सिड्नी । अर्घाखाँची समाज अस्ट्रेलियाले हरितालिका तीजको अवसरमा विशेष तीज कार्यक्रमको आयोजना गरेको छ ।
नेपाली मौलिक पर्व तीजको परम्परालाई निरन्तरता दिन र यसको मौलिक पक्षलाई जोगाइराख्न अर्घाखाँची समाज अस्ट्रेलियाले हरितालिका तीजको अवसर पारेर आफ्ना जिल्लाबासीकाबीच तीज विशेष कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रमको टिकट विक्रीबाट उठेको रकम नेपालको अर्घाखाँची जिल्लामा गरिब र जेहेन्दार विद्यार्थीलाई शिक्षामा सहयोग गरिने अर्घाखाँची समाजका अध्यक्ष मीन भुषालले जानकारी दिनुभयो ।
इन्द्रेणी फङ्सन सेन्टरमा आयोजित कार्यक्रमलाई ओसियन एजुकेशन एण्ड भिसा सर्भिसले मुख्य प्रायोजन गरेको थियो । उक्त कार्यक्रममा विभिन्न संघसंस्थाले पनि सहयोग गरेर आफ्नो सहभागिता जनाएका थिए।
कार्यक्रममा नेपालबाट आमन्त्रित नेपालका चर्चित गायक सर्जक एवं संगीतकार वसन्त थापा, गायिका देवी घर्ती, सुनीतामी परियार, निशा केसीलगायतका सांगीतिक प्रस्तुतिले रौनक थपेको थियो ।
उपस्थित महिलाहरू ‘सालको पात टपरी, पञ्चेबाजा, जाम सुस्तै, चौतारीको वर’ लगायत गीतमा कम्मर मर्काइमर्काइ नाचेका थिए।
‘लौरी हरयो, हेर्न ओइ बाटुली, कोही छैन’ जस्ता गीत गाएर महिलाहरूलाई नचाएका थिए, वसन्त र देवीले। सुनितामी र निशाले पनि तीजका गीत गाएर नचाएका थिए।
कार्यक्रममा अस्ट्रेलियामा रहेका अर्घाखाँचीवासीहरू र अन्य क्षेत्रबाट अस्ट्रेलिया आएका संगीतमा झुम्नेहरूको पनि उल्लेख्य सहभागिता थियो।
खासगरी नेपाली संस्कृतिभन्दा पनि पश्चिमा शैलीमा रमेकाहरूलाई नेपालको परम्परागत संस्कृतिबारे जानकारी दिन यस्ता कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ ।