लगायत ट्रफी, मेडल तथा सर्टिफिकेट प्राप्त गर्ने छन् भने बेटर चोइस फरेभर योङ्गमा विजय हासिल गर्ने टिमले नगद पुरस्कार $१५०० लगायत ट्रफी, मेडल तथा सर्टिफिकेट तथा फर्स्ट रनर अप टिमले नगद पुरस्कार $८०० लगायत ट्रफी, मेडल तथा सर्टिफिकेट प्राप्त गर्ने छन् "। यही शनिबार र आइतबार अर्थात अक्टोबर १५ र १६ तारिखका दिन हुने टुर्नामेन्टमा एक्स्पर्ट कपतर्फ १६ टिम र बेटर चोइस फरएभर योङ्गतर्फ ७ वटा टिम सहभागी हुनेछन्। टुर्नामेन्ट 9 McKechnie St, St Albans VIC ३०२१ स्थित Westvale Olympic FC Ground मा हुनेछ।
खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले टुर्नामेण्टमा क्वाटर फाइनल देखि म्यान अफ द म्याच, टुर्नामेण्ट बेस्ट प्लेयरलाई नगद पुरस्कार $५०० लगायत ट्रफी र सर्टिफिकेट, टप स्कोरर अवार्डका लागि नगद पुरस्कार $२५० लगायत ट्रफी र सर्टिफिकेट, बेस्ट गोलकिपरलाई नगद पुरस्कार $२५० लगायत ट्रफी र सर्टिफिकेट, फेयर प्ले टिमलाई नगद पुरस्कार $२०० लगायत ट्रफी र सर्टिफिकेट, प्लेयर अफ द टुर्नामेण्टलाई नगद पुरस्कार $२०० रहेको छ भने अन्य व्यक्तिगत क्यास पुरस्कार पनि रहेको छ उक्त पुरस्कार टुर्नामेण्टको संचालनको क्रममा जानकारी गराइने क्लबका सहसंयोजक तथा सकर टुर्नामेण्टका सदस्य शसेंद्र गौतम केशीले बताउनुभयो।
क्लबका उपाध्यक्ष तथा कार्यक्रम संयोजक रोशन दाहालले सकर टुर्नामेन्टसंगै दशैं तिहार विशेष कार्यक्रम समेत आयोजना गरिएको जानकारी गराउनुभयो। सामुदायिक काममा पनि क्रियाशील क्लबले तामाङ्ग सोसाइटी अफ भिक्टोरियासंगको सहकार्यमा दशैं तिहार विशेष कार्यक्रम आयोजना गर्नेभएको हो। संयोजक दाहालले सामुदायिक एकता, सद्भाव र समृद्धि नै क्लबको मूख्य उद्देश्य रहेकोले खेलको माध्यमबाट सबैलाई जोड्ने प्रयास गरिएको बताउनुभयो। उहाँले टुर्नामेन्टसंगै दशैं तिहार विशेष कार्यक्रममा सहभागी भइदिन सबैलाई आग्रह समेत गर्नुभयो।
रोयल वेस्टर्न क्लबका अध्यक्ष बम योन्जनले आफ्नो क्लबले यस टुर्नामेण्टको आयोजना गर्न पाउँदा खुशी व्यक्त गर्दै यस टुर्नामेण्टलाई संचालनमा ल्याउन क्लबको नियमित मुख्य प्रायोजक एक्स्पर्ट एडुकेसन एण्ड भिसा सर्भिसेसका डाइरेक्टर सरोज शर्मा, बसन्त पोख्रेल, बेटर चोइस परिवार लगायत सम्पूर्ण प्रतिनिधिहरु प्रति हार्दिक आभार व्यक्त गर्नुभयो।