मेलबर्न। नेपाली सांगीतिक क्षेत्रमा विशेष गरी ब्लुज रक र लोकपपका लागि चर्चित ब्याण्ड '१९७४' एडी हाल अष्ट्रेलियाको सांगीतिक टुरमा रहेको छ। 'यो मन त मेरो नेपाली हो' सांगीतिक यात्रा गत २१ अगस्टमा पर्थबाट सुरु भएको थियो। सांगीतिक यात्रामा ब्याण्डले रोटेपिङ्ग इन्टरटेनमेन्टको संयोजनमा अष्ट्रेलियाका ८ सहरमा कन्सर्ट गर्दैछ। ब्याण्ड शनिबार मात्र मेलबर्नमा आइपुगेको छ। सोलाङ्ग्चरको आयोजनामा सेप्टेम्बर ४, आइतबार आयोजना हुने कन्सर्टका लागि ब्याण्ड आज मेलबर्न आइपुगेको हो।
गुराँस फुल्यो वनैमा', 'यो मन त मेरो नेपाली हो' जस्ता लोकप्रिय गीत मार्फत युवा मात्र नभएर बच्चादेखि पाका उमेरका व्यक्तिहरुमाझ पनि प्रिय बनेको ब्याण्डलाई मेलबर्नमा स्वागत गर्न पाउँदा खुसी व्यक्त गर्नुहुन्छ, राजु शाक्य। शाक्य आयोजक संस्था सोलाङ्ग्चरका क्रिएटिभ डाइरेक्टर हुनुहुन्छ। कार्यक्रमका बारेमा जानकारी दिंदै उहाँ भन्नुहुन्छ,"१९७४ एडी यस्तो ब्याण्ड हो, जसलाई हरेक उमेर अवस्थाको नेपालीले कुनै न कुनै गीत मार्फत सुनेको नै छ। ब्याण्डले 'जसो गर, जे गर, जता सुकै लैजाऊ मलाई, यो मन त मेरो नेपाली हो' गीत गाउँदा जुनसुकै नेपालीको मन छुन्छ। त्यसैले पनि कार्यक्रमको घोषणा भएसंगै नै हाम्रो समुदायमा उत्साह देखिएको छ। टिकट पनि अब केही सिमित संख्या मात्र बाँकी छ। यो उत्साह देख्दा ठूलो सहभागितासंगै कार्यक्रम भव्य हुनेछ भन्नेमा आशावादी छौं"।
करिब १८ वर्षपछि सोलाङ्ग्चरको र १९७४ एडीको पुनर्मिलन भएको बताउनुहुन्छ, सोलाङ्ग्चरकी दिपा राई। उहाँ भन्नुहुन्छ," मेलबर्नमा सम्भवत: पहिलो पटक १९७४ एडीको सांगीतिक कार्यक्रम रहेको थियो, त्यसको आयोजना सोलाङ्ग्चरले नै गरेको थियो। १८ वर्षपछि सोलाङ्ग्चरकै आयोजनामा कन्सर्ट हुँदैछ। र, ब्याण्डको एकतापछि मेलबर्नमा १९७४ एडीको कन्सर्ट पहिलो पटक नै हुँदैछ। त्यसैले हाम्रा लागि यो कन्सर्ट विशेष बनेको छ "।
बेटर चोइसको मूख्य प्रायोजनमा आयोजना हुँदै गरेको मेलबर्न कन्सर्ट आइतबार बेलुका ८ बजेदेखि सुरु हुनेछ। कार्यक्रमको सहप्रायोजन एएमइसी एजुकेशन एण्ड माइग्रेसनले गरेको छ। ब्याण्डले यसअघि पर्थ, डार्विन, एडलेड, होबार्टमा सांगीतिक प्रस्तुति दिसकेको छ।