मेलबर्न। नेपालको सुदुरपश्चिम क्षेत्रमा मनाइने गौरापर्व अष्ट्रेलियाको मेलबर्नमा पनि मनाइने भएको छ। भिक्टोरियाको सुदूरपश्चिमेली समाज (फार वेस्टर्न नेपलीज सोसाइटी अफ भिक्टोरिया) गौरा पर्व विशेष कार्यक्रमको आयोजना गरेको हो। कार्यक्रमको मूख्य प्रायोजन ब्लुबेरी रियल स्टेट मेलबर्नले गरेको छ।
नेपालभित्र पनि सांस्कृतिक विविधता रहेको र त्यो विविधताको प्रबर्द्धन गर्नका लागि विदेशमा रहेको नेपाली समुदायले यस्ता कार्यक्रमहरुको आयोजना गर्न आवश्यक रहेको बताउनुहुन्छ आयोजक संस्था फार वेस्टर्न नेपलीज सोसाइटी अफ भिक्टोरियाका अध्यक्ष महादेव धानुक। उहाँ भन्नुहुन्छ,"नेपालमा सबै व्यक्तिले राष्ट्रव्यापी रुपमा मनाइने पर्व मात्र छैनन्। विभिन्न क्षेत्र, जिल्ला, जाती र समुदायमा मनाइने भिन्न-भिन्न किसिमका पर्व र संस्कृति छन्। भिन्न-भिन्न भेषभुषा छन्। नेपाल संस्कृतिका लागि अत्यन्तै धनी देश हो, यसअर्थमा पर्यटनका लागि भरपुर सम्भावना पनि हो। र, यो सम्भावनालाई बुझेर हामी विदेशमा रहेको नेपाली समुदायले हाम्रा यस्ता विविध संस्कृतिको प्रबर्द्धन गर्नुपर्छ। यसबाट हामीले नेपालको आर्थिक उन्नतिमा योगदान गर्न सक्छौं "।
अध्यक्ष धानुक भन्नुहुन्छ," अर्कोतिर, कतिपय नेपाली संस्कृति लोप हुने अवस्थामा छन्, कतिपय संस्कृति हाम्रो यहाँको नेपाली नयाँ पुस्तालाई थाहा नै छैन। हाम्रो यो संस्कृतिलाई जोगाइराख्न र यहाँको नेपाली नयाँ पुस्तालाई हाम्रा संस्कृति, रितिरिवाजबारे जानकारी गराउनु पनि हाम्रो उद्देश्य हो। यसले हाम्रो मौलिकता र परिचयलाई बचाईराख्छ अनि हाम्रो संस्कृति, रितिरिवाज, भाषा नयाँ पुस्ताहरुमा हस्तान्तरण हुँदै पनि जानेछ "। यिनै उद्देश्य अनुरुप नै फार वेस्टर्न नेपलीज सोसाइटी अफ भिक्टोरियाले निरन्तर विभिन्न सांस्कृतिक कार्यक्रमहरुको आयोजना गर्दै आएको बताउनुहुन्छ।
गौरा पर्व विशेष कार्यक्रम ४ सेप्टेम्बर, आइतबार आयोजना गरिएको छ। कार्यक्रममा लोकप्रिय कलाकारहरु रवि ओड, अनिता चलाउने, चक्र बम र रेखा जोशीको सांगीतिक प्रस्तुति रहनेछ। विशेषगरी सुदुरपश्चिम क्षेत्रको पर्व भएकोले कार्यक्रममा त्यस क्षेत्रसंग सम्बन्धित गतिविधि र त्यहाँकै कलाकारहरुलाई समेटिएको आयोजक संस्थाले जनाएको छ। कार्यक्रमको सहप्रायोजन म्याक्सीम्याक्स एजुकेशन एण्ड भिसा सर्भिसेजले गरेको छ।