मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा नेपाल चिनाउने महोत्सव हुँदैछ। यही शनिबार, सेप्टेम्बर १० मा मेलबर्नमा नेपाल फेस्टिवल २०२२ को आयोजना गरिएको हो। एनआरएनएको आयोजनामा हरेक दुई वर्षको अन्तरालमा हुने नेपाल फेस्टिवल यसपटक कोभिडका कारण चार वर्षको अन्तरालमा हुँदैछ। त्यसैले पनि मेलबर्नमा नेपाल फेस्टिवलको तयारी भव्य रुपमा चलिरहेको छ। नेपाल फेस्टिवल मेलबर्नलाई भव्य रुपमा सफल बनाउनका लागि यहाँका नेपाली सामजिक संस्थादेखि व्यवसायिक संस्थाहरुले एनआरएनए भिक्टोरियासंग सहकार्य गरिरहेका छन् ।
यसै सम्बन्धमा डाँफे कन्सल्टिङ्ग मेलबर्नका डाइरेक्टर सन्तोष कर्ण भन्नुहुन्छ," नेपाल फेस्टिवल यहाँको समग्र नेपाली समुदायका लागि गौरवपूर्ण दिन हो। यो दिनमा यहाँको सडकमा नेपाली सांस्कृतिक परेड, फेडेरेसन स्क्वाएरमा नेपालको झण्डा, कार्यक्रमस्थलमा नेपाली संगीतको धुन र नेपाली खानाको वासना, नेपाली पोशाकमा सजिएका मान्छेहरु देख्दा लाग्ने खुसीको शब्दमा वर्ण गरेर सकिँदैन। यो एउटा महोत्सव भन्दापनि यहाँ बस्ने हामी नेपालीहरुको सबैभन्दा ठूलो पर्व हो। "
उहाँ थप्नुहुन्छ,"यस्तो गौरवपूर्ण दिनका लागि हामी सबैको सहकार्य आवश्यक छ। डाँफे कन्सल्टेन्सीले विगतका नेपाल फेस्टिवलमा पनि प्रायोजन गर्दै आएको थियो र यसपटक पनि हामी कर्पोरेट पार्टनरका रुपमा रहेका छौं। यो हाम्रो सहयोग होइन कि, सहकार्य र हाम्रो मातृभूमी, हाम्रो मौलिकता चिनाउन योगदान गर्न पाउने अवसर हो। नेपालका लागि नेपाली समुदायका लागि यसरी सहकार्य गर्न हामी सधै तत्पर छौं।
बिहान ११ बजेदेखि सुरु हुने नेपाल फेस्टिवलमा विभिन्न स्टलहरु पनि रहनेछन्। त्यसमा डाँफे कन्सल्टिंगको पनि स्टल रहने डाइरेक्टर कर्णले जानकारी दिनुभयो, जसमा विद्यार्थीले करियर तथा माइग्रेसन सम्बन्धि आफूलाई आवश्यक जानकारी लिन, अफर तथा स्कोलरसिपका बारेमा बुझ्न सक्नेछन्।