शेपार्टन। अष्ट्रेलियामा नेपाली चाडपर्वहरु धुमधामका अनुसार मनाउने गरिन्छ। नेपाली हिन्दु महिलाहरुको ठूलो पर्व मानिने 'हरितालिका तीज' को अवसरमा यहाँ विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन्। राष्ट्रिय स्तरका कलाकारदेखि स्थानीय कलाकारहरुको प्रस्तुति सहितका कार्यक्रमहरुले अष्ट्रेलिया तीजको रंगमा रंगिएको छ। यसैबीच शेपार्टनमा भने भिन्न शैलीको तीज कार्यक्रम सम्पन्न भएको छ।
शेपार्टनको नेपाली समुदायका दाजुभाइले दिदीबहिनीहरुलाई बोलाएर सामूहिक तीज मनाएका छन्। नेपालमा तीज पर्वमा दाजुभाइले दिदीबहिनीलाई निमन्त्रणा गर्ने प्रचलन अनुसार, शेपार्टनमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीलाई तीजको निम्ता गरिएको थियो। कार्यक्रममा दिदीबहिनीहरुका लागि दरको व्यवस्थासंगै तीजको सांगीतिक माहोल निर्माण गरिएको थियो। नेपालदेखि टाढा रहेतापनि परदेशमा दाजुभाइहरुको निमन्त्रणामा तीज मनाउन पाउँदा प्रफुल्लित देखिएका दिदिबहिनीहरुले एक-आपसमा दु:ख, सुख साट्दै, नाचगान गर्दै खुसी व्यक्त गरिरहेका थिए। कार्यक्रममा बालबालिकाका लागि मनोरन्जनात्मक क्रियाकलाप समेत राखिएको थियो।
लेखनाथ अर्याल, विशाल कुँवर, अमृत कँडेल, भेष बराल, भिम लामा, सुमन थापा लगायत दाजुभाइद्वारा आयोजित कार्यक्रममा बालबालिका सहित करिब एक सय जनाको सहभागिता रहेको थियो। सहभागीहरुले कार्यक्रमले सम्बन्ध विस्तार, संस्कृतिको सम्बर्द्धन र सामुदायिक एकताको अवसर सिर्जना गरेको उल्लेख गर्दै आयोजक दाजुभाइप्रति आभार व्यक्त गरेका थिए।
आयोजक दाजुभाइ समूहले नेपालको मौलिक संस्कृतिको सम्बर्द्धन तथा प्रबर्द्धन तथा नयाँ पुस्तालाई नेपाली रितिरिवाज सिकाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताएको छ। उद्देश्य अनुरुप कार्यक्रम सफल भएकोमा खुसी व्यक्ति गर्दै उनीहरुले आगामी दिनमा अझ बृहत, व्यवस्थित र नयाँ अवधारणा सहितका कार्यक्रम आयोजना गर्न हौसला मिलेको बताएका छन्।