मेलबर्न। नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले अवार्ड कार्यक्रम आयोजना गर्ने भएको छ। अष्ट्रेलियाको भिक्टोरियावासी नेपाली समुदायको पूरानो तथा अभिभावक संस्था न्याभले आफ्नो वार्षिकोत्सवको अवसरमा 'न्याभ एक्सिलेन्स अवार्ड' आयोजना गर्दै आएको छ। कोभिडका कारण गत दुई वर्षसम्म भने अवार्ड समारोह हुन सकेको थिएन। दुई वर्षपछि आयोजना हुन लागेको र न्याभले यो वर्ष रजत जयन्ती मनाउंदै गरेको हुनाले 'न्याभ एक्सिलेन्स अवार्ड २०२२' विशेष बनेको छ।
नेपाली समुदायको हित तथा नेपाली भाषा, कला तथा संस्कृतिको प्रबर्द्धनका लागि योगदान दिएका व्यक्तित्वहरुलाई अवार्ड मार्फत सम्मान गरिनेछ। कार्यक्रमबारे जानकारी दिंदै अवार्ड समितिका कार्यकारी संयोजक मनोज घिमिरे भन्नुहुन्छ, "यो अवार्ड कार्यक्रम कुनै पनि विभेद तथा पूर्वाग्रह रहित हुनेछ। अवार्ड नोमिनेसनमा नाम सिराफरिस गर्नका लागि समुदायमा खुल्ला आव्हान गरिएको छ। र, यसमा अवार्ड समितिका सदस्यले आफू वरिपरिका व्यक्तिको नाम सिफारिस गर्न या अरु व्यक्तिले अवार्ड समितिमा भएका व्यक्तिको नाम सिफारिस गर्न पाउने छैनन् "।
उहाँ भन्नुहुन्छ," नेपाली समुदायको हित र नेपाली भाषा, कला तथा संस्कृतिको प्रबर्द्धनका लागि योगदान दिने व्यक्तिहरुलाई सम्मान गर्न र संगै समुदायमा यस कार्यका लागि हौसला तथा प्रेरणा प्रदान गर्नका लागि कार्यक्रमको आयोजना गरिएको हो। अवार्डका लागि ५ वटा विधा छुट्टाइएको छ। र, नाम सिफारिस भएका व्यक्तिहरुले सम्बन्धित विधा अन्तर्गत काम गरेको तथा उक्त कामले नेपाली समुदायमा फाइदा पुगेको हुनुपर्नेछ। कामले समुदायमा कस्तो प्रभाव पारेको छ भन्ने कुरालाई महत्त्व दिइनेछ। अन्तिम निर्णय अवार्ड समिति र न्याभ कार्यसमितिले संयुक्त रुपमा गर्नेछन् "।
कार्यकारी संयोजक घिमिरेका अनुसार, यदि कुनै विधामा नाम सिफारिस नभएमा या त सिफारिस गरिएका व्यक्तिहरुको कामले समुदायमा प्रभाव नपरेको अवस्था भएमा अवार्ड प्रदान गरिनेछैन। भाषा तथा संस्कृति विधामा नेपाली भाषा तथा संस्कृतिको प्रबर्द्धनका लागि योगदान गरेका अन्य समुदायका व्यक्तिहरुको पनि नाम सिफारिस गर्न सकिनेछ।
आयोजक संस्था न्याभका अध्यक्ष राम गुरुङले नेपाली समुदायको हित तथा नेपाली भाषा संस्कृतिको प्रबर्द्धन न्याभको उद्देश्य रहेको र सोही अनुसार नै अवार्ड आयोजना गरिएको बताउनुभयो। सरलरेखासंगको कुराकानीमा उहाँले अवार्ड समितिलाई विशेष धन्यवाद दिंदै नाम सिफारिसका लागि सबैलाई आग्रह समेत गर्नुभयो।
न्याभ एक्सिलेन्स अवार्ड २०२२'का लागि भाषा तथा संस्कृति, व्यवसायिक या शैक्षिक उपलब्धि, नेतृत्व, वकालत तथा सामाजिक सक्रियता र नेपाली समुदायका लागि सह्रानीय काम गरी चार विधा छुट्टाइएको छ। यी विधा बाहेकमा पर्नेहरुका लागि अन्य भनेर विकल्प राखिएको छ। नाम सिफारिसका लागि आवेदन खुल्ला राखिएको छ। आगामी ६ मार्चसम्म यो फारम भरेर नाम सिफारिस गर्न सकिनेछ। फारम भरिसकेपछि सम्पूर्ण कागजातसहित [email protected] मा पठाउनु पर्नेछ।