शेपार्टन। अष्ट्रेलियामा यस वर्षको तीज धुमधामका साथ मनाइएको छ। विदेशमा रहेतापनि नेपाली संस्कृतिको सम्बर्द्धनमा सचेत नेपाली समुदायले आफू वसोवास गरिरहेको विभिन्न राज्य तथा सहरमा विभिन्न कार्यक्रमको आयोजना गरी तीज मनायो। सामाजिक संस्थाहरुले आयोजना गरेका तीज कार्यक्रमहरु विशेषगरी नेपालका ग्रामिण महिलाहरुका लागि समर्पित थिए।
भिक्टोरियाको शेपार्टनमा दिदीबहिनी समाज भिक्टोरियाको शेपार्टन ईकाईले हिंसापिडित महिला तथा बालबालिकामा समर्पित कार्यक्रमको आयोजना गरेको थियो। कार्यक्रम आयोजनाका लागि नेपलीज शेपार्टन कम्युनिटीको सहकार्य, एनआरएनए भिक्टोरियाको सहयोग तथा इथनिक काउन्सिल अफ शेपार्टनको आर्थिक सहयोग रहेको थियो। कार्यक्रममा नेपाली समुदाय मात्र नभई बहुसांस्कृतिक समुदायको पनि उल्लेख्य सहभागिता रह्यो। संस्कृतिको उत्सव मनाऔं, आशाको किरण जगाऔं भन्ने नाराका साथ आयोजित कार्यक्रमको संयोजन मीना मल्लले गर्नुभएको थियो।
सामाजिक उद्देश्य सहितको तीज विशेष कार्यक्रममा तीज पर्व मनाउनुका साथै महिला सशक्तिकरणसंगै महिला र बालबालिकामाथि हुने हिंसा न्यूनीकरणका विषयमा चर्चा गरिएको थियो। कार्यक्रममा अतिथिको रुपमा सहभागी हुनुभएका स्थानिय अधिकारीहरु पनि नेपाली दिदीबहिनीसंग संगै नाचगानमा रमाउनुभएको थियो।
कार्यक्रममा प्रमुख अतिथि उपमेयर तथा काउन्सिलर एन्थोनी ब्रोफ्य तथा विशेष अतिथिहरुमा काउन्सिलर सीमा अब्दुल्लाह, अमी मार्टिन सहभागी हुनुभएको थियो। अतिथिहरुले नेपाली कला, संस्कृति र एकताको प्रशंसा गर्दै महिला सशक्तिकरणका बारेमा आफ्नो मन्तव्य राख्नुभएको थियो। शेपार्टन पुलिस, मल्टिकल्चरल अफिसर Leigh Johnson तीज गीतमा दिदीबहिनीसंगै नाच्नुभएको थियो।
कार्यक्रम संयोजक मीना मल्लले चाडपर्वको सम्बर्द्धन, प्रबर्द्धन गर्दै नयाँ पुस्तामा पनि हस्तान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। उहाँले यसरी पर्व मनाउँदा मनोरंजन र खुसीलाई प्राथमिकतामा राख्नुपर्ने तर भड्किलोपनलाई निरुत्साहन गर्नुपर्ने विचार राख्नुभएको थियो। संयोजक मल्लले नेपाली समुदायमा महिला तथा बालिबालिकामाथि हुनसक्ने हिंसाका बारेमा सचेत हुन आग्रह गर्दै हिंसाको विरुद्धमा एकताबद्ध हुनुपर्ने बताउनुभयो।
कार्यक्रममा सहभागीहरुलाई जुन श्रेष्ठले स्वागत नृत्य मार्फत स्वागत गर्नुभएको थियो भने कार्यक्रमको संचालन वसन्ता अधिकारीले गर्नुभएको थियो। त्यसैगरी कार्यक्रममा तीज तथा सामूहिक विशेष नृत्य प्रस्तुति पनि रहेका थिए। कार्यक्रममा सहभागीहरुको उत्साह र सबैको सहयोगले खुसी मिलेको उल्लेख गर्दै अझ बृहत रुपमा कार्यक्रम गर्न हौसला मिलेको आयोजक संस्थाले जनाएको छ।