मेलबर्न । अस्ट्रेलिया सरकारले स्थायी आप्रवासीको संख्या २० प्रतिशतले बढाउने निर्णय गरेको छ ।
पछिल्लो समय देखिएको कामदार अभाव अन्त्य गर्नका लागि सरकारले पछिल्लो निर्णय गरेको हो । योसँगै अप्रवासी विद्यार्थीलाई अझै एक वर्षसम्म पूरा समय काम गर्न दिने भएको छ ।
राजधानी क्यानबेरामा यसै साता आयोजित राष्ट्रिय सीप तथा रोजगार सम्मेलनले आप्रवासी संख्यालाई पुनर्मूल्यांकन गर्ने निर्णय गरेको हो । सम्मेलनपछि प्रधानमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा स्थायी आप्रवासी संख्या आगामी वर्षका लागि ३५ हजारले बढाउने निर्णय भएको उल्लेख छ ।
सम्मेलनमा उद्योगी व्यवसायी, कामदारलाई प्रतिनिधित्व गर्ने संस्था, सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारी अधिकारी सहभागी भएका थिए ।
अस्ट्रेलियमा बेरोजगार दर करिब ३.५ प्रतिशत छ । स्वास्थ्य, शिक्षालगायत विभिन्न व्यवसायमा कामदारको चर्को अभाव देखिएसँगै सम्मेलनको आयोजना गरिएको हो । कोरोना महामारीलगत्तै सीमा बन्द गरिएका कारण आप्रवासी आउन नपाएपछि बढेको कामदार अभाव अझै उस्तै छ ।
अस्ट्रेलियामा देखिएको कामदार समस्या समाधान गर्न प्रत्येक वर्ष १ लाख ६० हजार आप्रवासीलाई स्थायी बासिन्दाको अनुमति दिँदै आएको छ । तर यस वर्षका लागि यो संख्या १ लाख ९५ हजार बनाइएको छ ।
सम्मेलनपछि अस्ट्रेलियास्थित ट्रेजरी विभागले सार्वजनिक गरेको पूर्ण विवरणमा भिसा प्रक्रियामा भइरहेको ढिलाइ कम गर्न ३ करोड ६० लाख डलरको थप रकम व्यवस्था गरिएको छ ।