मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियाको नेपाली समुदायमा यतिबेला क्रिकेट पर्व चलिरहेको छ। गत १६ जनवरीदेखि सुरु १७औं ग्रेस क्रिकेट न्याभ टुर्नामेन्टले समुदायमा क्रिकेटको रौनक छाएको हो।
भिक्टोरियामा बसोवास गर्ने नेपालीहरुको पूरानो संस्था नेपलीज एसोसिएसन अफ भिक्टोरिया (न्याभ) ले आफ्नो वार्षिकोत्सवको अवसरमा न्याभ क्रिकेट टुर्नामेन्टको आयोजना गर्दै आएको छ। यो वर्ष रजत जयन्ती मनाउंदै गरेको न्याभले आयोजना गरेको टुर्नामेन्टको यो १७औं सिजन हो, जसमा ग्रेस इन्टरनेशनल कन्सल्टेन्सीले मूख्य प्रायोजन गरेको छ। १७औं ग्रेस न्याभ क्रिकेट टुर्नामेन्टमा दश टिम सहभागी छन्।
न्याभले रजत जयन्ति मनाउँदै गरेका कारण यसपटकको टुर्नामेन्ट अझ बढी उल्लासपूर्ण भएको छ। त्यसमा पनि च्यारिटी म्याच यस टुर्नामेन्टको आकर्षण बनेको छ। न्याभ टुर्नामेन्ट संयोजन समितिले नेपाली बहुसांस्कृतिक केन्द्र (एएनएमसी) निर्माण सहयोगार्थ टुर्नामेन्टकै बीचमा च्यारिटी म्याचको आयोजना गरेको हो। भिक्टोरियामा नेपाली समुदायको आफ्नै बहुसांस्कृतिक केन्द्र निर्माणका लागि प्रक्रिया चलिरहेको छ, जसमा पशुपति र स्वयम्भु सहितको भवन निर्माणको योजना रहेको छ।
च्यारिटी म्याचमा ६ टिम सहभागी भएका छन्। टि-टेन अन्तर्गत रहेको मैत्रीपूर्ण खेलमा सामुदायिक तथा व्यवसायिक अगुवाहरुको इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम, आयोजक संस्था न्याभको न्याभ क्रिकेट टिम, रियलस्टेट व्यवसायीहरुको कम्युनिटी रियलस्टेट पायोनियर्स क्रिकेट टिम, शैक्षिक क्षेत्रका व्यक्तित्वहरुको कम्युनिटी एजुकेशनल एण्ड एडमिनिस्ट्रेटिभ स्टार्स, एनआरएनए भिक्टोरियाको एनआरएनए भिक्टोरिया लायन्स र उद्धमीहरुको कम्युनिटी नोबेल अन्टरप्रेनयर्स सहभागी छन्।
सामुदायिक सहयोगका लागि बृहत् च्यारिटी म्याच गरिएको यो पहिलो पटक हो। न्याभ क्रिकेट टुर्नामेन्ट संयोजक तथा न्याभ उपाध्यक्ष प्रेम राज उप्रेतीले नेपाली पहिचान बोक्ने सामुदायिक केन्द्र निर्माणका लागि यसरी बृहत् च्यारिटी म्याच आयोजना गर्न पाउँदा गर्व लागेको बताउनुभयो। सलारेखासंगको कुरकानीमा उहाँले यो च्यारिटी म्याच सफल बनाउनका लागि अहम् भूमिका खेल्ने सहभागीहरु, सामुदायिक अगुवा, प्रायोजक संस्था, स्वयंसेवक, संयोजक टिमका सदस्यहरु लगायत सम्पूर्णप्रति आभार व्यक्त गर्नुभयो।
च्यारिटी म्याचका सुरुवाती खेल गत आइतबार सम्पन्न भएका छन्। जसमा समूह 'ए' र 'बी' गरी ६ खेल भएका थिए। समूह एबाट रियलस्टेट र इनोभेटिभ तथा समूह बीबाट नोबेल उद्यमी र एनआरएनए सेमिफाइनलमा प्रवेश गरेका छन्। सेमिफाइनल र फाइनल खेल भोली आइतबार, अर्थात २७ फेब्रुअरी बिहान ९:३० मा सिएच सुलिभान मेमोरियल पार्कमा हुनेछन्।
गत आइतबार भएको समुह ए अन्तर्गत पहिलो खेल इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम र कम्युनिटी रियल स्टेट पायनियर्स क्रिकेट टिम बिच खेल भएको थियो। उक्त खेलमा ७२ रनको लक्ष्य पछ्याएको रियल स्टेटले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो। रियल स्टेटका लागि विमल केसी र दीपेन्द्रले क्रमश: २७ र १७ रन बनाए भने केशव खत्रीले अविजित १२ रन बनाउन सफल रहे। रियलस्टेटका लागि भुसन र तिलकले ४४ र १२ रन बनाए । हिमराज सुदीप र तिलकले एक–एक विकेट लिएका थिए।
दोश्रो खेल न्याभ क्रिकेट टिम र कम्युनिटी रियल स्टेट पायनियर्स क्रिकेट टिम बिच भएको थियो। ८३ रनको लक्ष्यमा कम्युनिटी रियल स्टेट पायनियर्स क्रिकेट टिम विजयी बन्यो । उक्त खेलमा रियलस्टेटका लागि बिमिलेशले ४१ रन बनाए भने सीतलले २ विकेट लिएका थिए।रियलस्टेटका लागि सुदीपले अविजित ५४ रन बनाए ।
समूह ए कै अर्को खेल न्याभ क्रिकेट टिम र इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिम बिच भएको थियो। इनोभेटिभले ८६ रनको लक्ष्यलाई १९। ४ ओभरमा नै पूरा गर्यो, जसमा विमल केसीको अविजित ७० रनको योगदान रह्यो। यता न्याभका लागि प्रेम राज उप्रेतीले अविजित ६५ रन बनाएका थिए।
समूह बिको पहिले खेल एनआरएनए भिक्टोरीया लायन्स र कम्युनिटी एजुकेशनल एण्ड एडमिनीस्ट्रेटीभ स्टार्स क्रिकेट टीम बिच भएको थियो। ६ ओभरमा ५७ रनको लक्ष्य पूरा गरेको एनआरएनएका लागि प्रकाशले अविजित २२ रन बनाएका थिए।
दोस्रो खेल एनआरएनए र कम्युनिटी नोबेल अन्टरप्रेनयर्सबीच भएको थियो। एनआरएनले दिएको ६२ रनको लक्ष्य पछ्याएको कम्युनिटी नोबेल अन्टरप्रेनयर्सका लागि शंकर, सन्जय र रोशनले क्रमशः १२, १६ र २९ रन जोडेका थिए। यता एनआरएनएका लागि प्रकाश र असिमले १/१ विकेट लिन सफल भए।
समूह बीको अन्तिम खेल कम्युनिटी नोबेल अन्टरप्रेनयर्स र कम्युनिटी एजुकेशनल एण्ड एडमिनीस्ट्रेटीभ स्टार्स बीच भएको थियो। जसमा कम्युनिटी एजुकेशनल एण्ड एडमिनीस्ट्रेटीभ स्टार्सले १० ओभरमा ८१ रन मात्र बनाउन सक्यो र जित नोबेल अन्टरप्रेनयर्स पक्षमा गयो।
इनोभेटिभ कम्युनिटी एण्ड बिजनेस लिडर क्रिकेट टिमको कप्तान डेस्टिनि लिभिङ्ग होम्सका सीईओ केशव खत्री हुनुहुन्छ। टिमको व्यवस्थापनमा पण्डित नारायण प्रसाद ज्ञवाली र नेपाली बहुसांस्कृतिक केन्द्रका अध्यक्ष राजेश आचार्य रहनुभएको छ।
त्यसैगरी, आयोजक संस्था न्याभको न्याभ क्रिकेट टिमको कप्तान प्रेम राज उप्रेती हुनुहुन्छ। उप्रेती न्याभको उपाध्यक्ष तथा टुर्नामेन्ट संयोजक समेत हुनुहुन्छ। टिमको कोचमा न्याभका सल्लाहकार नारायण काफ्ले हुनुहुन्छ भने व्यवस्थापकमा न्याभका अध्यक्ष राम गुरुङ रहनुभएको छ।
अर्को टिम रियलस्टेट पायोनियर्स क्रिकेट टिममा ब्लुबेरीका बिनित राज शर्मा कप्तान हुनुहुन्छ भने ब्लुबेरीकै कर्ण राना कोच तथा धिरेन्द्र कुँवर व्यवस्थापकको रुपमा हुनुहुन्छ।
त्यस्तै, कम्युनिटी एजुकेशनल एण्ड एडमिनिस्ट्रेटिभ स्टार्स टिममा ग्रेस इन्टरनेशनलका दीपक आचार्य कप्तान रहनुभएको छ। टिमको कोचमा फेन्काका भिक्टोरिया संयोजक भोला गिरि हुनुहुन्छ भने व्यवस्थापनतर्फ कटिङ्ग किङ्ग्स हेयर ड्रेसर सलुनका संजीव कुमार रहनुभएको छ।
एनआरएनए भिक्टोरियाको एनआरएनए भिक्टोरिया लायन्सको कप्तानी एनआरएनए भिक्टोरियाका संयोजक हरि खड्काले गर्ने हुनुभएको छ। यो टिमको कोचमा एनआरएनए अष्ट्रेलियाका भूतपूर्व अध्यक्ष टोनु घोथाने तथा सहायक कोचमा एनआरएनए भिक्टोरियाका उप-संयोजक नारायण कटुवाल रहनुभएको छ। एनआरएनए अष्ट्रेलियाका पूर्व अध्यक्ष केशव कंडेलले टिमको व्यवस्थापन सम्हाल्नुभएको छ।
त्यसैगरी, उद्धमीहरुको कम्युनिटी नोबेल अन्टरप्रेनयर्स टिमको कप्तानमा हंग्री आई एशियन फ्युजन एण्ड बारका शंकर थापा रहनुभएको छ। टिमको कोचमा हिमालयन नेपलीज एण्ड इन्डियन रेष्टुरेन्टका लाल प्रसाद कंडेल हुनुहुन्छ भने टिमको व्यवस्थापकमा एपीबी पार्टनर्स फाइनान्स एण्ड बिजनेस एड्भाइजर्सका अर्जुन ढकाल हुनुहुन्छ।