काठमाडौं । केही महिनायता अस्ट्रेलियामा नेपाली विद्यार्थीको भिसा आवेदन स्वीकृत हुने दर निरन्तर घटिरहेको छ ।
गत जुन महिनामा भेट कोर्समा सबैभन्दा कम अर्थात् २२ प्रतिशत नेपाली विद्यार्थीको मात्रै भिसा लागेको छ । जुलाई महिनाको विवरण अस्ट्रेलियन सरकारले वेबसाइटमा सार्वजनिक गरिसकेको छैन । तर अस्ट्रेलियाले अध्ययनका लागि अहिले कागजातमा निकै कडाइ गरेको सम्बद्ध अधिकारीहरु बताउछन् ।
कतिपय नेपाली विद्यार्थीको स्तरलाई लिएर आलोचना भएपछि अस्ट्रेलियन सरकारले कागजातमा कडाइ गरेको हो । यसैकारण गत जुनयता भिसा रिजेक्सन बढेको छ । अहिले युनिभर्सिटीमा अध्ययन गर्न जानेको हकमा धेरैको भिसा लागे पनि भेट कोर्समा एकदमै न्यून मात्र भिसा लागेको छ । भिसा सफलता दर कम भएपछि आवेदन दिने नेपाली विद्यार्थीको संख्या समेत घटेको छ ।
अस्ट्रेलियामा विद्यार्थीको भिसा लाग्ने दर कम भएपछि शिक्षा मन्त्रालयबाट एनओसी लिनेको संख्यासमेत घटेको छ । तर, अन्यत्रको तुलनामा अस्ट्रेलिया अध्ययनकै लागि एनओसी लिनेको संख्या भने धेरै छ । शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत साउनमा सबैभन्दा बढी झन्डै चार हजारले अस्ट्रेलिया अध्ययनका लागि एनओसी लगेका छन् ।
राष्ट्रिय शैक्षिक परामर्श संघ (नेका) का अध्यक्ष सन्तोष प्याकुरेलका अनुसार धेरै कुराहरुलाई नजरअन्दाज गर्दा अस्ट्रेलियामा नेपाली विद्यार्थीको भिसा स्वीकृत दर घटेको बताउनुहुन्छ । अध्ययनका लागि अस्ट्रेलिया जाने योजनामा रहेका विद्यार्थीहरुले धेरै कुरामा मनन गर्नुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष प्याकुरेलको सुझाव र टिप्स यस प्रकार छन् :
१ विश्वसनीय अंग्रेजी प्रवीणता परीक्षाको तयारी गर्ने र अब्बल अंक ल्याउने ।
२ अंग्रेजी तयारी गर्दादेखि नै वित्तीय कागजातको तयारीमा पनि अभिभावकलाई संलग्न गराउने ।
३ जागिरे अभिभावकले आफ्नो तलब खातामा आउने प्रमाणको रूपमा १२ महिनाको तलबको विवरण, १२ महिनाकै स्यालरी स्लिप, जागिर खाएको प्रमाणित कागजात, प्यान, कर तिरेको तीन वर्षको प्रमाणको कागजात संकलन गर्ने ।
४ व्यावसायिक आम्दानीका आधारमा आफ्ना छोराछोरीलाई विदेश अध्ययनमा पठाउन चाहने अभिभावकले व्यवसायको प्यान, कम्पनी दर्ताको कागजातमा नाम खुलेको कागजात, तीन वर्षसम्म कर तिरेको रसिद, एक वर्षसम्मको व्यावसायिक खाताको कारोबारको प्रमाण तयार गरी भिसा कागजातमा संलग्न गर्ने ।
५ घरजग्गा बेचेर पढाउन पठाउने अभिभावकले लालपुर्जा, बेच्ने र किन्नेको विस्तृत विवरण, खाताबाट किनबेचमार्फत कारोबार गरिएको अद्यावधिक बैंक ट्रान्जेक्सन, मालपोत कार्यालयबाट मोठ श्रेस्ता प्रमाणित कागजातको विवरण सुरक्षित राख्ने ।
६ शैक्षिक कर्जाबाट पढ्न चाहने विद्यार्थीले धितोको स्पष्टता उल्लेख गरिएको तीन वर्षसम्म मालपोत तिरेको कागजलाई सुरक्षित रूपमा भिसा आवेदनका लागि संकलन गर्ने ।
७ आफू पढ्न जाने कोर्स, पहिला पढेको कोर्सअनुरूपको विषयसँग सम्बन्धित भएको हुनुपर्ने वा कार्य अनुभवको आधारमा छनोट गरिएको हुनुपर्ने ।
८ कलेज वा विश्वविद्यालय वा सहर छनोट क्षणिक उद्देश्यले प्रभावित नभई दीर्घकालीन उद्देश्य प्राप्तिका निम्ति हुनुपर्ने ।
९ अस्ट्रेलिया अध्ययनको स्पष्ट उद्देश्य र पढेर फर्कने प्रशस्त आधार तयार गरी स्टेटमेन्ट वा उद्देश्य लेख्न ध्यान दिने ।
१० विश्वसनीय परामर्श र शैक्षिक परामर्शदाताको सहयोग लिने ।