होबार्ट। अष्ट्रेलियाको तास्मानियामा तीज विशेष पूजाका साथ हरितालिका तीज मनाइने भएको छ। नारीनिकुञ्ज तास्मानियाले अगस्ट ३० तारिख, मंगलबार परेको तीजको दिनमा विशेष कार्यक्रमको आयोजना गरेको हो। एनआरएनए अन्तर्गतको नारीनिकुञ्जले अष्ट्रेलियाका विभिन्न सहरमा तीज विशेष कार्यक्रम आयोजना गरिरहेको छ। यो तीजलाई नारीनिकुञ्जले आङ खस्ने परियोजनाको सहयोगार्थ समेत मनाइरहेको छ।
यसअघि तीज विशेष सांगीतिक कार्यक्रम गरेको नारीनिकुञ्ज तास्मानियाले तीजको दिनमा विशेष गरी तीज संस्कृतिलाई सम्बर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा पण्डितद्वारा तीज विशेष पूजा र संगै नाचगान पनि रहने आयोजक संस्थाले जनाएको छ।
नारीनिकुञ्ज तास्मानियाकी संयोजक प्रनिता राई पन्त भन्नुहुन्छ," तीज आउँदा विभिन्न मनोरन्जनात्मक कार्यक्रमहरु त आयोजना गरिन्छ नेपाली समुदायमा धेरै नै। वास्तवमा तीज भनेको के हो, यसको महत्त्व के रहेको छ भन्ने कुरालाई जोडेर नयाँ पुस्तालाई मौलिक तीजबारे जानकारी गराउन र संगै हाम्रो रितिरिवाज, परम्पराको सम्बर्द्धन गर्नका लागि तीज विशेष कार्यक्रमको आयोजना गरेका हौँ "।
कार्यक्रमलाई नेपालका ग्रामिण महिलाहरुको सहयोगार्थ समेत आयोजना गरेको बताउनुहुन्छ नारीनिकुञ्ज तास्मानियाकी उपसंयोजक आरजु रिजाल रजक। उहाँ भन्नुहुन्छ,"महिलाहरु विभिन्न अवसरबाट बन्चित हुँदै पछाडी पर्दै आएको हाम्रो समाजमा महिलाको प्रजनन स्वास्थ्यलाई प्राथमिकताका साथ हेरिएन। त्यसैले नेपालका ग्रामिण महिलाहरुमा आङ खस्ने समस्या, त्यसलाई लाजको रुपमा लिंदा निम्तिने जटिल स्वास्थ्य समस्या छ। त्यसका लागि जनचेतना पनि फैलियोस् र यो समस्याबाट गुज्रिरहेका दिदीबहिनीका लागि सहयोग पनि पुगोस् भन्ने उद्देश्यले आङ खस्ने परियोजनालाई तीज कार्यक्रमसंगै समानान्तर रुपमा अगाडी बढाइराखेका छौं।"
नारीनिकुञ्जकी केन्द्रिय संयोजक मन्जु खड्का अष्ट्रेलियाका सबैजसो राज्यमा नारीनिकुञ्जका सम्बन्धित राज्य समितिले प्रशंसनीय रुपमा तीज कार्यक्रम आयोजना गरिरहेको बताउनुहुन्छ। केन्द्रिय संयोजक खड्का भन्नुहुन्छ,"हामी महिलाहरुको पर्व भएकोले यो केवल धर्म र संस्कृतिको सम्बर्द्धन मात्र नभई महिला सशक्तिकरणका लागि पहल गर्ने राम्रो अवसर पनि हो। नेपालका ग्रामिण महिलाहरुको सहयोगका लागि जसरी तीज कार्यक्रम भइरहेका छन्, यसबाट उहाँहरु स्वास्थ्य र आत्मविश्वासमा पनि सहयोग पुग्ने विश्वास लिएका छौं। र, संगै जसरी तीज कार्यक्रमहरु आयोजना र व्यवस्थापन भइरहेका छन्, यसले हामी सबैलाई समुदायमा अगाडी बढ्ने, कार्यक्रमहरुको नेतृत्व गर्ने, समुदायकै नेतृत्व गर्ने आत्मविश्वास दिंदै हाम्रो हौसला बढाइरहेको छ। साथमा संस्कृतिको संरक्षण तथा प्रबर्द्धन त भएको नै छ "।
होबार्टमा भोलि हुने तीज विशेष कार्यक्रममा डिजे उज्वलले सांगीतिक माहोल बनाउनेछन्। कार्यक्रमलाई अझ रमाइलो बनाउनका निम्ति विभिन्न पुरस्कार तथा उपहारको समेत व्यवस्था गरिएको छ। कार्यक्रम दिउँसो २ बजेदेखि बेलुका ७ बजेसम्म संचालन हुनेछ। पूजा समय दिउँसो २ बजेदेखि ५ बजेसम्मका लागि राखिएको छ।