मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा शनिबार अर्थात् सेप्टेम्बर १० मा नेपाल फेस्टिवलको आयोजना हुँदैछ। नेपाल चिनाउने महोत्सवका रुपमा लिइने नेपाल फेस्टिवलमा नेपाली हस्तकला, सांस्कृतिक प्रस्तुतिदेखि लिएर नेपाली खाना पनि हुने गर्दछ। फेडेरेसन स्क्वाएरमा शनिबार हुँदै गरेको नेपाल फेस्टिवल मेलबर्न २०२२ को खाना सम्बन्धि स्टल व्यवस्थापनको नेतृत्व विजय दाहालले गर्नुभएको छ। मेलबर्नमा स्थापित नेपाली व्यवसायी दाहाल एनआरएनए भिक्टोरियाका सदस्य समेत हुनुहुन्छ। सरलरेखाले उहाँसंग आज नेपाल फेस्टिवल मेलबर्न २०२२ विशेष कुराकानी गरेको छ।
नेपाल फेस्टिवलमा नेपाली खानालाई कसरी पस्किंदै हुनुहुन्छ ?
नेपाली टिपिकल स्वाद नै आउने खाना होस् भन्ने उद्देश्यले काम गरिरहेका छौं। खानाका ८ वटा स्टल रहने तय भएको छ। सेलरोटी, म:म, सेकुवा लगायतका खानाहरु ती स्टलमा पाइनेछन्।
नेपाली खानालाई नेपालको पर्यटन प्रबर्द्धनसंग पनि जोडेर हेरिन्छ, यसमा हजुरको धारणा के छ ?
पक्कै पनि, नेपालको पर्यटन प्रबर्द्धनका लागि खाना महत्त्वपूर्ण माध्यम हो। खानाले स्वाद मात्र दिंदैन, त्यो ठाउँको रितिरिवाज, संस्कृति, वातवरण, जीवनशैली लगायत कुराहरुलाई पनि झल्काईरहेको हुन्छ। एउटै परिकार पनि संसारका फरक-फरक ठाउँमा, फरक-फरक तरिकाले बनाइन्छ। नेपाल फेस्टिवलको खानाले नेपाली मात्र नभई स्थानीय तथा बहुसांस्कृतिक समुदायको पनि ध्यान खिच्नेछ भन्ने विश्वास लिएका छौं। खानामा नेपाली मौलिक स्वाद मिलोस् भन्ने कुरामा हामी सजग छौं।
नेपाल फेस्टिवलको तयारी अन्तिम चरणमा पुगेको छ। आयोजक टिममा रहँदा कत्तिको चुनौतीपूर्ण महसुस गर्नुभयो?
चुनौती भन्नेकुरा हरेक काममा हुन्छ। यति ठूलो फेस्टिवल, बाहिरको दुनियाँलाई हाम्रो नेपाल बारेमा संदेश दिने महोत्सव, जसका कारण यसका लागि गरिने काम बृहत मात्र नभई संवेदनशील पनि हुन्छन्। तर नेपाल फेस्टिवललाई नेपाली समुदायले केवल एनआरएनए संस्थाको इभेन्टको रुपमा लिएको छैन, समग्र नेपाली समुदायको महोत्सवको रुपमा लिएको छ। सबैले एकताबद्ध भएर काम गरिरहेका छौं, त्यसैले पनि चुनौतीभन्दा अवसर र हर्षोल्लासका रुपमा यसलाई लिइरहेको छु।
शनिबार हुने नेपाल फेस्टिवल कस्तो हुनेछ भन्ने अपेक्षा गर्नुभएको छ ?
यो माहोल हेर्दा त अत्यन्तै भव्य तरिकाले सम्पन्न हुनेछ भन्ने आशा लागिरहेको छ। मेलबर्नमा जुन उत्साह छाइरहेको छ, साँच्चै नै यसले हामीलाई ऊर्जा दिइरहेको छ। नेपाली संघसंस्था, व्यवसायिक संस्था, स्वयंसेवक, मिडिया लगायत सबैबाट अपेक्षा गरे अनुसारकै सहयोग मिलिरहेको छ।
अन्त्यमा, केही भन्न चाहनुहुन्छ कि ?
नेपाल फेस्टिवल हामी सबैको महोत्सव हो, हाम्रो भाषा, कला, संस्कृति, खानाको महा-उत्सव। यस महाउत्सवमा सबैलाई सहभागी हुन हार्दिक अनुरोध गर्न चाहन्छु।