मेलबर्नमा । अस्ट्रेलियाको मेलबर्नमा सेप्टेम्वर १० (भोलि) मा हुने नेपाल महोत्सवको तयारी पूरा भएको छ ।
अस्ट्रेलियास्थित प्रवासी नेपालीको संगठन (एनआरएनए) ले हरेक दुई वर्षमा नेपाल महोत्सवको आयोजना गर्दै आएको छ । तर कोभिड महामारीका कारण हुन नसकेको महोत्सव ४ वर्षपछि भिक्टोरियामा आयोजना हुन लागेको हो । महोत्सव भोलि शनिवार मेलबर्नस्थित फेडेरेशन स्क्वायरमा हुँदैछ ।
महोत्सवले यसपटक नेपालको पर्वतीय पर्यटन प्रवर्द्धनमा जोड दिएको छ । यसलाई मध्यनजर गरि आवश्यक तयारी गरिएको आयोजकले जनाएको छ ।
नेपाली कलासंस्कृति तथा पर्यटन प्रवर्द्धन र अस्ट्रेलिया–नेपाल द्धिदेशीय सम्बन्धलाई अझ सुधार गर्न समेत नेपाल महोत्सव फलदायी हुने आयोजकको विश्वास छ ।
यस्तै यस वर्षको महोत्सवमा पर्वतीय पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले सगरमाथा आरोहणको अनुभव गराउन भर्चुअल रियालिटीसहितको विहार निर्माण गरिएको छ । जसमा अवलोकनकर्ताले सगरमाथाको आरोहण गरेको अनुभव गर्न तथा फोटो खिच्न सक्नेछन् । यसले सहभागीलाई नेपालको पर्वतीय पर्यटनमा जान प्रेरित गर्ने आयोजकको विश्वास छ ।
महोत्सवमा नेपाललाई अस्ट्रेलियालीहरू समक्ष चिनाउने उद्देश्यले नेपालको विविध जानकारीसहितको नेपाल हाउसको स्थापना गरिएको । त्यसैगरि जीवित देवीको रुपमा चिनिने ुकुमारीु, विभिन्न परम्परागत झाँकी, मण्डला, धरहरा लगायत नेपाली पहिचान झल्कने विशेष साम्रगीको समेत निर्माण गरिएको छ ।
महोत्सवमा भिक्टोरियाका विभिन्न मन्त्री र सांसदका साथै राजनीतिक दलका नेता, विभिन्न बहुसांस्कृतिक समुदायका प्रतिनिधिका साथै अस्ट्रेलियाभर रहेका नेपाली संघसंस्थाका प्रतिनिधिले सहभागिता जनाउने बताइएको छ । कार्यक्रममा करिब ५० हजारले सहभागिता जनाउने आयोजकको अनुमान छ ।
फेडेरेसन स्क्वायरमा आयोजना हुने महोत्सवको मेलबर्नका विभिन्न ३ रुटमा गुड्ने रेलमा विगत दुई महिनादेखि प्रचार गरिएको छ । यस्तै, शुक्रबार कार्यक्रमस्थल वरपर करिब एक दर्जन नेपाली झण्डा फहर्याइदैछ । यसका साथै मेलबर्न सहरको मुख्य क्षेत्रमा शनिबार बिहान नेपाली झाँकी, बाजागाजासहित परेडको समेत तयारी गरिएको छ ।
महोत्सवका संयोजक तथा आयोजक संस्था एनआरएनए भिक्टोरियाका अध्यक्ष हरि खड्काले महोत्सवले यहाँ रहेका विदेशीलाई नेपालको विविधितका बारेमा थप जानकारी दिने, पर्यटन प्रवर्द्धन गर्ने, दोस्रो पुस्तालाई नेपालबारे जानकारी दिने र द्विदेशबीच सम्बन्धलाई अझ सुमधुर बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेपाली सांगीतिक ब्याण्ड कबवेब, लोकगायक बद्री पंगेनी, गायिका एलिना चौहान लगायत स्थानीय कलाकारले सांगीतिक प्रस्तुती समेत दिनेछन् । महोत्सव आयोजनाका लागि करिब १ लाख ६० हजार डलर खर्च हुने आयोजकले जानकारी दिएको छ । कार्यक्रम सफल बनाउन २० आयोजक समिति तथा ७० उपसमिति बनाएर काम गरिएको छ ।