मेलबर्न। अष्ट्रेलियाको मेलबर्नमा बालबालिकाहरु लक्षित न्याभ वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। गत आइतबार नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ)द्वारा आयोजित उक्त प्रतियोगिता नेपालमा बुवाको मुख हेर्ने दिन र अष्ट्रेलियामा फादर्स डेको अवसरमा आयोजना गरिएको थियो।
संस्कृति सम्बर्द्धनसंगै बालबालिकाको व्यक्तित्व विकासमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको कार्यक्रम संयोजक निराजन रेग्मीले बताउनुभयो। प्रतियोगितामा बालबालिकाले बुवाको मुख हेर्ने दिनको महत्त्व, आफू र बुवाको सम्बन्ध, आफूले बुवाको मुख हेर्ने दिन मनाउने तरिकालाई वक्तृत्वकला मार्फत व्यक्त गरेका थिए। वक्तृत्वकला प्रतियोगितालाई ६ देखि १० वर्ष र ११ देखि १६ वर्ष गरी दुई उमेरसमूहमा विभाजन गरिएको थियो।
६ देखि १० वर्ष उमेर समूहमा एलेक्स श्रेष्ठ, आरुष रेग्मी, अभिक अधिकारी, प्रेक्षा पौडेल, रसिस पाठक, सबल पौडेल, सजल पाण्डे, सम्भव पौडेल, सनाया सिग्देल र सुबोध गैरे सहभागी थिए। जसमध्ये सजल पाण्डेले प्रथम, अभिक अधिकारीले दोस्रो र सनाया सिग्देलले तेस्रो स्थान हासिल गरे। त्यसैगरी, ११ देखि १६ वर्ष उमेर समूहमा आर्यश्री अधिकारी, निर्जला गौली, प्रनिस पन्त, श्रिबिन आचार्य, सोम्या तिम्सिना र सुदेस्ना रजक सहभागी थिए। यस उमेर समूहमा श्रिबिन अधिकारीले प्रथम, निर्जला गौलीले दोस्रो र सोम्या रजकले तेस्रो स्थान हासिल गर्न सफल भए।
दुवै समूहका उत्कृष्ट प्रतियोगीलाई प्रथम पुरस्कार १ सय ५० डलर, द्वितीय पुरस्कार १ सय डलर र तेस्रो पुरस्कार ५० डलर प्रदान गरिएको थियो। प्रतियोगितामा उत्कृष्ट संगै सहभागी सबैलाई प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको थियो। बालबालिकाको मनोविज्ञानलाई ध्यानमा राखेर सहभागी सबैलाई २५ डलर बराबरको भौचर र प्रमाणपत्र प्रदान गरिएको संयोजक निराजन रेग्मीले जानकारी दिनुभयो। संयोजक रेग्मीका अनुसार, प्रतियोगितामा सहभागिताका लागि फारम खुल्ला गरिएको थियो। २४ जनाले आफ्नो नाम दर्ता गराएतापनि अन्तिम समयमा १६ जना बालबालिकाले मात्र प्रतियोगितामा सहभागिता जनाएका थिए। प्रतियोगिता भर्चुअल माध्यम, जुम मार्फत सम्पन्न भएको हो।
प्रतियोगिताको निर्णायक मण्डलमा डा अनुपम पोख्रेल, डा तिलक पोख्रेल र निरु त्रिपाठी रहनुभएको थियो।
उक्त वक्तृत्वकलाको प्रतियोगितामा बालबालिकाका सहभागी बुवाहरुलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गरिएको थियो। न्याभका अध्यक्ष प्रेम राज उप्रेतीले बुवाहरुलाई प्रमुख अतिथिको रुपमा सम्मान र कार्यक्रमको उद्देश्य अनुरुप नै बालबालिकाहरुको सहभागीता देख्दा खुसी लागेको बताउनुभयो। कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै उहाँले बालबालिकाको व्यक्तित्व विकास र समुदायका हितका निम्ति न्याभ सधै अग्रसर रहने बताउनुभयो। कार्यक्रममा बोल्दै न्याभ कोषाध्यक्ष एकेन्द्र तिमिल्सिनाले बालबालिकाहरुको उल्लेख्य सहभागिताप्रति खुसी व्यक्त गर्नुभयो। उहाँले बालबलिकाका लागि अझ प्रभावकारी र सहभागितामूलक कार्यक्रमहरु ल्याउनका लागि आफूहरुको प्रयास रहने बताउनुभयो।
कार्यक्रमको संचालन न्याभका सचिव माधव खरेलले गर्नुभएको थियो। कोभिडको संक्रमणको पछिल्लो अवस्थालाई ध्यानमा राख्दै कार्यक्रममा कोभिड तथा खोप सम्बन्धि जानकारीमूलक सेसन समेत संचालन गरिएको थियो। उक्त सेसनमा डा. राजु अधिकारी र डा. संदेश पन्तले कोभिड तथा खोप सम्बन्धि जानकारी प्रस्तुत गर्नुभएको थियो। सहभागी तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै न्याभका उपाध्यक्ष कृष्ण चालिसेले कार्यक्रमको समापन गर्नुभएको थियो।