होबार्ट। विश्वभर छरिएर रहेका नेपाली मूलका कवि, लेखक, कलाकार, शिक्षक तथा स्वयंसेवीहरूलाई एकताबद्ध गर्दै अगाडी बढिरहेको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अब अष्ट्रेलियाको तास्मानियामा पनि सक्रिय हुनेभएको छ। अगस्ट २० शनिबारका दिन तास्मानिया च्याप्टरको उद्घाटन हुनेभएको हो। आयोजकका अनुसार, उक्त दिन दिउँसो १ बजेदेखि ३ बजे सम्म होबार्ट स्थित मल्टिकल्चरल सेन्टरमा "अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज - तास्मनिया च्याप्टर " को समुद्घाटन कार्यक्रम हुनेछ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) राजनीति निरपेक्ष, धर्मनिरपेक्ष, लाभनिरपेक्ष, साहित्यिक तथा शैक्षिक संस्था हो । यस संस्थाले विशेषगरी नेपाली डायस्पोराका साहित्यिक मनहरुलाई जोड्दै नेपाली साहित्य र संस्कृतिको प्रबर्द्धन गरिरहेको छ। संयुक्त राज्य अमेरिकामा दर्ता भएको यस संस्थाका च्याप्टरहरू पछिल्लो समय विश्वका विभिन्न देशहरूमा संचालित छन् । अनेसासले नेपाली कला तथा साहित्यिक क्षेत्रमा सकारात्मक तरंग ल्याएको छ।
युवाहरुलाई नेपाली साहित्यमा उत्प्रेरणा दिइरहेको अनेसासको तास्मानियामा च्याप्टर उद्घाटन समारोहमा उपन्यासकार सुबिन खरेलको पहिलो पहिलो उपन्यास "फेरिएको माया" को विमोचन पनि हुनेछ ।
किशोरावस्थामा हुने प्रेम र त्यसले जीवनमा ल्याउने प्रभावका सम्बन्धमा लेखिएको उपन्यासले नयाँ पुस्ताको मनोभाव र स्थितिलाई चित्रण गरेको लेखक खरेल बताउँछन् । उपन्यासमा वर्तमान समयको परिवेश, प्रेम, गरिबी, राजनीति, भ्रष्टाचार, वैदेशिक रोजगारीजस्ता विषयलाई सरल र सहज भाषामा प्रस्तुत गरिएको छ ।